२४ फागुन, काठमाडौं । जानुका पाण्डे मंगलबार पनि सधैंझै बिहान ६ बजे नै सागसब्जी बेच्न ठेला लिएर निस्किइन् । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस उनका लागि विशेष छैन । रौतहटकी उनले काठमाडौंमा सागसब्जी बेच्न थालेको चार वर्ष भयो ।
दुई छोरी र श्रीमान रौतहटमै छन् । दुई वर्ष वैदेशिक रोजगारी गरेर फर्किएका उनी घर वाइरिङको काम गर्छन् । तर स्वास्थ्य समस्याका कारण नियमित काममा जान सक्दैनन् । डाक्टरले कलेजोमा बोसो जमेको भनेको छ । चिसोमा काम गर्न सक्दैनन् ।
जानुका बुद्धनगरमा दिदीहरुसँग बस्छिन्, ठेलामा तरकारी बेच्दै ललितपुरको कुपन्डोल, ज्वागलसम्म पुग्छिन् । कमाएको पैसा घर पठाउँछिन् । ‘आफ्नै परिश्रमले खाइरहेको छु । छोरी र श्रीमानलाई खर्च दिइरहेको छु । कसैसँग माग्नुपरेको छैन त्यो भन्दा ठूलो कुरा के हो र’ जानुका भन्छिन् ।
ललितपुरको ज्वागलमा मासु पसल गरिरहेकी सरिता शाहीले पनि मंगलबार विहानै पसल खोलिन् । सरकारले महिलालाई विदा दिएको छोराछोरीबाट थाहा पाइन् । ‘मैले पनि विदा लिए त अरुको विदा नरमाइलो होला भन्छु’ विदाको दिन मासु खाने धेरै नेपालीको चलनतिर इंगित गर्दै उनले भनिन् ।
१८ वर्षदेखि मासु पसल चलाइरहेकी सरिताको श्रीमान मिस्त्री काम गर्छन् । उनको कमाइले छोराछोरी पढाउन, घरखर्च चलाउन मुश्किल भयो । त्यसपछि आफैं केही गर्नुपर्छ भन्ने सोचले उनले मासु पसल खोलिन् ।
‘आफ्नो कमाइ भयो भने श्रीमानले कति पैसा देलान्, कहिले देलान् भन्नुपरेन । आफैं कमायो भने समयमा छोराछोरीको फिस (फी) तिर्न पायो भने ढुक्कले पढ्छन्’ उनले भनिन् ।
ललितपुर खोकनाकी सरिता विहान ६ बजे घरबाट निस्किन्छिन् र बेलुका ७ बजे पुग्छिन् । उनले अहिलेसम्म कुनै दिन विदा लिएकी छैनन् । कहिलेकाहीँ पारिवारिक जमघट र भोज परेको दिन चाँडै पसल बन्द गर्छिन् । ‘विदा भएर के गर्नु ? हामी जस्ता श्रमिकले बिहान बेलुका खानैपर्छ’ उनी भन्छिन् ।
सबै मानिसले आफूले जानेको र सकेको काम गर्नुपर्छ भन्ने मान्यता छ सरिताको । भन्छिन्, ‘अरुको आश गरेर बस्नुभन्दा जति सकिन्छ त्यति आफैं गर्नुपर्छ । आफ्नै कमाइ खानुको रमाइलो बेग्लै हुन्छ ।’
आफ्नै मिहेनतले पैसा कमाउँदाको आनन्द वीरगञ्जकी रिङ्कु यादवले काठमाडौं आएपछि महसुस गरिरहेकी छिन् । बुद्धनगरमा गुम्ती पसल चलाइरहेकी रिङ्कु कुनै सार्वजनिक विदामा फुर्सद लिन्नन् । मंगलबार छोराछोरीको स्कुल विदा भएको थाहा छ । तर उनलाई त्यसको परवाह छैन ।
रिङ्कु छोराछोरी पढाउन श्रीमानको साथ लागेर काठमाडौं आएको ६ वर्ष भयो । प्लम्बर काम गर्ने श्रीमान काममा जान्थे । बालबच्चा विद्यालय । दिनभरि कोठामा विना काम बस्दा दिक्क भएकी उनले पसल खोल्ने इच्छा राखिन् । श्रीमानको सहयोगमा गुम्ती पसल राखेपछि दिनभरि त्यहीँ काम गर्छिन् ।
वीरगञ्जमा उनीहरुको चिउरा मिल, तीनवटा थ्रेसर थियो । तर त्यहाँ के काम गर्नुपर्छ, कति कमाइ हुन्छ भन्ने उनलाई थाहा थिएन । काठमाडौं आएपछि खोलेको गुम्ती पसलको कमाइले उनमा आत्मविश्वास बढाएको छ । गुम्ती पसलको आडैमा चिया पसल पनि चलाइन् । दुई जनाको कमाइले खर्च धानिरहेको थियो ।
तर कोरोना महामारीको समयमा श्रीमान र उनी दुबैको काम बन्द भयो । महामारी कम हुँदै गएपछि गुम्ती पसल मात्रै खोलिरहेकी छिन् । भन्छिन् ‘अलि अलि पैसा हुन्छ । आफूले कमाउन सक्दा आनन्द हुनेरहेछ ।’
फूलमाया परियार हिजोआज चारवटा घरमा घरेलु श्रमिकको काम गर्छिन् । अखिल नेपाल घरेलु श्रमिक संघमा आवद्ध उनलाई मंगलबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्ने थाहा छ । तर काममा नगई हुँदैन । ‘हप्तामा एक दिन त विदा पाउनुपर्ने हो, तर संस्थागत काम नभएकोले नहुने रहेछ । बिदा दिने हो भने किन काममा राख्ने भन्छन्’ उनले बाध्यता सुनाइन् ।
हप्तामा एक दिन विदा पाए घरको काम सक्न पाइने र आराम पनि हुने उनलाई लाग्छ । तर हरेक दिन बिहान ६ बजे निस्कने उनी एउटा वा दुईवटा घरको काम सकेर खाना खान आउँदा ११ बजिसक्छ । त्यसपछि एकछिन आराम गर्न नपाई अरु घरमा पुग्छिन् । सामान्यतया घर फर्किदा साँझको सात बज्छ ।
काम गर्ने घरमा पाहुना आउँदा वा कुनै चाडपर्व पर्दा काम थपिन्छ । त्यस्ता दिनमा घर फर्किँदा ९ पनि बजेको छ । ‘हामीजस्ता महिलालाई सरकारले दिएको विदा र कार्यक्रमले केही फरक पार्दैन’ फूलमाया भन्छिन् ।
प्रतिक्रिया 4