६ फागुन, काठमाडौं। टी-२० विश्वकप ग्लोवल क्वालिफायरमा नेपालकै समूहमा रहेको क्यानडाले फिलिपिन्समाथि १ सय १८ रनको जितसहित विजयी सुरुवात गरेको छ ।
ओमानस्थित अल अमेरात रंगशालाको दोस्रो मैदानमा २ सय १७ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित ओभरमा ९८ रनमात्र जोड्न सक्यो ।
कमजोर फिलिपिन्समाथि क्यानडाका बलरहरु हाबी थिए । क्यानडाका कलिम साना र साद बिन जफरले २–२ विकेट लिए । फिलिपिन्सका ड्यानिएल स्मिथले सर्वाधिक ३५ तथा कपिल कुमारले २५ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङ गरेको क्यानडाले अस्ट्रेलियन मूलका ओपनर म्याथ्यु स्पर्सको शतकीय योगदानमा १ विकेट गुमाएर २ सय १७ रनको योगफल खडा गरेको थियो ।
अविजित रहेका स्पर्सले ६६ बलमा १४ चौका र ३ छक्का प्रहार गरे । उनले रयान पठानसँग मिलेर पहिलो विकेटका लागि १ सय ४९ रनको साझेदारी गरेका थिए । पठानले ४४ बलमा ९ चौका र २ छक्कासहित ७३ रन जोडे । तेस्रो क्रममा आएका कप्तान नवनित ढल्लोनले ११ बलमा २६ रन बनाए ।
विश्वकप छनोटको समूह ए अन्तर्गत नेपाल, ओमान, क्यानडा र फिलिपिन्स एकै समूहमा छन् । नेपालले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । यो समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । शनिबार हुने खेलमा नेपालले फिलिपिन्स र क्यानडाले ओमानसँग खेल्दैछन् ।
प्रतिक्रिया 4