+
+

‘महिलाका लागि मात्रै राज्य किन गरिब हुन्छ ?’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १०:३०

२४ फागुन, काठमाडौं । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले महिलाका लागि मात्रै राज्य किन गरिब हुन्छ भनेर प्रश्न गरेकी छन् ।

नेपाली महिलाको क्षेत्रमा काम गर्न बनाइएको संवैधानिक अंग (राष्ट्रिय महिला आयोग) २० वर्षको भइसक्दा पनि आफ्नै कार्यालय नभएको भन्दै उनले यो प्रश्न गरेकी हुन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भनिन्, ‘राष्ट्रिय महिला आयोग स्थापना भएको १९ वर्ष पूरा भई २० वर्ष लाग्यो तर अहिलेसम्म राष्ट्रिय महिला आयोगको केन्द्रीय कार्यालय नै छैन । महिलाका लागि नै किन गरिब हुन्छ राज्य सबैका लागि किन हुँदैन ?’

स्थानीय तहमा सबै कार्यालय हुँदा महिला कार्यालयहरु हटाइनुले पनि धेरै समस्या थपेको उनले बताइन् । उनले राष्ट्रिय महिला आयोगको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्लामा सञ्जाल बिस्तार गर्ने दृढ इच्छाशक्तिका साथ आफूहरुले काम गरिरहेको बताइन् ।

यसअघिका नेतृत्वहरुले महिला हकहित सम्बन्धी निर्देशिका बनाएर काम नगर्नुले पनि महिला आयोग कति कमजोर छ भन्ने कुरा स्पष्ट हुने उनले बताइन् ।

अहिले आवश्यक निर्देशिकाहरु बनाएर महिला हकहितका कामलाई तीव्रता दिइएको बताउँदै उनले भनिन्, ‘राष्ट्रिय महिला आयोगले रफ्तारमा काम गर्दैछ । हामीलाई काम गर्न कानुनी कुराको पनि समस्या छ । स्थानीय निकायलाई मजबुत बनाउने भनेको तत्काल उद्धारका लागि कि त पुरानो महिला विकास शाखा पहिलाको जस्ताको त्यस्तै राख्नुपर्छ । कि त राष्ट्रिय महिला आयोग स्थानीय निकायमा सञ्जाल बिस्तार गरेर न्याय दिनुपर्छ ।’

उनले स्थानीय तहमा भएको न्यायिक समितिलाई बलियो बनाउनु पर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?