+
+

रुसविरुद्ध उत्रियो हलिउड, ‘ब्याटम्यान’सहित दर्जन फिल्मको रिलिज स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते ११:२८

१७ फागुन, काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा हलिउड पनि उत्रिएको छ । हलिउड स्टुडियो डिज्नेले मंगलबार आफ्नो प्रतीक्षित सुपरहिरो फिल्म ‘द ब्याटम्यान’को पूर्वनिर्धारित रिलिज स्थगित गरेको छ । डिज्नेको यो निर्णयलाई अन्य हलिउड स्टुडियोले पनि पछ्याएका छन् ।

प्रदर्शन स्थगित गर्ने निर्णयबारे डिज्नेका प्रवक्ताले भनेका छन्, ‘युक्रेनमा उत्पन्न गम्भीर मानवीय संकटलाई ध्यानमा राख्दै वार्नर मिडियाले आफ्नो फिचर फिल्म ‘द ब्याटम्यान’लाई रुसमा रिलिज स्थगित गर्ने निर्णय गर्छ । हामी त्यहाँको परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं । हामी चाँडै शान्ति बहाली भएको हेर्न चाहन्छौं ।’

रोबर्ट प्याटिन्सन स्टारर यो सुपरहिरो फिल्म मार्च ३ मा रुसमा रिलिज तयारीमा थियो । वार्नर ब्रोजका अन्य फिल्म ‘फ्यान्टास्टिक बिट्स’ अप्रिल १४, एनिमेटेड फिल्म ‘डीसी लिग अफ सुपर पेट्स’ मे १९ मा रिलिजको तयारीमा छन् । रुस हलिउडको ठूलो बजारमध्ये एक हो । हलिउड सुपरहिरो ‘स्पाइडरम्यान : नो वे होम’ले हालै रुसी बजारमा ४४.५ मिलियन डलर कमाइ गरेको थियो ।

रुसविरुद्ध रिलिज स्थगित गर्ने डिज्ने पहिलो हलिउड स्टुडियो हो । त्यहाँको मोसन पिक्चर एसोसियसन पनि रुसी आक्रमणको विरोधमा उत्रिएको छ । युक्रेनको पछिल्लो अवस्थालाई लिएर संस्थाले निगरानी गरिरहेको र आक्रमणविरुद्ध संसारका सबै सिर्जनाप्रेमी एकजुट हुनुपर्ने समेत मोसन पिक्चर एसोसियसनले बताएको छ ।

डिज्नेको निर्णयलगत्तै अर्को प्रतिष्ठित हलिउड स्टुडियो सोनीले पनि आगामी महिना रुसमा रिलिज हुने तयारीमा रहेको फिल्म ‘मर्बियस’को प्रदर्शन स्थगित गरेको छ । स्पाइडरम्यान चरित्र र कथामै आधारित रहेको जेरोर्ड लेटो स्टारर फिल्म मार्च २४ मा रुसमा रिलिज गर्ने तयारीमा थियो । ‘रुसमा फिल्म रिलिज गर्ने योजना युक्रेनमा शान्ति बहाली हुने परिस्थितीमा निर्भर हुन्छ’ सोनीका प्रवक्ताले भनेका छन् ।

डिज्ने र सोनीको निर्णयलगत्तै प्यारामाउन्टले पनि रुसमा रिलिजको तयारीमा रहेका फिल्म ‘लस्ट सिटी’ र ‘सोनिक २’ प्रदर्शनलाई स्थगित गर्ने निर्णय गरेको छ । विश्वब्यापी बैंकिङ प्रणाली भनिने स्वीफ्टमा रुसलाई रोक लगाउने युरोपेली युनियनको निर्णयलगत्तै हलिउड स्टुडियोहरुले पनि प्रतिबन्ध लगाउन थालेका हुन् ।

नेपालमा भने ‘द ब्याटम्यान’ शुक्रबार रिलिज गर्ने तयारी छ । युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो)को सदस्यता लिन खोजेपछि उत्पन्न विवादमा यसैसाता रुसले युक्रेनमाथि आक्रमण गरेको हो । रुसी आक्रमणको विरोधमा अमेरिकासहित नाटोका सदस्य मुलुकहरुले मस्कोविरुद्ध प्रतिबन्ध लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?