+
+

हवाई इन्धनमा निगमलाई अत्यधिक नाफा, मूल्य नघटाए उडान बन्द गर्ने वायुसेवा कम्पनीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १८:३३

२० फागुन, काठमाडौं । नेपाल आयाल निगमले हवाई इन्धनमा प्रतिलिटिर अत्यधिक नाफा राखेपछि वायुसेवा कम्पनी बिच्किएका छन् । नेपाल आयल निगमले आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर २३.८ रुपैयाँ नाफा राखेर बिक्री गरिरहेको छ ।

निगम र वायुसेवा कम्पनीबीच विगतमा प्रतिलिटर १० रुपैयाँ भन्दा बढी नाफा नराख्ने सहमति विपरीत हवाई इन्धनमा अत्यधिक नाफा राखिएको भन्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले निगमका कार्यकार्य निर्देशकलाई शुक्रबार पत्र लेखेका छन् । उनले अत्यधिक नाफा खाएर इन्धन बिक्री गर्दा त्यसको मार उपभोक्ता यात्रुमा पर्ने भन्दै घटाउन आग्रह गरेका छन् । हवाई इन्धनको मूल्य नघटाएमा इन्धन खरिद बन्द गर्ने र हवाई उडान नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी संघले दिएको छ ।

नेपाल आयल निगमले हवाई इन्धनलाई विलाशीताको वस्तुतर्फ राखेकोमा समेत आपत्ति जनाइएको छ । दैनिक १५ हजारभन्दा बढी आम सर्वसाधारणले हवाई यात्रा गरिरहेको तथ्यांक राख्दै अब हवाई यात्रा धनी वर्गको मात्र पहुँचमा नरहेको समेत संघले बताएको छ । संघले एलपी ग्याँसमा निम्न आय भएका नागरिकलाई सहुलियत दिएर व्यापारिक प्रयोजनमा बढी मूल्य लिन समेत सुझाएको छ ।

सीमा क्षेत्रमा हुने चोरी निकासीमा लगाम लगाएर मुनाफाखोरलाई निरुत्साहित गर्न समेत संघले सुझाव दिएको छ । नेपाल आयल निगमका अनुसार आन्तरिक हवाई इन्धनको खरीद मूल्य ११२.९२ रुपैयाँ हो । यसमा निगमले २३.८ रुपैयाँ नाफा राखेर १३६ रुपैयाँ प्रतिलिटरमा बिक्री गर्छ । हवाई इन्धन (बाह्य)तर्फ निगमले प्रतिलिटर ६० रुपैयाँ नाफा राखेर बिक्री गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?