+

तिलोत्तमामा तयार भयो स्केट पार्क

२०७८ फागुन  १९ गते १८:०२ २०७८ फागुन १९ गते १८:०२
तिलोत्तमामा तयार भयो स्केट पार्क

१९ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमामा ४० लाख रुपैयाँ लागतमा नेपालको पहिलो समुदायस्तरको स्केट पार्क निर्माण भएको छ ।

स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा–४ मा १० कठ्ठा क्षेत्रफलमा पहिलो चरणमा स्केट पार्क निर्माण गरेको हो । दोस्रो र तेस्रो चरणमा छात्रवास सहितको आवास गृह, कार्यालय भवनसहित पार्कलाई स्रोत केन्द्रका रुपमा इन्डोर बनाउने गरी साढे २ करोड लागतको योजना बनेको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए ।

स्केट पार्क बनाउन फ्रान्स, जर्मनी, क्यानाडा, स्पेन, जापान, भारत र नेपालका ८० जना खेलाडीले स्वयंसेवकको रुपमा काम गरेका थिए । स्केट पार्कको शनिबार उद्घाटनका लागि स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष टिटस डिटमान सहितको टोली रुपन्देही आइपुगेको छ ।

बिहीबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा संस्थापक अध्यक्ष टिटसले नेपालमा स्केट खेलको राम्रो सम्भावना रहेकाले पार्कले हजारौं नयाँ पुस्तालाई आकर्षित गर्ने बताए ।

उनले समुदायस्तरमा तिलोत्तमामा बनेको स्केट पार्क दक्षिण एसियाकै पहिलो भएकाले स्केट खेलाडीका लागि ठूलो अवसर रहेको बताए । विश्वसनीय र राम्रो साझेदार भएका देशमा मात्रै आफूहरूले स्केट एडको आवद्धता दिने गरेको स्केट एड इन्टरनेशनलका प्रबन्ध निर्देशक टोबिस इगलकाम्पले बताए ।

पार्कको उद्घाटनपछि स्केट खेलको नियमित अभ्यास गराइने स्केट एडका अन्तर्राष्ट्रिय निर्देशक एवं स्केट खेलाडी ग्याविरियल रोमा सन्तोषले बताए ।

स्केट पार्कको अभावका बीच सन् २०१६मा थाइल्याण्डमा भएको मेन्स च्याम्पियनसिपमा नेपाली मिलन शाह र २०२१ मा भारतमा भएको प्रतियोगितामा समीक्षा राई महिलातर्फ र मेन्स च्याम्पियनसिपमा गजेन्द्र बर्देवा प्रथम भएका थिए ।

नेपालमा काठमाडौ, धरान, पोखरा, बुटवलमा गरी २०० भन्दा बढी खेलाडी छन् ।

 

स्केट पार्क
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय