४ फागुन, विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य र साढे ३३ किलो सुन तस्करी प्रकरणका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका– ३ घर भएका ३९ वर्षीय सन्दीप खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
खड्कामाथि दुबईमा बसेर चुणामणि उप्रेती गोरेलाई सुन पठाउने गरेको आरोप छ । मंगलबार काठमाडौंमा पक्राउ परेका खड्कालाई बुधबार अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।
खड्काको बयान र थुनछेक बहस बिहीबार मात्रै हुनेछ । जिल्ला अदालत मोरङले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको असोज १९ गते फैसला गरेको थियो । सुन तस्करी र शाक्य हत्या प्रकरणमा जोडिएका उच्च प्रहरी अधिकारीसहितका ५६ अभियुक्तलाई सुन तस्करी मुद्दामा सफाई दिएको थियो ।
आठ जनालाई समन शाक्य हत्या प्रकरणमा दोषी ठहर गरेको थियो । न्यायाधीश भरत लम्सालको इजलासले कर्तव्य ज्यान मुद्दामा आठ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको थियो । प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।
२०७४ साल माघ ९ गते तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गायब बनाएको आरोपमा गोरेसहितको समूहले २०७४ साल फागुन १८ गते सनमको हत्या गरेको थियो ।
२०७५ वैशाख १९ गते अदालतमा सरकारी वकिल कार्यालय मोरङले ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरीपैठारी र चोरीनिकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम सुन अवैध रूपमा आयात गरिएको दाबी गरिएको थियो ।
प्रतिक्रिया 4