१९ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) टिम काठमाडौं रेजर्सले दोस्रो संस्करणमा उपाधि रक्षा गर्ने लक्ष्य लिएको छ । क्लबले बिहीबार पत्रकार सम्मेलन गरी टिमका मार्की खेलाडीका रुपमा विकेश कुथुलाई नै निरन्तरता दिने जानकारी दिएको छ ।
पत्रकार सम्मेलनामा दोस्रो संस्करणका लागि क्लबले विकेश र प्रशिक्षक बालगोपाल महर्जनसँग सम्झौता नवीकरण पनि गरेको छ । अनुबन्धन रकम गोप्य राखिएको छ । क्लबका निर्देशन विज्ञानराज शर्माले चित्तबुझ्दो रकम दिइएको बताए ।
निर्देशक शर्माले पहिलो संस्करणकै प्रदर्शन र सफलतालाई निरन्तरता दिने लक्ष्य रहेको बताए । ‘खेलमा धेरै तत्वहरु हुन्छन् । सबैको साथसहित अगाडि बढ्नेछौं । हामी गर्न सक्छौं,’ शर्माले भने ।
राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथुको कप्तानी तथा बालगोपाल महर्जनको प्रशिक्षणमा काठमाडौं रेजर्सले गत संस्करणको उपाधि जितेको हो । ‘यो वर्ष पनि काठमाडौंमा आवद्ध हुन पाउँदा खुसी छु । गत वर्षजस्तै यो वर्ष पनि टिम सन्तुलित हुनेछ । हामी दुई सय प्रतिशत प्रयास गर्नेछौं,’ मार्की प्लेयर विकेशले पत्रकार सम्मेलनमा भने ।
त्रिभुवन आर्मी क्लबका विकेशले एनएसएलका लागि क्लबसँग रिलिजको प्रक्रियामा रहेको जानकारी दिए । ढिला भएको वा आर्मीले नपठाएको खण्डमा आफूले काठमाडौंबाट नखेल्ने उनको प्रष्टोक्ति थियो ।
तस्वीरहरु: चन्द्रबहादुर आले
प्रतिक्रिया 4