
२ फागुन, काठमाडौं । नेकपा एमाले संसदीय दलले हस्ताक्षर संकलन गर्दा पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
कुनै विषय उल्लेख नगरी खाली कागजमा हस्ताक्षर गराइएको भन्दै भीम रावल, घनश्याम भूसालसहित पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।
नेकपा एमाले संसदीय दलले सोमबार सांसदहरुलाई विभिन्न ६ वटा पत्रमा हस्ताक्षर गराएको थियो । तीमध्ये एउटा हस्ताक्षर संकलन बैठकको उपस्थितिको लागि थियो भने बाँकी ५ वटामा विषय खुलाइएको थिएन । सांसदहरू रावल, भूसालसहित दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल र झपट रावलले खाली कागजमा हस्ताक्षर नगर्ने भन्दै अस्वीकार गरेका हुन् ।
उपस्थितिमा हस्ताक्षर गरेको तर बाँकी पाँचवटा खाली पत्रमा हस्ताक्षर नगरेको सांसद झपट रावलले बताए । भीम रावलले बैठकमा उपस्थितिको माइन्युटमा हस्ताक्षर गर्दै छेउमा ‘बैठक प्रयोजनका लागि’ भनेर लेखेका छन् ।
सोमबार बसेको एमाले संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवादमा के गर्ने भन्ने निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सांसदहरूको हस्ताक्षर संकलन गरेको र शीर्ष नेतृत्वको निर्णयपछि अघि बढ्ने बताएका छन् । जबराविरुद्धको महाअभियोगको विरोधमा एमालेले काउन्टर महाअभियोग ल्याउने तयारी रहेको सांसद कृष्णभक्त पोखरेलले अनलाइनखबरलाई बताएका थिए ।
प्रतिक्रिया 4