+
+
सत्तारुढ चार दलको बैठक :

एमसीसीबारे सहमति जुटेन, दलहरु आ-आफ्नै अडानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १९:५०
बिहीबार बसेको सत्तारुढ गठबन्धनको बैठक ।

४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमा सत्तारुढ चार दलबीच बिहीबार पनि सहमति जुट्न सकेन ।

बिहीबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार संसदमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । बैठकको सुरुमै उनले भनेका थिए, ‘अस्ति तपाईहरुले टेबल गर्न दिन्छु भन्नुभएकै हो, अब टेबल गर्न दिनुस् ।’

एमसीसी अनुमोदनका लागि प्रस्तुत हुादा पक्षमा मत दिने कि विपक्षमा भन्ने दलहरुको आफ्नो रोजाई भएको देउवाको भनाइ थियो ।

संसद खुलाउनुपर्ने शर्त

नेकपा माओवादी केन्द्रका नेताहरूले एमसीसी अघि बढाएर सरकार छाड्ने र विपक्षमा मत दिने संसदीय दलको निर्णय भएको बताएका छन् । साथै समसीसी संसद अवरोध कायमै रहेको बेला एमसीसी टेबल हुन नसक्ने बताए । अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अहिलेसम्म ऋण तथा अनुदान सम्झौता संसदमा नलगेको भन्दै एमसीसीबारे पनि छलफल गर्नुपर्ने बताएका छन् ।

उनीहरुले एमसीसी संसदमा टेबल गर्नुअघि एमालेसँग सम्वाद गरेर अवरोध हटाउने वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी टेबल गर्न सहमति दिएको त स्वीकार गरे । तर संसदको अवरोध कायम रहेका बेला छलफल हुन नसक्ने बताए । साथै एमसीसीबारे छलफल गर्नकै लागि पार्टीले ७ गते स्थायी कमिटीको बैठक बोलाएको उनले जानकारी दिए ।

जसपा विभाजित

बैठकमा जनता समाजवादी पार्टीका नेताहरू भने विभाजित देखिए । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टरार्इले एमसीसी टेबल गरेर अनुमोदन गर्नुपर्ने बताएका छन् । तर नेता राजेन्द्र श्रेष्ठ विपक्षमा उभिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव भने उपत्यका बाहिर भएका कारण चार दलको बैठकमा सहभागी भएका थिएनन् ।

संकल्प प्रस्तावको विकल्प

बैठकमा कांग्रेस महामन्त्री थापाले संसदबाट एक संकल्प प्रस्ताव पास गरेर एमसीसी अनुमोदन गर्ने प्रस्ताव राखेका थिए ।

एमसीसी सम्झौतामा उठेका प्रश्नहरुलाई लिएर सरकारले एमसीसीलाई सोधेको प्रश्न र एमसीसीको स्पष्टीकरण संसदमा संकल्प प्रस्तावको रुपमा लैजाने भन्दै उनले भने, ‘यसलाई नै अन्तिम मान्ने र काम गर्ने क्रममा त्यो भन्दा फरक पाए नेपाल सरकारले एकपक्षीय रुपमा खारेज गर्ने संकल्प गरौं ।’

तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘धेरै अगाडि बढिसक्यो’ भन्दै त्यसलाई अस्वीकार गरेका बैठकमा सहभागी एक नेताले सुनाए ।

झण्डै ३ घण्टा छलफल गर्दा पनि कुनै सहमति जुट्न सकेन । नेताहरूका अनुसार प्रधानमन्त्री भोल शुक्रबार नै एमसीसी टेबल गर्ने अडानमा थिए । तर उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण प्रसाद सिटौला लगायतले हतारमा निर्णय नगरौं, भोलि विहान शीर्ष नेताहरु मात्र बसौं भनेपछि सहमत भएका छन् । भोलि शुक्रबार विहान शीर्ष नेताहरुको बैठक बस्नेछ ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘एमसीसीलाई पूर्ववर्ती सरकाले टेबल गरेको हो । सरकार अविछिन्न उत्तराधिकार हो । फेब्रुअरी २८ (फागुन १६) सम्म यसलाई हामीले निष्कर्षमा पुर्‍याउनुपर्ने हुनाले (प्रधानमन्त्रीले) टेबल गर्न प्रस्ताव गर्नुभएको छ । यही प्रस्तावको वरिपरि बसेर धेरै छलफल भएको छ । निष्कर्षमा पुगेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?