+
+

प्रमुख दलले वैदेशिक सम्बन्धलाई सत्ताको सिंढी बनाए : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १७:२३

१८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिंढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बलिन पुगेको बताएका छन् ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिंढीको रुपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध खल्बलिन पुगेको बताएका हुन् ।

प्रमुख राजनीतिक दलहरुकै कारण नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलको रुपमा परिणत भएको उनले बताए । उनले दलहरुको सत्ता केन्द्रीत क्रियाकलापका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको बताए ।

अध्यक्ष लिङ्देनले राज्यका प्रमुख तीन अंगका बीचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको उल्लेख गरे ।

उनले भने, ‘अहिले प्रमुख राजनीतिक दलहरुका सत्ताकेन्द्रित क्रियाकलापका कारण गम्भीर संकटतर्फ उन्मुख छ । मुलुकका तीन प्रमुख अंगहरुका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ । वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिंढीको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण हाम्रो वैदेशिक सम्बन्ध पूर्ण रुपमा खल्बलिन पुगेको छ । र नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ ।’

अध्यक्ष लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गरे । देशलाई कम्युनिस्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै उनले कम्युनिस्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै भएको दाबी गरे ।

उनले राप्रपालाई आगामी दिनमा निर्णायक र अग्रणी शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताए । उनले भने, ‘कम्युनिस्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ । र त्यसको नेतृत्व राप्रपाले मात्रै गर्न सक्छ । ’

राप्रपाको केन्द्रीय कार्य समिति बैठक बुधबारदेखि सुरु भएको छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजंग गुरुङले प्रस्तुत गर्नुभएको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गर्नुभएको आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठक बिहीबार पनि बस्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?