+
+

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते ७:३७
फाइल तस्वीर

२२ फागुन, काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज ११ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने बताए । त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ ।

केन्द्रीय समिति बैठक अघि पार्टी अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा व्यस्त छन् । माओवादीको केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि सुरु भए पनि गृहकार्य गर्नका लागि भन्दै शनिबारको दिन बैठक स्थगित गरिएको थियो ।

गत पुस ११ गतेदेखि १८ गतेसम्म चलेको माओवादीको आठौं महाधिवेशनबाट पारित विधानमा केन्द्रीय समिति २९९ सदस्यीय हुने उल्लेख छ । तर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गर्दै महाधिवेशन सम्पन्न गरिएको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिएको थियो । १५ सदस्यीय पदाधिकारीका अन्य पदहरु भने दुई महिनादेखि रिक्त छन् ।

माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

अध्यक्षपछिको शक्तिशाली पद महासचिव भएकाले बढी चासो यसै पदमा छ । महासचिव पदमा अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, देव गुरुङ दाबेदार र पम्फा भुसाल दाबेदार छन् ।

नेकपा माओवादी केन्द्रको शुक्रबारदेखि सुरु केन्द्रीय समितिको बैठकले विभिन्न ६ वटा एजेण्डा तय गरेको थियो । एमसीसीलाई संसदबाट अनुमोदन गर्न पार्टीले सघाएको विषयलाई लिएर माओवादीभित्र अन्तरविरोध भइरहेका बेला केन्द्रीय समितिको बैठकमा यसलाई प्राथमिकतामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?