+
+

करिब ६ हजार रुसी सेना मारिएको युक्रेनका राष्ट्रपतिको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १५:३८

१८ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब ६ हजार रुसी सेना मारिएको दाबी गरेका छन् ।

जेलेन्स्कीले रुसी हमलाको छैटौं दिनसम्म करिब ६ हजार रुसी मारिएको दाबी गरेका हुन् । रोइटर्स समाचार माध्यमले उनलाई उध्दृत गर्दै उक्त संख्या बराबरका रुसी मारिएको जनाएको हो ।

हमलाको सातौं दिन रुसी सेनाले दक्षिणी सहर खेर्शन कब्जामा लिएको समाचार आइरहेका बेला जेलेन्स्कीले रुसी सेनातर्फ ठूलो हताहती भएको दाबी गरेका हुन् ।

रुसले व्यापक दबाब र प्रतिबन्धबीच बम एवं गोलाबारी व्यापक बनाएको छ । सबै लक्ष्य हासिल नहुन्जेलसम्म युक्रेनविरुद्धको सैन्य कारबाही जारी राखिने रुसी रक्षामन्त्रीले बताइसकेका छन् । हमलालाई तीव्रता दिएसँगै मानवीय क्षति समेत बढ्न थालेको छ ।

पूर्वी सहर खार्किभमा भएको गोलाबारीमा २१ जना मारिएको र ११२ घाइते भएको अधिकारीले बताएका छन् । तर हालसम्म के-कति मानवीय क्षति भयो भनेर स्वतन्त्र रुपमा पुष्टि हुन भने सकेको छैन ।

रुसले युक्रेनमा आफ्नो रणनीति बदल्यो

यसैबीच, पछिल्ला दुई दिनमा सहरी क्षेत्रमा बम एवं गोलाबारी बढ्न थालेसँगै रुसले आफ्नो रणनीति बदलेको हुन सक्ने अनुमान गर्न थालिएको छ । रुसी सेनाले हमलाको पहिलो हप्ता कडा प्रतिरोध सामना गरेपछि उसको रणनीति फेरिएको हुन सक्ने अनुमान गरिएको हो ।

रुसी सेनाले खार्किभ, खेर्शन र मारिउपोललाई घेराबन्दी गर्न थालेका छन् । त्यस्तै, राजधानी किएभतर्फ सैन्य बाहनको कैयौं किलोमिटर लामो लस्कर आइरहेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफूहरूलाई कसैले अवरोध गरे इतिहासमा कहिल्यै नभोगेको परिणाम देखिने चेतावनी दिइसकेका छन् । यही कारण सोचे अनुसारको लक्ष्य हासिल नभए रुसले आवविक हतियार समेत प्रयोग गर्न सक्छ । तर, अवस्था त्यहाँसम्म पुगिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?