+
+

देखिनै छोडे डोको, डालो, थुन्से र भकारी

रासस रासस
२०७८ फागुन २१ गते १८:४०

२१ फागुन, गलेश्वर । प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण म्याग्दीका ग्रामीण भेगबाट परम्परागत रुपमा प्रयोग गरिँदै आएको डोका, डाला, थुन्से र भकारी लोप हुँदै गएका छन् ।

केहीवर्ष अघिसम्म गाउँघरमा कृषि कर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन् । यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौंदेखि डोको डालो, थुन्से र भकारी बुनेर विभिन्न ठाउँमा लाग्ने मेला, पर्व तथा गाउँघरमा पुर्‍याइ बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।

तर, पछिल्ला केही वर्षयता कृषिजन्य आयातित सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चापदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको बेनी नगरपालिका– ३ का भविन्द्र विकले बताए । उनका अनुसार गाउँगाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुका सामग्रीको प्रयोग, बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा सङ्कटमा परेको हो ।

डेढदशक अघिसम्म बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्नो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा यही पेसाका भरमा जीविकोपार्जन गर्दै आएका कैयौं व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन् ।

‘बाँस र निगालो पाउन छाडेपछि आय–आर्जनको बाटो बन्द भएको छ’, मालिका गाउँपालिका–२ रुमका तुलबहादुर विकले भने, ‘परिवार पाल्न धौधौ भएको छ ।’ बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको उनले भने ।

गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको बेनी नगरपालिका– २ बगरफाँटका टेकबहादुर कार्कीले बताए ।

‘गाउँघरमा गोरुबाट गर्ने काममा ट्याक्टर प्रयोग गर्न थालिएको छ, अन्न राख्नका लागि बजारबाट ड्रम वा प्लास्टिक र स्टिलका भाँडा ल्याएर प्रयोग गरिन्छ, अब बाँस, निगालाबाट बुनेका सामग्री त लोप नै भइसकेका छन्’, कार्कीले भने ।

टाढाबाट कच्चापदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागतखर्च अनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको उनीहरुको गुनासो छ । सो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रति डोकोलाई ३०० देखि ५०० रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।

यस्तै डालो, भकारी, मानो र नाङ्लो रु आठ सयदेखि रु तीन हजारसम्ममा बिक्री गर्दै आएका छन् । युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो ।

निर्माण गरिएका सामग्रीको पनि बिक्री गर्न बजारको समेत अभाव छ । नजिकैका गाउँबस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?