+
+

राजस्व कार्यालय प्रमुख खनालमाथि कार्यकक्षमै हातपात

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १८:२०

४ फागुन, विराटनगर । राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालले आफूमाथि कार्यकक्षमै हातपात भएको बताएका छन् । तस्करीको कमिसनको डिल गर्न भन्दै पुगेका सन्तोष यादवले सशस्त्र प्रहरीकै अगाडि आफूलाई हातपात गरेको राजस्व कार्यालय प्रमुख खनालले बताएका छन् ।

‘हिजो बिहान सशस्त्र प्रहरीका सहायक हवल्दारसहित एक व्यक्ति मेरो कार्यकक्षमा आए,’ खनालले भने,‘सीमामा सामाग्री ओसारपसार गर्दा रहेछन्, मसँग कमिसनका लागि लाइन मिलाउन आएको बताएपछि बाहिर निकालेँ, कार्यकक्षबाट निकाल्दा हातपात गरे ।’

हातपातबाट उनको हातको औंलामा चोट लागेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको मिलेमतोमा तस्करी भएको गुनासो आएको र सामान जफत भएपछि सशस्त्रका डीआईजी कमल गिरीले राखेका घुमुवा प्रहरीले ‘लाइन मिलाउन’ यादवलाई पठाएको खनालले आरोप लगाएका छन् ।

खनालका अनुसार सन्तोष यादव सशस्त्र प्रहरी सहायक हवल्दार थमबहादुर गिरीसँगै राजस्व अनुसन्धान कार्यालय आएका थिए ।

‘नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छ, तर मिलेमतोमा तस्करी भएको गुनासो आएपछि म आफैं खटिएको छु,’ राजस्व अनुसन्धान कार्यालय खनालले भने,‘प्रहरीले छाडेका सामान जफत भएपछि डीआईजीले खटाएका घुमुवा लाइन मिलाउन भन्दै तस्कर लिएर कार्यकक्षमा आए ।’

सीमा क्षेत्रमा निगरानी बढाएपछि क्यारिङमार्फत् तस्करी गर्नेले सशस्त्र प्रहरीकै आडमा आफूमाथि जाइलागेको खनालको आरोप छ । ‘म बरु भोकै बस्छु, घुस खान्न,’ खनालले भने,‘कार्यकक्षबाट निकाल्दा ममाथि हातपात गरे ।’

सुनसरीको घुक्सी, श्रीपुर, लौकही, साहेबगञ्ज, अमडुवा, कप्तानगञ्जलगायत नाकाबाट खुलेआम तस्करी भइरहेको उनले बताए ।

यता सशस्त्र प्रहरीका डीआईजी कमल गिरीले कार्यालय प्रमुखबाट अरूलाई दुर्व्यवहार भएको बताए । ‘प्रहरीको घेराभित्र हातपात हुँदैन, हातपात उहाँ (कार्यालय प्रमुख खनाल) बाट भएको छ’ डीआईजी गिरीले भने ।

राजस्व अनुसन्धान कार्यालय इटहरीको प्रमुखको रुपमा खनाल गत कात्तिक १५ गते हाजिर भएका थिए । खनालले आफ्नो सरुवा गर्नका लागि भन्दै संघीय सरकारमा धेरैले दबाब दिएको सुनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?