१७ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको १४औं जिल्ला अधिवेशनबाट बुद्ध लामा सभापतिमा चयन भएका छन् । सभापतिको लागि उम्मेदवारी परेकामध्ये आनन्दराम पराजुली र जयराम लामिछानेलाई पहिलो चरणमा उछिनेका लामा सहमतिमा सभापति चुनिएका हुन् ।
पहिलो चरणको निर्वाचन परिणाम अनुसार लामाले सबैभन्दा बढि ५ सय ९५ मत ल्याएका थिए भने पराजुलीले ५ सय ४५ र लामिछानेले ५ सय ३१ मत प्राप्त गरेका थिए ।
खसेको १ हजार ७ सय ७५ मतमध्ये सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनु पर्ने भएपनि आन्तरीक सहमतिको आधारमा लामालाई सभापति चयन गरीएको बताइएको छ ।
तेश्रो बनेका लामिछाने निर्वाचन प्रक्रियाबाट बाहिरीएपछि लामा र पराजुलीको बिच पुनः मतदानको प्रक्रिया थाल्ने तयारीको अवस्थामा लामाको पक्षमा सहमति जुटेको थियो ।
नजिकिदै गरेको स्थानिय तहको निर्वाचनलाई समस्या पर्ने भन्दै पार्टीको केन्द्रीय तहका शीर्ष नेताबाट हस्तक्षेप भएपछि लामालाई सभापति पद सुम्पिन पराजुली तयार भएका थिए ।
उनीहरु दुवै संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्षधर हुन् । कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएको हो । यसअघि २०४६ साल अघि सूर्यबहादुर डिम्डुङले नेपाली कांग्रेसको नेतृत्व गरेका थिए ।
दोश्रो चरणको निर्वाचन प्रक्रिया थाल्नुअघि कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय डीना र प्रदेश सभापति बानियाँको पहलमा लामा र पराजुलीबीच सहमति भएको थियो ।
प्रतिक्रिया 4