१२ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय सफलताका हिसाबमा नेपालको सबैभन्दा सफल तेक्वान्दो संघले खेलाडी र प्रतिस्पर्धाको स्तरवृद्धि गर्ने योजनासहित तीन तहको राष्ट्रिय टिम बनाउने भएको छ ।
आन्तरिक सर्कुलरमार्फत जिल्लादेखि नै राष्ट्रिय टिम छनोट प्रक्रिया सुरु गरेको तेक्वान्दोले राष्ट्रिय टोलीका खेलाडीको फिटनेस र व्यस्ततामा सुधार गर्ने योजना बनाएको छ ।
गत असोजमा भएको केन्द्रीय साधारणसभा र निर्वाचनमार्फत कार्यसमिति सदस्य बनेका पूर्व खेलाडी राम गिरी राष्ट्रिय टिम तयारी उपसमितिको संयोजक छन् । उनले राष्ट्रिय टिम निर्माणको मापदण्ड परिवर्तन गरेका छन् ।
विगतमा वर्षमा एकपल्ट हुने छनोट प्रतियोगिता विधिलाई परिमार्जित गरी हरेक महिना छनोट प्रतियोगिता गर्ने नवीन प्रणालीको विकास गर्न खोजेको उनले बताए । छैटौं राष्ट्रिय खेलकुद (२०६८ धनगढी)का फेदरवेट च्याम्पियन गिरीले प्रष्टसँग भनेका छन्, ‘तेक्वान्दोका राष्ट्रिय खेलाडीले अब ढुक्कले बस्न पाउँदैनन् ।’
१३औं दक्षिण एसियाली खेलकुदमा सर्वाधिक १२ स्वर्ण जितेको तेक्वान्दोले त्यसयता राष्ट्रिय टिम निर्माण गरेको छैन । कोरोना महामारीका कारण खेलकुद गतिविधि ठप्प भएपछि टिम बनाउने आवश्यकता पनि परेन । टोकियो ओलम्पिकमा वाइल्ड कार्ड नपाएपछि तेक्वान्दोबाट यसपल्ट प्रतिनिधित्व पनि भएन ।
यस्तो छ राष्ट्रिय टोली निर्माणको प्रक्रिया
राष्ट्रिय टिम तयारी उपसमितिले फागुनको पहिलो साता एउटा सार्वजनिक सूचना जारी गरी राष्ट्रिय टिम तयारीका लागि जिल्लाबाटै छनोट हुने जानकारी दिएको थियो । जिल्लास्तरका आफ्ना संरचना प्रयोग गरी क्लब र डोजोहरूबाट खेलाडी पहिचानसहित छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ ।
जिल्लाबाट छनोट भएका खेलाडीहरू प्रदेश छनोटमा सहभागी हुनेछन् । फागुन महिनाभित्र प्रदेश छनोट सम्पन्न गरिसक्ने समितिका संयोजक गिरीले जानकारी दिए । सात प्रदेशबाट छनोट भएका खेलाडी र तीनवटा विभागीय टोलीका खेलाडीसमेतको राष्ट्रिय छनोट प्रतियोगिता आयोजना हुनेछ ।
राष्ट्रिय छनोटबाट तीन तहको राष्ट्रिय टोली बनाइनेछ । महिला र पुरुषको ८-८ तौल समूहको ए बी र सी गरी तीन तहको राष्ट्रिय टोली बन्नेछ । त्यस्तै जुनियरतर्फ छात्र र छात्राको ५-५ तौल समूहमा पनि सिनियर जस्तै तीन तहको राष्ट्रिय टोली बन्नेछ ।
संयोजक गिरीका अनुसार तीनवटा राष्ट्रिय टोलीबीच हरेक महिना लिग प्रणालीमा छनोट प्रतियोगिता आयोजना हुनेछ । यसको अर्थ शीर्ष तह अर्थात् ‘ए’ टोलीमा रहेका खेलाडीले सोही तहमा नियमित रहनका लागि हरेक महिना आफूलाई ‘बी’ र ‘सी’भन्दा अब्बल सावित गर्नुपर्नेछ ।
‘हिजोका दिनमा राष्ट्रिय छनोट प्रतियोगिता वर्षमा एकपल्ट हुने र एकपल्ट जितेपछि लामो समयसम्म राष्ट्रिय टिममा कब्जा जमाउने स्थिति हुँदैन । ढुक्कले बसेपछि खेलाडी मानसिक र शारीरिक रूपमा समेत बोधो हुने खतरा भयो’ राष्ट्रिय टिम तयारीका संयोजक गिरीले अनलाइनखबरसँग भने, ‘धेरै खेलाडी त्यसरी बिग्रिएको देखेका छौं ।
खेलाडीहरू जुनसुकै बेला मानसिक र शारीरिक रुपमा फिट हुनैपर्छ । आफूलाई शीर्षस्तरमा राख्नका लागि उसले सधैं मिहिनेत गरिरहनुपर्छ । नत्र अर्को खेलाडी त्यो पोष्टमा पुग्छ ।’
आफैं पनि खेलाडी पृष्ठभूमिबाट आएका गिरीले खेलाडीलाई धेरैभन्दा धेरै अवसर दिनुपर्ने सवालमा आफू निरपेक्ष रहने बताए । जिल्ला र प्रदेश छनोट प्रक्रियालाई पनि प्रभावकारी र पारदर्शी बनाउन संयन्त्र निर्माण गरिएको दावी गरे । ‘हामीले खेल्दाको समयमा बदनियत राख्ने पदाधिकारीले दुःख दिने गरेको प्रशस्तै उदाहरण थिए ।
अब अनुहार हेरेर छनोट गर्ने प्रणालीको अन्त्य मेरै पालादेखि सुरु भएको छ’ गिरीले थपे, ‘राष्ट्रिय टोलीमा पर्नका लागि खेलाडीले आफ्नो फिटनेस र अनुशासनमा ध्यान दिने हो, न कि चाकडीमा ।’
गिरीका अनुसार राष्ट्रिय टोलीका खेलाडीलाई उनीहरूको तहअनुसार अन्तर्राष्ट्रिय एक्स्पोजरको अवसर दिइनेछ । ए टिममा रहेका खेलाडी आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य हुन्छ । बी र सी टिमका खेलाडीले सोहीअनुसार अवसर पाउँछन् ।
केन्द्रमा मात्र होइन प्रदेश र जिल्लामा पनि सोहीस्तरको टोली निर्माण गरी नियमित प्रशिक्षणको व्यवस्था गर्न पहल भइरहेको उनले जानकारी दिएका छन् । ‘प्रदेशमा केन्द्रले निर्देशन गर्न मिल्दैन होला तर सातै प्रदेशमा टिम बनाएर नियमित प्रशिक्षण र प्रतियोगिता तथा जिल्लास्तरमा पनि टिम निर्माण गर्नका लागि पहल हुनेछ’ उनले थपे, ‘यसले हरेक वर्ष आयोजना हुने राष्ट्रिय छनोट प्रतियोगिता अझै प्रतिस्पर्धात्मक बनाउन सजिलो हुन्छ ।’
राखेप पछिपछि, तेक्वान्दो संघ अघिअघि
नेपाल तेक्वान्दो संघको पछिल्लो सक्रियता र गतिविधि हेर्ने हो भने नियामक निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)भन्दा एक कदम अगाडि बढिरहेको देखिन्छ । राखेपले स्थगित गर्न दिएको निर्देशनविपरीत तेक्वान्दो संघले गत असोज १६ गते भैरहवामा संघको साधारणसभा तथा कार्यसमितिको निर्वाचन सम्पन्न गर्यो ।
खेलकुद विकास ऐन २०७७ जारी भए पनि नियमावली नबन्दा धेरै संघहरू अन्योलको स्थितिमा छन् । तर तेक्वान्दोले भने ऐनकै व्यवस्थालाई टेकेर आफूले निर्वाचन गरेको बताउँदै आएको छ । नवौं राष्ट्रिय खेलकुद आयोजना गर्न नसकेको राखेपले राष्ट्रिय टिम तयारीमा दुई वर्षदेखि कुनै काम गरेको छैन ।
‘खेलकुदको मूल कानून जारी भएपछि राखेपले नै हामीलाई ऐन कार्यान्वयन गर्नु भनेर पत्र पठाएको छ । ऐन कार्यान्वयन गर्नका लागि हामीले विधान संशोधन गर्नुपर्यो ।
पोखरामा विधान संशोधन गरेर निर्वाचन गरेका हौं’ तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले अनलाइनखबरसँग भने, ‘कार्यसमितिको अधिकार निर्वाचन समितिले लिइसकेको अवस्थामा पाँच दिनअघि राखेपले निर्वाचन रोक्नु भनेर पत्र पठाउँदा ढिला भइसकेको थियो ।’ गुरुङका आनुसार तेक्वान्दोले अरू खेल संघका लागि पनि उदाहरण हुने काम गरिरहेको दाबी गरे ।
प्रतिक्रिया 4