
राम मन्दिर नजिकैको सत्तलमा एकजना जेष्ठ नागरिक देखिन्छन् । हेर्दा सत्तरी आसपास पुगेजस्ता । शरीरमा पीत वस्त्र । लामा जटा, लामै दाह्री । हातमा एकतारे बाजा । उनको एकतारेबाट एउटै ध्वनि निस्किन्छ- र्याइँर्याइँ र्याइँर्याइँ ।
बाबालाई झरी बादलले छुँदैन । कस्तै हृदयविदारक घटनाले पनि उनको मन रुँदैन । अलिअलि निर्दयी जस्ता । धेरथोर लहडी जस्ता । निधारमा चरुभष्म लेपन । खुट्टामा घुँघरुको खनखन । कतिपय भन्छन्- उनी तेस्रोलिङ्गी हुन् । पहिरन पनि अनौठो छ उनको । कहिले उनी पहेँलो लवेदा सुरुवालमा भेटिन्छन् त कहिले पहेँलै गुन्युचोलोमा देखिन्छन् ।
केही वर्षअघिसम्म बाबा आत्मकथा लेख्ने मुडमा थिए । आधाआधी लेखे पनि । अहिले भने उनको विचार बदलिएको छ । जब मस्कोबाट नेपाल फर्किए, बाबा हरदम एकतारेको धुनमा निमग्न रहन्छन् । उनी आसपासको वातावरणमा एउटै ध्वनि गुञ्जिरहन्छ- र्याइँर्याइँ र्याइँर्याइँ !
बाबाको जन्म पूर्वी नेपालमा भएको थियो । न्वारानको नाम थियो– चन्दनप्रसाद । चन्दनप्रसाद सानैदेखि वाकपटु थिए । एकैछिन गफ चुट्न पायो भने जो कोहीलाई सजिलै पट्याउँथे । उनले युवा उमेरमै हँसिया हथौडायुक्त झण्डालाई साक्षी राखेर मार्क्सवाद लेनिनवादको सपथ खाएका थिए । उमेर तीनबीस कटेपछि भने उनको चन्दनप्रसाद नाम ओझेल पर्यो । उनी चन्दनप्रसाद भन्दा ज्यादा मारफेल नामले चिनिन थाले । यसो हुनुको पछाडि एउटा कहानी छ ।
चन्दनप्रसाद खसीबोका मारहान्नमा सौखिन थिए । जस्तै ठूलो खसीबोका होस् एकै चोटमा छप्काउँथे । परिआउँदा सानातिना राँगा पनि मार हान्थे । गाउँमा खसीबोका, राँगा मार हान्नु परे सबैजना चन्दनप्रसाद उर्फ मारफेललाई सम्झिन्थे । तर क दिन अचम्मको घटना घट्यो ।
दशैँको समय थियो । छिमेकमा आदिवासी समुदायले राँगो किनेर ल्याएका थिए । राँगो मार हान्ने जिम्मा मारफेलले नै पाए । उनले तरबार उठाई राँगोको गर्दनमा छप्काए । तर घाँटीको छाला पनि काटिएन । उनले पुनः दोस्रो पटक राँगाको गर्दनमा मार हाने । यसपटक पनि उही हाल भयो ।
राँगाको घाँटी छिनाल्नु त कता हो कता, गर्दनको रौँ पनि काटिएन ! उल्टै रन्थनिएको राँगो बेपत्तासँग भाग्यो । गाउँलेहरु राँगोको पछिपछि कुदे तर भेट्न सकेनन् ।
महिनौं बित्यो, राँगाको कुनै अत्तोपत्तो मिलेन । त्यही घटनापछि उनको चन्दनप्रसाद नाम छायाँमा पर्यो । गाउँलेहरुले चन्दनप्रसादलाई मारफेल नाम दिए । मारफेल अर्थात मार हान्न फेल (असफल) भएका व्यक्ति !
छ महिनापछिको कुरा हो, दश कोस परको गाउँबाट एउटा बटुवा त्यही बाटो भएर आएको थियो । बटुवाले ठीक त्यही हुलियाको राँगो भीमसेन मन्दिरमा सुरक्षित रहेको जानकारी दियो । उसले भीमसेन मन्दिरको पुजारीले राँगोको संरक्षण गरी राखेको सुनायो ।
साथै ‘उक्त राँगो कालगतिले बाहेक अन्य कारणले मर्न नसक्ने र कसैले उसको प्राण हरण गर्न खोजे हरणकर्ताकै मृत्यु हुने’ भनी भीमसेन मन्दिरको पुजारीले गरेको भविष्यवाणी बतायो ।
बटुवाको कुरा सुनेपछि मारफेलको भोक निद्रा हरायो । उनी भयङ्कर पिरसुर्तामा पर्नथाले । हमेसा झोक्राएर बस्ने गर्थे । डरलाग्दा सपना देख्थे । राँगो सपनामा मारफेललाई लखेट्न आउँथ्यो ।
सिङले उधिन्थ्यो । शरीरमाथि परेड खेल्थ्यो । फलतः मारफेल मनोवैज्ञानिक समस्याले ग्रस्त हुनपुगे । उपचारका लागि भएभरका धामी झँक्रीलाई देखाइयो । भूत, प्रेत, मसान, डंकिनी मन्साइयो । तर बीसको उन्नाइस भएन । तब उनी उपचारार्थ काठमाडौंस्थित मानसिक अस्पतालमा भर्ना गरिए ।
अस्पतालमा राधा नाम गरेकी नर्स थिइन् । सुन्दरतामा कमलको फूलजस्ती । सिस्टर राधाको रुप लावण्य स्वर्गकी अप्सरालाई माथ दिने खालको थियो । उनको बोलीवचन अमृतपान तुल्य थियो । राधाको कोमल हातको स्पर्श मात्रले मनोरोगीको आधा रोग गायब हुन्थ्यो ।
अस्पतालमा सिस्टर राधाले मारफेलको सक्दो हेरविचार गरिन् । राधाको मधुर बोलीवचन, माया–प्रेमका कारण मारफेलमा जीवनप्रतिको आशा जाग्यो । उनी विस्तारै पहिलेको अवस्थामा फर्किन थाले ।
मारफेल गफास्टक थिए । राधालाई देख्यो कि जोक चुटकिला सुनाउँथे । मारफेल राधाको दिल दिमागमा मोहनी मन्त्र बनेर गुञ्जिन थाले । केही महिनामै त्यसले तिलस्मी परिणाम ल्यायो । राधा र मारफेल प्रेमी प्रेमिकामा बदलिए । दुई ज्यान एक प्राण भनेजस्तै भए ।
मारफेलले राधासँग विवाह गर्न चाहेको बाबुआमालाई सुनाए । तर मञ्जुरी मिलेन । कि त राधालाई छोड्नुपर्ने, कि गृहत्याग गर्नुपर्ने कठिन अवस्थामा पुगे मारफेल । कारण थियो अन्तर्जातीय विवाह । बाहुन थिए मारफेल । राधा नेवारकी छोरी थिइन् ।
मारफेल घर छोड्न तयार भए, तर राधालाई छोड्न सकेनन् । मारफेलले राधाको साथ मधुमास बिताए । राधा र मारफेल परेवाका जोडीजस्तै थिए । उनी राधालाई ज्यानभन्दा प्यारो ठान्थे ।
यस्तैमा राधाले माथिल्लो शैक्षिक डिग्री अध्ययनका लागि मस्को प्लान पाइन् । मारफेल पनि राधासँगै मस्को गए । मारफेलले मस्कोमा लेनिनको शालिक अघि उभिएर कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत गाए । लेनिनवाद जिन्दावादको नारा लाए ।
यसरी दुई वर्ष बित्यो ।
विस्तारै विस्तारै राधा र मारफेलको सम्बन्धमा चिसोपना आउनथाल्यो । एउटै छानामुनि रहेर पनि बिरानो जस्तो हुनथाले । अध्ययनको क्रममा राधाको रुसी कमरेडसँग इलुइलु सुरु भयो । अन्ततः राधाले मारफेललाई त्याग्ने कठोर निर्णय लिइन् ।
यसप्रकार मानसिक अस्पतालबाट सुरु भएको मारफेल र राधाको प्रेम कथा वियोगान्तमा टुङ्गियो ।
मारफेल मुटुमाथि ढुङ्गा राखी मस्कोबाट नेपाल फर्किए । नेपाल आगमनपछि उनको जीवनले यू-टर्न लियो । नास्तिक मारफेल पूर्ण आस्तिक हुनपुगे । उनले मार्क्स, एङ्गेल्स, लेनिनको सट्टा ब्रह्मा, विष्णु, महेश्वरलाई गुरु मान्न थाले । अनि काठमाडौं विशालबजार गएर एकतारे बाजा किनिल्याए । त्यस उपरान्त उनको पाइला अयोध्यापुरी राम मन्दिरतिर सोझियो ।
राम मन्दिर प्रवासपछि उनको नाम बदलियो । भक्तजनले उनलाई कमरेड बाबा नाम दिए । मन्दिर पसिरमा उनका सयौं भक्त–अनुयायी छन् । झट्ट हेर्दा सत्तरी आसपास पुगेजस्ता । शरीरमा पीत वस्त्र । लामा जटा, लामै दाह्री । हातमा एकतारे बाजा । राम मन्दिर परिसरमा कमरेड बाबाको एकतारेबाट एउटै ध्वनि निस्किरहन्छ- र्याइँर्याइँ र्याइँर्याइँ ।
बाबाले राम मन्दिर प्रवेश गरेकै साल देशमा ठूलो बाढी पहिरो आयो । तराईको सारा भूभाग डुबान भयो । लाखौं बेघरबार भए । सयौं मरे । त्यही साल परेको बेमौसमी असिनापानीले काट्ने बेला भएको धान खेतमैँ सोत्तर बनायो । किसानहरुबीच हाहाकार मच्चियो ।
त्यही वर्ष अर्को घटना पनि घट्यो । नेपाली महिलाको अस्मिता लुट्ने अमेरिकी विरुद्ध दूतावास अगाडि प्रदर्शनमा उत्रिएका नागरिकमाथि अमेरिकी सेनाले चलाएको गोली लागि तीन जना नेपाली ठहरै भए ।
तर बाबालाई यस्ता कुनै कुराले छुँदैन । कस्तै हृदयविदारक घटनाले उनको मन रुँदैन ।
अलिअलि निर्दयी जस्ता । धेरथोर लहडी जस्ता । निधारमा चरुभष्म लेपन । खुट्टामा घुँघरुको खनखन । कतिपय भन्छन्- बाबा तेस्रोलिङ्गी हुन् । पहिरन पनि अनौठो छ उनको । कहिले उनी पहेँलो लवेदा सुरुवालमा भेटिन्छन् त कहिले पहेँलै गुन्युचोलोमा देखिन्छन् ।
त्यसो त बाबामा पहिले पनि मानसिक समस्या देखिएको हो । राधाले छोडेपछि उनको स्थिति थप पेचिलो बन्न पुग्यो । गएको तीन दिनदेखि बाबाले राधा फिर्ता नपाएसम्म नतोड्ने गरी भोक हडताल सुरु गरेका छन् । यस कार्यमा उनलाई सयौँ भक्तजनको साथ मिलेको छ ।
यतिखेर बाबा र उनका अनुयायी एकनास एकतारे रेटिरहेका देखिन्छन् । उनीहरुको एकतारेबाट एउटै ध्वनि गुञ्जिरहन्छ- र्याइँर्याइँ र्याइँर्याइँ ।
यतिखेर राजधानीको अखबारमा भने एउटा सनसनीपूर्ण समाचार छापिएको छ– ‘कमरेड बाबाको र्याइँर्याइँ विरुद्ध पश्चिम नेपालको डाक्टरद्वारा आत्मदाह !’
प्रतिक्रिया 4