+
+

ई–पेमेन्टबाट पहिलो महिनामै भन्सार विभागको राजस्व संकलन ७ अर्ब ४० करोड 

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १३:११

८ फागुन, काठमाडौं । भन्सार विभागले माघ मसान्तसम्म ७ अर्ब ४० करोड बराबरको राजस्व संकलन गरेको छ ।

भन्सार विभागका अनुसार राजस्व संकलन डिजिटल माध्यमबाट गर्ने व्यवस्था मिलाएको पहिलो महिनामै ७ अर्ब ४० करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको हो । भन्सार विभागले पहिलो पटक १ पुसदेखि वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने व्यवस्था मिलाएको थियो । देशभरका भन्सार कार्यालयहरुमा भने गत १२ माघदेखि डिजिटल माध्यमबाट राजस्व संकलन कार्यान्वयनमा आएको थियो ।

भन्सार विभागको प्रज्ञापनपत्र सम्बन्धी भुक्तानी एनसीएचएल तथा बैंक वित्तीय संस्थाका विभिन्न च्यानलहरुसँग जोडी विद्युतीय माध्यमबाट संकलनको सुरुवात भएसँगै ई–पेमेन्टमार्फत विद्युतीय राजस्व संकलनमा उल्लेख्य वृद्धि हुनुका साथै आयतकर्ताहरुलाई पनि भुक्तानी गर्न निकै सहज भएको विभागले जनाएको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत भन्सार विभागको भुक्तानी संकलनलाई रियल टाइम तथा नन् रियल टाइम दुवै माध्यमबाट संकलन गरिने व्यवस्था हुँदा माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीच मार्फत रियल टाइममा ३.४ अर्ब रुपैयाँ र एनसीएचएल–आईपीएस मार्फत नन् रियल टाइममा ४ अर्ब रुपैयाँ बराबरको संकलन भएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागका अनुसार भुक्तानी गर्नका लागि भन्सार एजेन्ट वा आयातकर्ताले भन्सारको अनलाइन प्रणालीबाट रजिष्ट्रेशन वर्ष, रजिष्ट्रेशन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापनपत्र नं. प्राप्त गरी उपलब्ध कुनैपनि च्यानलमा सो विवरण दाखिलागरी अनलाइन भुक्तानी गर्नसक्दछन् । यसरी भुक्तानी गर्दा कारोबार सीमा भने छनोट गरिएको प्रणाली अनुसारको हुन्छ ।

भन्सार एजेन्ट तथा आयातकर्ताले सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आईपीएस, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाबाट भुक्तानी गर्नसक्दछन् । यो सेवा एनसीएचएलका विभिन्न सदस्य बैंक वित्तीय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ तथा सदस्य भुक्तानी सेवा प्रदायक (वालेट) हरुमा पनि चाढै नै उपलब्ध हुनेछ । भन्सार विभागका सम्पूर्ण भुक्तानीहरु पहिले नगद वा चेक मार्फत हुने गरिन्थ्यो ।

देशभरका भन्सार नाकाहरुबाट आयात कर, भ्याट, अन्तः शुल्क लगायतका विभिन्न करहरु संकलन हुने कुल राजस्वको ४४ प्रतिशत ओगटेको छ भने सरकारी करको हकमा ५० प्रतिशत योगदान गरेको छ । यसरी भन्सार विभागको अनलाइन संकलन सेवाको सुरुवातले विभागको सेवा प्रवाहमा उल्लेखिय सुधार ल्याई विभागको “क्यासलेस र फेस लेस” सेवा दिने नीतिलाई सहयोग गर्ने अपेक्षा गरेका गरिएको छ ।

आव २०७८/७९ को माघ मसान्तसम्म सरकारी राजस्वको अनलाइन संकलन १३.२ अर्ब रुपैयाँ भएकोमा भन्सार विभागको एक महिनामै ५६ प्रतिशत योगदान रहेको छ । सरकारले गत आव २०७७/७८ मा कुल राजस्व संकलन मध्ये १० प्रतिशत अनलाइन माध्यबाट संकलन गरेको थियोे ।

आगामी दिनमा सरकारी राजस्व संकलन अनलाइन माध्यमबाट २–३ गुणाले वृद्धि हुने अपेक्षा विभागले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?