
१७ फागुन, काठमाडौं । ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने षड्यन्त्रहरु एकै मिनेटमा चुट्की बजाएर समाप्त पारिएको छ,’ यसो भन्दै गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रसन्न देखिए ।
लामो समयदेखि कम्युनिष्ट पार्टीहरुका बीचमा विवादित र प्रतिनिधिसभामा विचाराधीन अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) व्याख्यात्मक घोषणासहित अनुमोदन भएपछि पत्रकार सम्मेलन गर्ने दलहरुको लहरमा मंगलबार एकीकृत समाजवादी पनि मिसियो ।
जुन कार्यक्रम अवधिभर अध्यक्ष माधव नेपाल विजयी भावमा देखिए । भलै नेकपा एकीकृत समाजवादी बनाएदेखि अहिलेसम्म उनी सँगै रहेका नेता झलनाथ खनाल भने उनको छेउमा देखिएनन् ।
अध्यक्ष नेपालको यो खुसीका पछाडि एमसीसी अनुमोदन हुनु पनि एउटा कारण त होला नै, त्यो भन्दा मुख्य कारण चाहिं पार्टी जोगिनु नै हो । यदि एमसीसी अनुमोदनमा यो व्याख्यात्मक घोषणाको विकल्प भेटिएको थिएन भने सबैभन्दा ठूलो क्षति संभवतः नेपालको पार्टी नेकपा एकीकृत समाजवादीलाई नै हुन्थ्यो ।
आफ्ना १४ सांसद र सभामुख अग्निप्रसाद सापकोटा हटाउने षड्यन्त्रकै उपज व्याख्यात्मक घोषणामा सहमति जुटेको नेपाल स्वयंले भनेका छन् । आफूहरु एमसीसी संसदबाट अनुमोदन गर्न तयार नहुँदा षड्यन्त्र रचिएकोे उनको स्पष्टोक्ति छ ।
‘फागुन १ मा भएको षड्यन्त्र हामीलाई थाहा छ । त्यही दिन हाम्रो पार्टी समाप्त पार्ने षड्यन्त्र भएको थियो,’ नेपालले भने । फागुन १ मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसद विरुद्ध नेकपा एमालेले दिएको मुद्धा सर्वोच्च अदालतमा पेशी चढेको थियो ।
षड्यन्त्र मूलतः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट भएको एकीकृत समाजवादीको संकेत थियो । आफ्नो दलविरुद्ध एमाले र उक्त दलका अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्र रचेको एकीकृत समाजवादीको ठहर छ । गठबन्धनका दलहरु तयार नहुँदा सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस एमालेसँग एमसीसीमा सहकार्य गर्न अघि बढेको थियो ।
गठबन्धन टुट्ने तथा पार्टी निर्माणमा समेत गम्भीर धक्का पुग्ने आकलन गरी एकीकृत समाजवादी वाध्यात्मक अवस्थामा पनि पुगेको थियो । एमसीसीको चर्को विरोधी देखिएको एकीकृत समाजवादी अन्ततः व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न तयार भएको थियो ।
व्याख्यात्मक घोषणासहित पारित गर्ने पक्षमा देखिनुमा पार्टी निमिट्यान्न हुने डरले पनि काम गरेको घुमाउरो तरिकाले एकीकृत समाजवादीले स्वीकारेको छ ।
मंगलबार गरिएको पत्रकार सम्मलेनमा अध्यक्ष नेपालले भने, ‘व्याख्यात्मक घोषणाका लागि हामीले अन्तर्राष्ट्रिय कानुन अध्ययन ग¥यौैं । ट्रिटीमा हुने व्यवस्था हे¥यौं ।’ अन्तर्राष्ट्रिय अभ्यास हेरेर व्याख्यात्मक घोषणाको लागि तयार भएको उनले सुनाए ।
कांग्रेस र एमालेको निरन्तरको संवादले एकीकृत समाजवादी झस्केको थियो । अर्कोतर्फ दलभित्र रहेका ‘हार्ड लाइनर’लाई सहमतिमा ल्याउनु चुनौती थियो । पार्टीभित्र विवाद कायम रहँदै एकीकृत समाजवादी अनुमोदनका लागि तयार भएको थियो ।
एमसीसी सम्झौता नभई एक इन्च पनि अघि बढ्न नसक्ने दृढता देखाउँदै आएका नेकपा एकीकृत समाजवादीका अरु नेताहरु पनि मंगलबार प्रफुल्ल देखिए । एमसीसीमा देखिएको भ्रम हटेको नेताहरुको दलको दाबी छ ।
व्याख्यात्मक घोषणा समेत आफ्नै दलको पहलमा सम्भव भएको भन्दै एकीकृत समाजवादीले जस लिने प्रयास समेत गरेको छ । एमसीसी अनुमोदनको जस लिने होडबाजी सत्ताधारी दलहरुबीच प्रतिस्पर्धाकै रुपमा चलेको छ ।
व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल एकीकृत समाजवादीले नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको दाबी गरिएको छ । एकीकृत समाजवादीका सीमित नेता व्याख्यात्मक घोषणालाई अन्तिम रुप दिने कार्यमा लागेका पनि थिए ।
यद्यपी, एकीकृत समाजवादीको एकल प्रयासले मात्रै व्याख्यात्मक घोषणा सम्भव भएको भने थिएन । ‘गठबन्धन जोगाउन हाम्रो भूमिकामा छ । पार्टी विरुद्धको षड्यन्त्र चिर्न पनि हाम्रो भूमिका छ,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रश्न गरे, ‘आफूले गरेको काममा खुसी हुनुपरेन ?’
वर्तमान सरकार बन्नुमा निर्णायक भूमिका नेता माधव नेपालले खेलेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले उनीप्रति देखाएको सहानुभूतिले पनि गठबन्धन कायम रहेको कतिपयको बुझाइ छ ।
‘माधव नेपालकै कारण हाल समीकरण बनेको हो । उहाँको योगदानलाई प्रधानमन्त्रीले स्मरण गरेर नै गठबन्धन टिकेको हो’ पत्रकार सम्मेलन पश्चात एकीकृत समाजवादीका एक नेताले भने, ‘कांग्रेस र एमाले धेरै नजिकिएका थिए ।’
एमसीसी सम्झौता कार्यान्वयन नेपाल पक्षले अपेक्षा गरे अनुरुप नै हुनेमा एकीकृत समाजवादीमा आशंका भने जीवित देखिन्छ । ‘हामीले यसलाई राष्ट्रिय एजेण्डा बनायौं । अमेरिकाले यसलाई इण्डोर्स गर्नैपर्यो,’ प्रवक्ता खतिवडाले अनलाइनखबरसँग भने, ‘केही समस्या आए एमसीसीलाई अस्वीकार गर्ने क्षमता नेपालले राख्नैपर्छ । कसरी यो अघि जान्छ, टेन्सन अब यही छ ।’
प्रतिक्रिया 4