+
+

किशोरीले न्यायालय जान पनि डराउनुपर्ने ?

घटना भए/नभएको प्रमाण जुटाउनपर्ने त्यो पनि पीडितले ? अनि प्रमाणका नाममा पीडितको स्वास्थ्य परीक्षण गरेर कन्याजाली च्यातिए नच्यातिएको प्रमाणपत्र दिने वा माग्ने राज्य तिमी को हौ ? राज्यले पीडितमाथि गरेको झन् ठूलो अपराध हैन यो ?

दुर्गा कार्की दुर्गा कार्की
२०७८ फागुन २१ गते १९:०५

कैलाली भजनी नगरपालिकाकी ५५ वर्षीया रमा दमाई (परिवर्तित नाम) की १७ वर्षीया छोरीमाथि दुई वर्षअघि राति धारामा पानी खान जाँदा बलात्कार भयो । चार छोरीमध्ये साहिंली छोरी ५ भदौ २०७६ मा आमा घरमा नभएको दिन छिमेकीबाट राति बलात्कृत भइन् ।

त्यो दिन पीडितलाई ज्वरो आएको थियो । उनकी आमा रमा माइती गएकी थिइन् । रमाका दाजु बितेका थिए । चार छोरी, दुई छोरा र श्रीमानसहितको परिवार पाल्न रमालाई धौ–धौ थियो । छोराछोरी प्रायः सबै मजदुरी गर्थे । दुई जना छोरासहित जेठी र माइली छोरी भारतमा मजदुरी गर्न गएका थिए । साहिंली र कान्छी छोरी उनले घरमा नै राखेकी थिइन् । उनीहरू पनि मजदुरीमा जान्थे ।

१० धुर जग्गामा एउटा घर र नल्का थियो । त्यही नल्कामा राति पानी खान निस्कँदा छिमेकीबाटै १७ वर्षीया बालिका बलात्कृत भइन् । छोरीले राति रुँदै फोन गरेपछि रमा बिहानै घर आइन् । प्रहरीमा जाहेरी दिइन् । यति बेलासम्म आरोपित भागिसकेको थियो । ऊ पक्राउ परेन । आरोपी भागेपछि घटना यत्तिकै सेलायो । पेट पाल्न संघर्षरत उनी छोरीको न्यायका लागि रातदिन प्रहरीमा धाउन सकिनन् । उनले न्याय पाइनन् ।

राज्यबाट न्याय त पाइनन् नै समाजले उनीमाथि थप अन्याय गर्‍यो । पीडकका परिवारबाट उनले रातदिन धम्की र दबाब बेहोर्नुपर्‍यो । रमा भन्छिन्, ‘तेरी छोरीका कारण मेरो छोरोले घर छोड्नुपर्‍यो भन्दै दैनिक गाली खानपर्छ ।’ यो घटनापछि रमा र उनका छोरीहरूलाई गाउँलेको हेर्ने नजरमा पूरै परिवर्तन भयो । उनका छोरीहरूलाई समाजले विभिन्न लाञ्छना र आरोप लगाउन थाले । पीडित घरमा बस्न सकिनन्, दिदी भिनाजुसँग काम गर्न भारत गइन् ।

कुरा यतिमै टुंगिएन । त्यसको ८ महिनापछि २ वैशाख २०७७ मा घरबाट एक किलोमिटर दूरीमा गोठालो गएकी उनकी कान्छी छोरीमाथि सामूहिक बलात्कार भयो । उनकी कान्छी छोरीलाई जोशीपुर गाउँपालिकाका वडा सचिव लगायत तीन जनाले बलात्कार गरे भन्ने खबर उनले प्रहरीबाट पाइन् । छोरीमाथि बलात्कार भयो, न्याय देऊ भनेर यसपालि प्रहरीमा गइनन् । प्रत्यक्षदर्शीले घटना भएको देखेर प्रहरीलाई खबर गरिदिए । तीन जना आरोपीलाई प्रहरीले पक्राउ पनि गर्‍यो ।

रमालाई यसअघिकै घटनाले न्यायप्रतिको आश मरिसकेको थियो । फेरि पनि उजुरी दिए त्यो ठाउँमा आफू नबसे हुने आकलन उनले गरिसकेकी थिइन् । प्रहरीले रमासँग प्रमाणहरू माग्यो । उनले छोरीको जन्मदर्ता नै लुकाइदिइन् । भन्छिन्, ‘१५ वर्षकी छोरी सामूहिक बलात्कार हुँदा पनि मैले मुद्दा नहाल्ने सोचें, किनभने साहिंली छोरीको बेलामा बलात्कारको मुद्दा दर्ता गर्दा म बसेको गाउँका सबै मानिस बोल्न छोडे, अब यो घटनाविरुद्ध गएर म गाउँलेको बहिष्कारमा पर्न चाहन्नँ ।’

कान्छी छोरीलाई बलात्कार गर्ने सबै थारू समुदायका थिए । अब उनीहरू पनि बोल्दैनन्, गाउँको दुश्मनी हुन्छ भनेर उनले मुद्दालाई अगाडि बढाउन सकिनन् । बरु छोरीलाई घटना भएकै होइन भन्न लगाइन् र आफूले पनि त्यसै भनिन् । विभिन्न संघसंस्थाले उनलाई न्यायका लागि प्रमाणहरू जुटाउन पहल गरे तर उनले मेरो आफ्नै ठाउँमा मलाई बस्न खान दिनुस् भनेर मुद्दामा जान मानिनन् ।

‘चौधरीको नल्काको पानी खान्छु, फेरि मुद्दामा गएँ भने पानी पनि खान दिंदैनन्’ रमा भन्छिन् । ‘मैले यो घटना झुटो हो, मेरी छोरीलाई बलात्कार भएको छैन भनेर लुकाउनुपर्ने बाध्यता मेरो गरिबीले सिर्जना गर्‍यो । मुद्दा मामिला गरें भने मलाई पानी पनि खान पाउन गाह्रो छ’, उनले रुँदै थपिन् ।

यो मुद्दामा पीडितको न्यायका लागि पहल गर्न सघाउने सामाजिक कार्यकर्तालाई समेत धम्की आयो । ‘त्यो केटी नै उत्ताउली हो, किन उसको पछि लागेको भनेर वडा अध्यक्ष, स्थानीय नेताहरूले नै धम्क्याए’ यो मुद्दालाई नजिकबाट हेरिरहेकी ओरेक कैलालीकी सामाजिक कार्यकर्ता विष्णु रेग्मी भन्छिन् ।

यो घटनापछि पीडितलाई समाजले मात्रै लाञ्छना लगाएन, परिवारले समेत लगायो । बालिका मानसिक रूपमा यति कमजोर भइन् कि, उनलाई कैलालीस्थित ओरेक नेपालको सुरक्षित आवासमा राखियो र निरन्तर मनोविमर्श सेवा दिइयो ।

यो हो हाम्रो सामाजिक परिवेश, पीडितप्रति यहाँको न्याय प्रणाली र समाजले गर्ने व्यवहार । अनि एक गरिब, महिला त्यसमाथि दलितको आम अवस्था । गरिबी र समाजले दिने यातना र लगाउने लाञ्छनाको डर न्याय नपाउनु भन्दा कति हो कति भयानक हुन्छ ।

यो कुरा यस्तो घटना भोग्नेलाई मात्र थाहा हुन्छ र त समाज सर्लक्कै पीडक पक्षमा खुलेआम लाग्छ । नाराबाजी गर्छ, पीडितको कमजोरीको फाइदा उठाउँछ, बाध्यतामा खेल्छ । फकाउँछ, प्रलोभन दिन्छ । नमाने धम्क्याउँछ । त्यो पनि तेरो बेइज्जत गरिदिन्छु, मारिदिन्छु भनेर ।

अहिले बलात्कारका आरोपित पल शाहको पक्षमा उर्लिएको भीडको मानसिकता यही हो । ‘गल्ती त ती नाबालिकाको हो, उसले पो सोच्नुपर्ने !’ समाज यसै भन्छ, भनिरहेको छ । महिलाको चरित्रको ठेक्का लिएका ठेकेदारहरूले पुरुषको चरित्र पुरुषार्थ हो भन्छन् । केटा मान्छे हो, केटी भेटेपछि छोड्छ ? केटीकै गल्ती हो, वा पुरुष त भँवरा हो फूल देखेपछि झ्याम्मिन्छ, केटी नै बचेर हिंड्नुपर्छ भन्ने विषाक्त भाष्य निर्माण गरेर समाजमा बलात्कारीको संख्या बढाउने वास्तवमा यही समाज नै हो ।

हामी बारम्बार भन्छौं– मान्छे शिक्षित भए भने यस्ता घटना आफैं कम हुन्छन् । हो, शिक्षाले केही जीविकोपार्जनमा सघाउला, आयआर्जन गर्न प्रमाणपत्रहरू बिक्लान् तर शिक्षाले मानिसलाई चेतनशील नबनाउँदो रहेछ । चेतना र शिक्षा फरक कुरा रहेछ । नभए अहिले पल शाहको पक्षमा तथाकथित सेलिब्रिटीसहितको भीड लाग्ने थिएन ।

यदि चेतना हुन्थ्यो भने एकजना १३ वर्षीया बालिका आफ्नो हजुरबा उमेरको व्यक्तिबाट बलात्कृत भएर मारिने थिइनन् । कसैले बलात्कार गरेर मार्‍यो भने मात्रै पीडितप्रति संवेदना देखाए जस्तो गर्ने हाम्रो मानसिकता जबर्जस्त बन्दैछ ।

‘पुरुष हो, अलिअलि बदमासी त चलिहाल्छ नि !’ छोराहरूलाई यस्तै शिक्षा दिएर हुर्काइएका कारण समाजमा कलिला छोरी असुरक्षित भइरहेका छन् । नाबालिकाहरूलाई फकाउन, धम्क्याउन र उस्तै परे ज्यान लिन समेत सजिलो हुने हुनाले उनीहरूमाथिको जोखिम अत्यन्तै बढेको छ ।

प्रहरीको तथ्याङ्कले यसै भन्छ । आर्थिक वर्ष २०७७ साउनदेखि २०७८ असारसम्मको अवधिमा ११ देखि १८ वर्ष उमेरका एक हजार ८५३ बालिकामाथि बलात्कार भएको तथ्यांक नेपाल प्रहरीसँग छ । यो उमेर समूह अत्यन्तै जोखिममा रहेको र तथ्यांकमा समेत यस्तो देखिएकाले राज्यले १८ वर्षमुनिका बालिकासँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि बलात्कार मानिने कानुन बनेको हो ।

अहिले तत्कालको घटना र पीडकको पक्षको भीड देख्दा हामी आफैं यी घटना बढ्नुमा मुख्य दोषी हौं भन्ने लाग्छ । हामीले यस्ता जघन्य अपराधलाई समेत अति नै सामान्यीकरण गरिरहेका छौं । त्यो पनि जबसम्म आफ्नामाथि यस्तो दुर्घटना नपरेसम्म । भोलि आफ्नै छोरी, दिदीबहिनीमाथि यस्तो घटना भयो भने कुन मुखले अन्याय भयो भनेर बोल्ने हो भन्ने ठाउँ समेत हामीले राखेका छैनौं ।

अहिले आइरहेका पीडकका पक्षका अभिव्यक्तिले पीडक र सम्भावित पीडकहरूको मनोबल उकासिन्छ र बलात्कार बढ्न सक्छ भन्नेतिर हामीले सोचेका छैनौं ।

अर्कोतर्फ बालिकामाथि यतिविधि त्रास, धम्की र हिंसा हुँदा उनलाई र उनको परिवारलाई संरक्षण दिने दायित्व राज्यको हुनुपर्ने हो । प्रहरी चौकी अगाडि नै पीडकको पक्षमा नाराबाजी गर्नेहरूले उनी, उनको घरपरिवार र आफन्तको हालत के बनाए होलान् ? पीडकको पक्षमा प्रहरी कार्यालयमै दैनिक नाराबाजी हुँदा प्रहरी मूकदर्शक बन्नु अर्को आश्चर्य हो । समाज र राज्यको यही व्यवहारले भोलि पीडितले तल–माथि गरिन् भने जिम्मेवार को हुन्छ अनि कारबाही कस–कसलाई गर्ने ?

हाम्रो राज्यको संरचना कति असंवेदनशील छ भन्ने कुरा उजुरी दिने प्रक्रिया र पन्छिने प्रवृत्ति हेरे पुग्छ । एकजना पीडितले आफूमाथि भएको अपराधविरुद्ध देशको जुनसुकै ठाउँको प्रहरीमा उजुरी दिन पाउनुपर्ने हैन ? उसको मनोबललाई झन् बढी कमजोर बनाउँदै जहाँ जहाँ उमाथि अपराध भयो, त्यहीं त्यहीं उजुरी दिन जानुपर्ने यो कस्तो नियम हो ? कुनै पनि नागरिकमाथि अपराध भएमा राज्यले संरक्षण दिएर उसको कानुनी अधिकार सुरक्षित गर्नुपर्नेमा पीडितलाई ठाउँ ठाउँमा भौंतारिन लगाउनु अर्को अपराध हो ।

त्यसैगरी घटना भए/नभएको प्रमाण जुटाउनुपर्ने त्यो पनि पीडितले ? अनि प्रमाणका नाममा पीडितको स्वास्थ्य परीक्षण गरेर कन्याजाली च्यातिए नच्यातिएको प्रमाणपत्र दिने वा माग्ने राज्य तिमी को हौ ? पीडितलाई झन् धेरै पीडित बनाउने यो तिम्रो कस्तो नियम हो ? पीडकले नै अपराध स्वीकारिसकेपछि तिमी को हौ कन्याजाली परीक्षण गर्ने ? राज्यले पीडितमाथि गरेको झन् ठूलो अपराध हैन यो ?

ए राज्य सञ्चालकहरू हो ! एउटा कुरामा कान खोल ! अहिले पीडकको पक्षमा भइरहेको नाराबाजी हेर । पीडितलाई लगाइएका चारित्रिक लाञ्छनाहरू सुन । पीडितप्रति यस्तो निकृष्ट व्यवहार गर्ने र महिलाप्रति अति नै पूर्वाग्रही दृष्टिकोण राख्ने सामाजिक संरचनालाई जितेर ‘म बलात्कृत भएँ, मलाई फलानोले बलात्कार गर्‍यो’ भन्न सजिलो छ ?
अनि तिमीलाई कन्याजाली च्यातिएको नच्यातिएको रिपोर्ट चाहिने ?

यी र यस्तै हर्कतले पीडितमुखी न्याय नहुँदा हो समाजले पीडितमाथि नै लाञ्छना लगाउन मनोबल बढाउने । यही व्यवहारका कारण राज्यको न्याय प्रणालीप्रति भरोसा राखेर न्याय खोज्न आउने हिम्मत महिलामा आएको छैन । न्याय चाहियो भन्दै न्यायालयसम्म पुग्ने आँट गर्नु भनेको लगभग महिलाले आफ्नो मनोबल गिराउनु हो, आत्मसम्मानलाई मारेर निरीह हुनु हो । राज्य र समाजका अघि आत्मसमर्पण गर्नु हो ।

बरु निदाएकोलाई ब्युँझाउन सजिलो होला, निदाएको जस्तो गर्नेहरूसँग सकिन्न । समाजमा निदाएजस्तो गर्ने प्रवृत्ति बढिरहेको छ । हामी भन्छौं– समाज चेतनशील हुँदैछ, सभ्य हुँदैछ तर हैन । घटना हेर्दा समाज झन् झन् जडवादी, पश्चगामी र कट्टरपन्थी हुँदैछ । यसलाई बदल्न फलामको चिउरा चपाउनु सरह हुनेछ । चुनौती झन् धेरै बढ्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?