१२ फागुन, काठमाडौं । निर्वाचन आयोगले एक-डेढ सातामै निर्वाचन आचार संहिता लागू हुने संकेत गरेको छ ।
आयोगले विहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताले अन्तिम रुप पाएको र कानून मन्त्रालयमा छलफलमा रहेको बताए ।
‘कानूनी व्यवस्था अनुसार आयोगले तोकेको मितिदेखि आचारसंहिता लागू हुन्छ’ पौडेलले पत्रकार सम्मेलनमा भने, ‘आयोगको माग अनुसार आगामी २० गतेभित्र निर्वाचनमा खटिने कर्मचारीहरुको सूची आइपुग्छ होला । कर्मचारीहरुको सरुवा हुने भएकाले पनि आचारसंहिता लागू हुने देखियो ।’
आचारसंहिता लागू भएपछि सरकारले नियुक्ति, मनोनयन, कर्मचारीको सरुवा लगायतका काम गर्न आयोगको पूर्वस्वीकृति लिनुपर्छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा एक लाख १० हजार ७१३ जना जनशक्ति खटिने मोटामोटी तय भएको र हरेकको २० लाख रुपैयाँका दरले बीमा गरिने भएकाले बुधबार बीमाको बोलपत्र प्रस्ताव आह्वान गरिएको उनले बताए ।
आयोगले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि मास्क, सेनिटाइजर र प्राथमिक उपचारका सामानका लागि बोलपत्र आह्वान गरिसकेको छ । आयोगले अर्थ मन्त्रालयसँग ८ अर्ब १९ करोड रुपैयाँ बजेग माग गरिसकेको छ ।
स्थानीय तहको निर्वाचन प्रक्रियाका लागि पछिल्लोपटक १९ वटा दल दर्ता भएका छन् । हालसम्म आयोगमा निर्वाचन प्रयोजनका लागि २९ दल दर्ता भएको प्रवक्ता पौडेलले बताए ।
प्रतिक्रिया 4