+
+

 सिउँदोको सिन्दूर

मनिष अर्याल 'प्रयत्न' मनिष अर्याल 'प्रयत्न'
२०७८ फागुन ७ गते १८:३३

सर जाने हो ? चिटिक्क लुगा लगाएर मुहार पूरै क्रिम पाउडरले पोतेकी एक बीस-बाइस वर्षे महिलाले बसपार्कको पुलै छेउ पुग्न लाग्दा गरेको त्यो प्रश्नले मेरो होस गुम्यो, तर धैर्यता गुमेन । मैले साथीभाइको गफमा मात्रै सुनेको थिएँ कि कसैले यसरी बोलाउँछ पनि भनेर, केटी भनेपछि निकै उत्सुक मलाई शायद त्यसदिन उसको प्रश्नको बीचमा र मेरो उत्तरको घेरामा डरले मात्र छोपेको थियो ।

जम्मा पाँच सय हो, रातभरि भए पाँच हजार । मैले जागिर सुरू गरेको भर्खर एक महिना मात्र भएको थियो र त्यही दिन त तलब बुझेको थिएँ । मलाई लाग्यो मसँग खल्तीमा अठ्ठाइस हजार छ भन्ने थाहा पाएरै उनले कतै यो जाल बुनेकी त हैनन् भनेर । मन आत्तियो के भनौं के भनौं भयो, नलजाइकन भन्नुपर्दा म त्यही दिनको पर्खाईमै थिएँ । जिन्दगीभरिको सबैभन्दा आनन्द नै यौवनको भन्ने कताकता सुनेको थिएँ । लौ त नि जाम भन्ने सोच आयो फेरि उनको हेराइले संसारै भुलायो । बुबाको मोटरसाइकल सुटुक्क लिएर घरबाट हिंडेको म त्यो क्षणमा झनै खुसी भए र भने जाने चाहिं कता हो ? यहीनिर मेरो कोठा छ आउनुस् न कोही भेटिएको आवास गर्दै उनले भनिन् ।

बाइकमै बसौं न हुन्न ? ईशारा गर्दै मैले भने, हुन्छ भनेर उनी बसेकी मात्र कहाँ थिइन् मेरो ज्यानले आफूलाई हावामा उडेको महसुस गर्‍यो । कहिल्यै कुनै परस्त्रीलाई नछोएको मैले त्यति नजिकबाट कोही सुन्दरीलाई देखेको त्यहीमाथि सँगै मोटरसाइकलमा हालेर लगेको त्यो पल मलाई नै थाहा छैन कि म के गरिरहेको थिएँ, किन म त्यस्तो उत्साहित थिए ? खल्तीमा त्यति धेरै पैसा र मस्तिष्कमा शारीरिक लोभ । शायद मेरो संयमताले सीमा नाघिसकेको थियो होला । यदाकदा त्यसरी महिलाहरूसँग होटलको कोठामा जादाँ प्रहरीले पक्राउ गर्छ भन्ने डर पनि मनमै थियो ।

फेरि अन्तरमनले सोच्यो छोरा मान्छे भनेको अनुभवको संगालो हुनपर्छ रे । केही न केही त अनुभव सही भन्ने नि मनमा लाग्यो र लागे उनले लैजाने ठाँउतिर । घरि दायाँ घरि बायाँभन्दा भन्दै उनकै कोठा भएको घरछेउ मोटरसाइकल रोक्नुस् न भन्ने ईशारा आयो । उनको ईशारा मिल्नासाथ मैले बाइक रोके । उनी हतारहतार झरिन् र आफ्नो पछिपछि आउन ईशारा गरिन् ।

मेरो मनको इच्छाले मलाई छिटो हिंड्न ईशारा गरिरहेको थियो तर खुट्टाले एक कदम चाल्न मानेको थिएन खुट्टा कति काँप्यो होला भन्ने मैले भेउ पाउन पनि सकिरहेको थिइनँ । जवानीको जोसमा होस गुमाउन हुन्न भन्ने भनाइलाई मैले नकारिरहेको थिए । त्यही पनि आफूलाई शारीरिक लोभमा ढालेर म अघि बढे । कोठाको ढोका खुल्नासाथ उनले मलाई छिटो छिटो भित्र छिर्नका लागि ईशारा गरिन् । म हतारहतार भित्र पसें र उनी पनि हतारहतार भित्र पसिन् । उनको कोठा दयनीय अवस्थाको थियो । कोठामा पहिलेदेखि पर्दा लगाइरहेको थियो । त्यही पनि एउटा सानो खाट र पुरानो खोलले बेरेको सिरक यस्तो लाग्यो कि यो कोठा शारीरिक क्रियाकलापको लागि मात्र बनाइएको रहेछ ।

उनले मलाई बस्न अनुरोध गरिन् र ढिला नगरीकन छिटो छिटो जे कामको लागि आएको त्यो समापन गर्न भनिन् । जति मेरो मन शारीरिक तृष्णामा व्यतित थियो, त्यो अवस्थालाई नियाल्ने बित्तिकै मेरो मानस्पटलबाट उत्सुकताको विषय परिवर्तन हुँदै गयो । अब मलाई जान्न मन लाग्यो आखिर उनी यो सब के का लागि गरिरहेकी छिन् । हेर्दा हिरोइन जस्ती, कोठाको भित्तामा राखेको उनको स्नातक पास गरेको गाउन लगाएको फोटो, दराजमा पर्दाले छोपेको र पछाडिबाट आइरहेको कोही व्यक्तिको आवाजले मलाई झन् उत्सुक बनायो ।

कतैबाट हिम्मत जुटेन कि के भनेर सोधौं एक मनले डर पनि लाग्यो कि अन्जान महिलाको कोठामा जहाँ अनेकथरी आवाज आइरहेको छ, लाग्छ दराज पछाडि कोही पुरुष कराइरहेको छ, निरन्तर आवाज आइरहेको छ, तर उनले त्यो स्पष्ट पार्दै भनिन्- पल्लो कोठाबाट हो, के सोचिरहनु भएको छ लिने हैन त जवानीको मज्जा ? मेरो मनको कुनै पनि कुनाले मलाई अब काउकुती लगाउन नसक्ने भयो । उनलाई भेट्दा अंगअंगले गीत गाएको मेरो अंग कतिखेर बेसुर भइसकेछन् मलाई पत्तै भएन । के हो तपाईं ? तपाई मात्र हैन मलाई अरूलाई नि भेट्नुछ छिटो उद्घाटन गरेर अन्त्य गर्नुस् र मेरो पैसा दिनुस् तपाई कता जाने जानुहोस् र म फेरि त्यही पुलमा जान्छु । त्यो हतासमा उनी बोलेको देखेर म मुख फोर्न बाध्य भए । उनको इन्कारलाई पहिल्यै मनन गरेर मैले एउटा प्रस्ताव राखे । पाँच सय मात्र हैन म एक हजार दिन्छु, मलाई केही चाहिंदैन तर तपाईको बारेमा जान्न मन लाग्यो ।

मेरो बारेमा किन जान्न मन लाग्यो ? केही मन लागोस् नलागोस् मलाई पाँच सय दिएर बाटो लाग यो आवेगमा उनको मुखले छुच्चो वचन निकाले पनि आँखामा भरिभराउ आँशु देख्दा मैले आफूलाई सम्हाल्न सकेको थिइन र भने- ‘बैनी मलाई दाइ सम्झ । मेरो आफ्नो दिदी बहिनी कोही पनि छैनन् । त्यसैले तिम्रो भावना बुझ्न कोशिश गर्दैछु ।’

यति मात्र बोली भुईंमा खस्नै नपाउँदै उनले दराजनिरको पर्दा उघारिन् । जहाँ करिब सत्ताइस अठ्ठाइस वर्षको एक जना पुरुष सानो बिस्तारामा लडिरहेका थिए, न उनी बोल्न सक्थे न हिंड्डुल नै गर्न । ओछ्यानमै खाने, सुत्ने र दिसा-पिसाब पनि त्यही गर्ने अवस्थाका थिए । त्यो दृश्यले मेरो मन उदासियो । आँखाभित्रबाट कति खेर खोला बगेर बाहिर निस्कियो थाहा भएन । त्यही पनि आफूलाई सम्हाले ।

मेरो आँखाको आँशु पुछ्दै उनले भनिन्- ‘नरूनुस दाइ मेरो जिन्दगी यस्तै हो । उहाँ मेरो श्रीमान् हुनुहुन्छ । हाम्रो बिहे भएको करिब तीन वर्ष भयो । हामी एकै कलेजमा पढ्थ्यौं । हामीबीच गहिरो माया प्रेम थियो । घरपरिवारले हाम्रो माया नस्विकार्दा हामी भागेर बिहे गर्न बाध्य भयौं ।  बिहेपछि काठमाडौं छिरेर हामी जीविकोपार्जन गर्न थाल्यौं । एउटा छुट्टै संसार थियो हाम्रो,  हामी दुवै जना पढ्नमा एकदमै राम्रो थियौं । उहाँले ट्युसनका कक्षाहरू लिनुहुन्थ्यो र म फाइनान्समा काम गर्थें । हामी संसारसँग लुकेर आफूमा खुलेर बाँचेका थियौं ।

एकदिनको कुरा हो, उहाँ तरकारी किन्न भनेर बजारतर्फ लाग्नुभएको समयमा उहाँलाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिएर भाग्यो र अस्पताल पुर्‍याउँदा खर्च जुटाउन सकिएन । उहाँलाई प्यारालाइसिस भयो । डाक्टरका अनुसार कुनै न कुनै समयमा उहाँलाई ठिक हुन्छ नै रे । फाइनान्सबाट मासिक सात हजारको तलबले त ग्याँस किन्न नि धौ धौ भयो । जसोतसो जम्मा गरेर राखेको पैसा सबै उहाँकै उपचारमा सकियो । घरपरिवारको सहमतिविना बिहे गरेकाले त्यस्तो अवस्थामा फोन गर्दा समेत कसैले उठाएनन् न मेरा माइतीले न उहाँको घरले । उहाँकै हेरचाहमा मैले मेरो पनि जागिर छाड्नुपर्‍यो ।

रूदाँरूदाँ आँखाका आँशु रित्तिए । न कसैले गुहार सुन्यो न कसैले सहयोग नै गर्‍यो । अब त औषधि किन्न नि पैसा छैन भनेर मेडिकलको साहुलाई बिन्ती बिसाउँदा यति राम्रो जीउडाल भएकीले मागेर लानै पर्दैन नि भनेर ललाइफकाइ गर्न थाल्यो । सोही बेलादेखि मैलै मेरो सिन्दूरको रक्षाको लागि आफूलाई यो पेसामा ढाले । कहिले आफ्नो हजुरबुबाको उमेरका बुढाहरू त कहिले आफ्ना सानाभाइ उमेरका । त्यसबेला मैलै थाहा पाए बाध्यताभन्दा ठूलो समस्या यो संसारमा केही पनि छैन र परिस्थितिले भन्दा ठूलो चोट अरू केहीले दिंदैन । आफूले पाँच सय मागेपनि कसैले सोचेभन्दा बढी पैसा दिने हुनाले अब पैसाको अभाव कम हुन थाल्यो र उहाँको अवस्था पनि सुध्रिंदै गयो ।

त्यसदिन मैले सोंचे कि मेरा लागि यति दु:ख गर्ने श्रीमान् मृत्युको मुखमा हुँदा मैले मेरो इज्जतको के ख्याल गर्नु ? बेफिकर यो दुनियाँमा लागे दाइ । जुन दिन उहाँ डाक्टरले भनेझैं पुरानो अवस्थामा फर्किनु हुन्छ, मैले बिराएको मेरो बाटो उहाँले थाहा पाएकै दिन म मेरो प्राण त्यागिदिनेछु ताकि मैले धोका दिएको भनेर उहाँलाई हीनताबोध नहोस् ।’ लामो श्वास लिंदै उनी दाँत किटिक्क पार्दै बोलिन् ।

मैले केही नसोची त्यो दिनको मेरो तलबको आधा हिस्सा उनलाई दिए । उनको आफ्नो पतिको त्यो अठोटप्रति सलाम गरे । बहिनी तिमीले धोका दिएकी छैनौ जे गरेकी छौ, त्यो आफ्नो सिन्दूरको लागि गरेकी हौ । अबबाट तिम्रो माइती यहाँ छ, तिमीलाई परेको सहयोग म सबै गर्नेछु । ज्वाइँसापको लागि म पनि मेरो तर्फबाट सक्दो सहयोग गर्नेछु । सानो कुरामा बिहेको केही दिनमै डिभोर्स गर्नेको लहरमा तिमी मायाको उदाहरण बनेर आएकी छौ भनी म त्यहाँबाट चौध हजार उनीलाई सुम्पिएर आए ।

त्यसदिन मलाई मेरो गलत कामबीचको राम्रोपनले जिन्दगी सबैको सहज हुन्न रहेछ, शारीरिक सुख मात्र जीवन हैन रहेछ र मायाको परिभाषा निकै गहन रहेछ भन्ने भाव आयो । शायद एक नारीको सौन्दर्य भनेको गहना र लाज नै हो, जुन कुराले जीवन पर्यन्त नारीलाई आफू पुरुषभन्दा भिन्न छु भन्ने भावना जगाउनमा प्रेरित गर्छ । तर छोरीको रूपमा जन्म लिएर बहिनी, दिदी, फुपू, श्रीमती, आमा, माइजू, सासू लगायतको भूमिका निर्वाह गरेर जिन्दगी जिउनु पर्दा परिस्थिति बमोजिम आफूलाई परिवर्तन गर्न सक्ने नारीहरु त्यत्तिकै महान् भएका चाहिं होइन रहेछन् ।

जुन सिउँदोको सिन्दूरको रक्षा गर्न भनी यी बहिनीले अठोट लिइन् त्यो तरिका गलत होला तर उनको आफ्नो अर्धचेत श्रीमानप्रतिको समर्पणको गाथा शब्दमा बयान गर्न सकिंदैन । शायद प्रेम गर्ने जोडीले माया मेरो कलेजो तिमीलाई, मेरो मुटु तिमीलाई र मेरो सिंगो शरीर तिम्रा लागि भनेर गरिएका वाचाहरूले निचोड यहींनिर पाउँछ होला । समाजले यो समर्पण र यो लगावको नारीको सदैव सम्मान गर्न सक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?