१४ फागुन, काठमाडौं । महाशिवरात्रिकाे पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्रका भित्तामा शिवरात्रि झल्काउने चित्रहरु बनाइएकाे छ ।
करिब एक महिनादेखि पशुपतिनाथ क्षेत्रका भित्तामा शिव,पार्वती, गणेश, हनुमान, पशुपतिनाथ, गाई र त्रिशुलका चित्र बनाइएकाे पशुपति क्षेत्र विकास काेषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।
उनका अनुसार शिवरात्रिकाे महिमा चित्रकलामार्फत पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीसम्म पुर्याउने उद्देश्यले चित्रकला बनाइएको हो । उनले भने, ‘पशुपति क्षेत्र विकास काेषले यस वर्षदेखि नै पशुपतिनाथ क्षेत्रका भित्तामा शिवरात्रि, शिवकाे महिमा झल्काउने चित्रकला बनाउन थालेकाे छ ।’
प्रवक्ता अधिकारीका अनुसार कोषले पशुपतिनाथमा रङ्गराेगन, पेन्टिङलगायत गरेर करिब ३५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।
काठमाडौं, बुटबल, नेपालगञ्ज र सिन्धुपाल्चाेकका कलाकारले पशुपतिनाथ क्षेत्रका संरचनाका भित्ता पर्खालमा चित्रकला बनाइरहेका छन् । चित्रकलाकाे नेतृत्व अग्निप्रसाद पाैडेलले गरेका छन् भने कमल श्रेष्ठ, पासाङ विक्रम लामा, देवी तिमिल्सेना, रुद्र बस्नेत, नरबहादुर विक, राजिव महर्जन र मेघराज राईसहित ८ जनाकाे टिमले उनलाई सघाएको छ ।
फागुन ३ गते सुरु भएको चित्ररकला बनाउने काम शनिबार सकिएको काेषका प्रवक्ता अधिकारीले बताए । शिवरात्रि यस वर्ष फागुन १७ गते परेको छ ।
हेर्नुहोस् थप तस्वीरहरु
प्रतिक्रिया 4