
१६ फागुन, काठमाडौं । सरकारले कास्कीको पोखरा महानगरपालिका तथा अन्नपूर्ण गाउँपालिकामा पर्ने फेवाताल र यस आसपासको क्षेत्रलाई जलाधार संरक्षण क्षेत्र घोषणा गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै फेवातालको चारकिल्ला क्षेत्रलाई जलाधार संरक्षण क्षेत्र घोषणा गरिएको हो ।
मन्त्रालयका अनुसार पोखरा महानरपालिकाको वडा नम्बर १७ पार्दीमा अवस्थित फेवातालको ड्यामलाइडलाई जलाधार क्षेत्रको निकास बिन्दु मानिएको छ । पूर्वमा राष्ट्र बैंक चोक, सिर्जना चोक, बिन्दबासिनी चोक, लामा गाउँ हुँदै सराङकोट डाँडाको फेवातालतर्फ बग्ने पानीढला क्षेत्रलाई समेटिएको छ । उत्तरमा सराङकोट डाँडाहुँदै मान्द्रे ढुंगा, बान्थले डाँडा, फल्लापानी, नाग डाँडा, अंधेरी खोलाको शीर, देउराली हुँदै पञ्चासे डाँडाको फेवाताल तर्फको पानीढलो क्षेत्रलाई समेटिएको छ ।
पश्चिममा पन्चासो डाँडाबाट डाँडाकटेरी, सिमानाडाँडा, पैंयू चौतारी, काउलेपानी, लुकुन्स्वाँरा, विश्व शान्ती स्तुपा क्षेत्रको फेवाता तर्फको पानीढलो समेटिएको छ । दक्षिणमा विश्व शान्ति स्तुपाबाट रानीवन हुँदै पार्दी ड्यामसाइडको फेवाताल तर्फको पानीढला क्षेत्र समेटिएको छ । फेवातालको ५.७२६ वर्गाकिलोमिटर क्षेत्रफलसहित कुल १२३ वर्गा किलोमिटर क्षेत्रफललाई संरक्षण क्षेत्र घोषणा भएको हो ।
प्रतिक्रिया 4