+
+

एमालेले आज पनि संसदमा विरोध जारी राख्ने, कार्यव्यवस्था बैठकमा नजाने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १०:१६
फाइल तस्वीर

४ फागुन, काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ ।

आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको कार्यव्यवस्थाको बैठकमा सहभागी नहुने बताए ।

भट्टराईले अनलाइनखबरसँग भने, ‘हामीले उठाउँदै आएको विषय सभामुखले सम्बोधन नगरेका कारण कार्यव्यवस्थामा उपस्थित हुनु र नहुनुको अर्थ छैन । यसअघि पटकपटक गएर ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएकाले आज जाँदैनौं ।’

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले उनको राजीनामा माग्दै आएको छ । एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘संसदीय कामकारबाहीमा हामीले जुन प्रश्न उठाइरहेका छौं, त्यसको सम्बोधन सरकार र सभामुखबाट भएको छैन । त्यसैले आज पनि वेल घेराउको कार्यक्रम यथावत रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?