+
+

खानेपानी उपभोक्तामा दलीय राजनीति : एमालेविरुद्ध ६ दलको मोर्चाबन्दी

उपभोक्तालाई छुटैछुटको अफर

टोपराज शर्मा टोपराज शर्मा
२०७८ फागुन १२ गते ११:१५

१२ फागुन, बुटवल । चार हजार बढी उपभोक्ता रहेको रुपन्देहीको देवदह खानेपानी तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनले मिनी स्थानीय तहको चुनावको झल्को दिएको छ ।

४ हजार ३ सय मतदाता रहेको खानेपानीको चुनावी नतिजाले आउँदो स्थानीय तहको चुनावलाई समेत प्रभाव पार्ने भएकाले दुबै पक्षले प्रतिष्ठाको विषय बनाएर मतदाता रिझाउन घर दैलो अभियान चलाएका छन् । उम्मेदवारहरुले उपभोक्तालाई बिभिन्न छुटको आश्वासन दिंदै भोट मागिरहेका छन् ।

फागुन १४ गते हुने संस्थाको तेस्रो अधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्न नेकपा एमाले तयार नभएपछि कांग्रेस, माओवादीसहित ६ दलले चुनावी मोर्चाबन्दी गरेका छन् ।

वाषिर्क करोड बढी बजेट हुने सामाजिक संस्थाको नेतृत्व लिन स्थानीय चुनावमा जस्तै उम्मेदवारहरुले उपभोक्तालाई छुटैछुटको अफरसहित चुनावी घोषणापत्र सार्वजनिक गरी चुनाव प्रचार गरिरहेका छन् ।

नेकपा एमालेले हालका अध्यक्ष गुमानसिंह कुँवरको नेतृत्वमा प्यानल बनाएको छ । यसैगरी ६ दलीय गठबन्धनले माओवादी केन्द्रका मोतिलाल ढकालको नेतृत्वमा प्यानल खडा गरेका छन् ।

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा र राष्ट्रिय जनमुक्ति पार्टी समेत छन् । अध्यक्ष कुँवरले अघिल्लो अधिवेशनमा तत्कालीन नेकपाबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएर जितेका थिए ।

२०६२ सालदेखि हालसम्म सबै दललाई समेटेर सहमतिमै नेतृत्व चयन हुँदै आएकामा यसपटक एमालेले अरु दललाई समेट्न नचाहेपछि एमाले इतरका दलहरुले गठबन्धन गर्नुपरेको अध्यक्षका उम्मेदवार मोतिलाल ढकालले बताए । ‘खानेपानी जस्तो सामाजिक संस्थामा दलीय राजनीति नगरी साझा बनाऔं भनेर पटक-पटक छलफल र प्रयास गर्दा पनि एमालेले अस्वीकार गरेपछि गठबन्धन गर्नुपरेको हो,’ ढकालले भने ।

तीन वर्षसम्म साधारण सभा नगरी आय व्यय पारदर्शी नगरी लुकाउने काम भएको र संस्थालाई एमालेले कमाइखाने थलो बनाएको ढकालको आरोप छ । ढकाल नेतृत्वको प्यानलले पत्रकार सम्मेलन गरेर उपभोक्तालाई सहुलियत दिन छुटैछुटको अफरसहित चुनावी प्रतिवद्धता समेत सार्वजनिक गरेको छ । जसमा हाल कायम खानेपानी महसुल ५० प्रतिशत कम गरी मासिक ५० रुपैयाँ कायम गर्ने, धारा जडानमा लिइँदै आएको १२ हजारमा २५ प्रतिशत घटाएर ९ हजार बनाउने, शारीरिक अपांगता भएका, शहीद परिवार र अति विपन्न परिवारलाई धारा जडानमा थप २५ प्रतिशत छुट प्रदान गर्ने ढकालले बताए ।

अहिलेको नेतृत्वले अनावश्यक शुल्क वृद्धि गरेर उपभोक्ताको ढाड सेक्ने काम गरेको भन्दै उनले आफ्नो गठबन्धन सहुलियत दिने पक्षमा रहेको बताए ।

नेपाली कांग्रेस देवदह नगर सभापति गुनाखर भुर्तेलले सबै दलको प्रतिनिधित्व हुने गरी सहमति कायम गर्न आफूहरूले गरेको पहलमा नेकपा एमाले बाधक बनेको उल्लेख गरे ।

अध्यक्षका उम्मेदवार कुंवरले भने संस्थाको नेतृत्वले राम्रा काम गर्दै आएकाले अधिवेशनमा एमालेको जित हुने देखेर गठबन्धन बनाएको बताए । ‘मैले खानेपानी संस्थामा राजनीति गर्न खोजेको होइन, अर्को पक्षले गठबन्धन गरेर मिनी चुनाव जस्तै बनाए’ कुँवरले भने ।

देवदहमा यसअघि पनि केरवानी माविको विद्यालय व्यवस्थापन समिति चयनमा पनि एमाले एकातिर र अरु दल अर्कोतिर भएर चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा एमाले इतरको गठबन्धनले जित हासिल गरेको थियो ।

गत माघ २२ गते दाङ देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्वमा पनि सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको छुट्टा छुट्टै प्यानलबीच निर्वाचन भएको थियो । निर्वाचनमा गठबन्धनको प्यानल विजयी भएको थियो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?