३ फागुन, काठमाडौं । रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेससम्बद्ध ललितपुरका एक नेता पनि छन् ।
प्रहरी स्रोतका अनुसार कांग्रेसबाट ललितपुर क्षेत्र नं. ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत पक्राउ परेका हुन् । प्रहरीको विशेष ब्यूरो र काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको संयुक्त अपरेशनमा उनीसहितका व्यक्तिहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्ने अन्यमा भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुरलगायत छन् । घटनामा अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
परीक्षणका लागि पठाइयो
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार धातुको पहिलो नमूना परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पठाउँदा नतिजा नेगेटिभ आएको थियो । हाल बरामद गरिएको धातुको परीक्षण रिपोर्ट आइसकेको छैन ।
यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गत वर्ष फागुन अन्तिम साता साढे २ किलो युरेनियम बरामद गरेको थियो ।
प्रतिक्रिया 4