+
+

सडक किनारमा थुप्रिन थाल्यो फोहोर

चुनावमा उठ्छु भन्दैछन्, फोहोर उठाउने घोषणा गर्नु नि !

अमृत चिमरिया अमृत चिमरिया
२०७८ फागुन ५ गते १९:४०

४ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनसँगै रहेको बस बिसौनीमा चाबहिल जाने गाडी कुरिरहँदा रमा विष्टलाई फोहोर थुप्रोले सकसमा पार्‍यो ।

फोहोरको डंगुरअघि सास फेर्न मुस्किल भएपछि उनी केही पर पुगेर उभिइन् । ‘हामीले बोलेर फोहोर उठ्ने भए पो !’ धनगढीबाट काठमाडौं आएर पढिरहेकी उनले नैराश्य प्रकट गर्दै भनिन्, ‘जताततै उस्तै त छ ।’

काठमाडौंको फोहोर फालिँदै आएको ठाउँ सिसडोलमा पाँच दिनदेखि फोहोर फाल्न रोकिएको छ । सडक बन्न ढिलाई भएको भन्दै स्थानीय आन्दोलित भएपछि फोहोर व्यवस्थापन रोकिएको हो । सबैजसो चोक, सडक र गल्लीमा थुप्रिएको फोहोर र त्यसबाट बगेको लिचेडले दुर्गन्ध फैलाउन थालेको छ ।

यसले सडकमा हिँडडुल गर्ने मात्र होइन, व्यवसायीलाई पनि सताउन थालेको छ । काठमाडौंको पुरानो बानेश्वरमा फलफूल र किराना सामानको पसल सञ्चालन गर्दै आएका श्याम आचार्य फोहोरको डंगुरका कारण ग्राहकको संख्या घटेको गुनासो गर्छन् ।

टोलभरिको फोहोर पसल अगाडि थुपारिएको उनलाई चित्त बुझेको छैन । त्यसमाथि फोहोर व्यवस्थापन हुन छाडेपछि आक्रोशित उनी भन्छन्, ‘फोहोर गन्हाएपछि ग्राहक आउनु त परको कुरा, उभिन पनि खोज्दैनन् ।’

चाबहिल मित्रपार्कमा चश्मा पसल सञ्चालन गरिरहेका शेखर पनेरुको गुनासो पनि उस्तै छ । ‘महानगरले फोहोर उठाउने जिम्मा जसलाई दिएको छ, उसले राम्रोसँग उठाउँदैन । टोल नै गन्हाउने बेलासम्म महानगरले वास्ता गरेको छैन,’ उनी भन्छन्, ‘किन फोहोर नउठेको केही थाहा छैन, हामीलाई भने बसिनसक्नु भइसक्यो ।’

पुतलीसडकस्थित स्टार मलसँगै चटपटे बेचेर जीवन गुजारिरहेकी शोभा रिजाल कोठामा फोहोर थुप्रिएर राख्ने ठाउँको समस्या भएको बताउँछिन् । ‘फोहोर बाटोमा फाल्न मन लाग्दैन,’ ठेलाको मुनि जम्मा भएको कागज देखाउँदै उनले भनिन् ‘फोहोर लिन मान्छे नआएको एक हप्ता भयो, कोठा नै गन्हाइसक्यो ।’

फोहोर नउठाउँदा धेरै पटक समस्या भोगेको भन्दै उनले महानगरपालिकाले हेलचेक्रयाइँ गर्दा अर्को महामारी फैलिने चिन्ता प्रकट गरिन् । गर्मी लाग्नै लाग्दा घर, पसल, गल्ली, सडक जताततै फोहोर थप्रिँदा स्वास्थ्य झन् बिग्रिने रिजालको भनाइ छ । ‘नेताहरुले चुनावमा उठ्छु भनेर घोषणा गर्न थालिसके, कसैले फोहोर उठाउने घोषणा गरेर काम गरे हुने नि !’ उनले ब्यंग्य कसिन् ।

व्यवसायी सुदर्शन बजगाईं चाहिँ सडकमा फोहोर थुपार्ने मानिसको बानीप्रति असन्तुष्टि पोख्छन् । उनी भन्छन्, ‘आफैं फोहोर सडकमा फाल्छन्, अनि दुर्गन्धमा बस्छन् ।’

सडकमा कायम छ अवरोध

सडकमा फोहोरको डंगुर लाग्न थाल्दा पनि काठमाडौं महानगरपालिकाले कहिलेदेखि व्यवस्थापन हुन्छ भन्न सकेको छैन । पासाङ ल्हामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरवाही भएको भन्दै सिसडोल क्षेत्रका वासिन्दाले आइतबारदेखि सडक अवरुद्ध गरेको महानगरको वातावरण विभाग निमित्त प्रमुख सरिता राईले बताइन् ।

यो सडक सैलुङ कन्स्ट्रक्सनले बनाइरहेको छ । शारदाप्रसाद अधिकारी स्वामित्वको यो कम्पनीले ठेक्का लिएका धेरै सडक अलपत्र छ । मुड्खु–तीन पिप्ले सडक खण्डमा सैलुङले काम नगरेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेपछि फोहोर बोकेका कतिपय गाडीहरु बाटोमै अलपत्र परेका छन् । त्यसपछि थप गाडी पनि जान सकेका छैनन् ।

‘यो सडकमा संघीय सरकारले ठेक्का लगाएको हो, त्यसैले यसको समाधान संघीय सरकारबाटै हुुनसक्छ,’ राईले भनिन्, ‘सडक विभाग र सम्बन्धित ठेकदार कम्पनीले निर्माणमा भएको ढिलासुस्ती हटाउने गरी काम भए जनताले बाटो छेक्दैनन् ।’

सडक अवरोध खुलाउन काठमाडौं महानगरको तर्फबाट पहल गरिरहेको भन्दै उनले अहिलेको अवस्था आफूहरुको नियन्त्रणभित्र नरहेको बताइन् । ‘फोहोर कहिले उठ्छ भन्ने संघीय सरकारले चाल्ने कदममा निर्भर हुन्छ,’ उनले भनिन् ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?