+
+
स्थानीय तहको कार्यसम्पादन मूल्यांकन :

डडेल्धुराको अजयमेरु गाउँपालिका उत्कृष्ट, सप्तरीको छिन्नमस्ता कमजोर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १०:२८

२५ फागुन, डोटी । स्थानीय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ ।

फागुन १८ गते आफ्नो वेवसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका सबैभन्दा बढी ७८.६९ अंक प्राप्त गरी पहिलो भएको छ । यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका ३५.०४ अंक ल्याइ सबैभन्दा पछि रहेको देखिन्छ ।

अजयमेरु गाउँपालिकासहित उत्कृष्ठ अंक ल्याउने स्थानीय तहहरूमा मुस्ताङको घेकर दामोरकुण्ड गाउँपालिका (७७.११), कैलालीको कैलारी गाउँपालिका (७६.४९), कञ्चनपुरको भीमदत्त नगरपालिका (७६.३८) र गुल्मीको धुर्कोट गाउँपालिका (७६.५४) रहेका छन् ।

डोटीमा कुन स्थानीय तहको अति अंक ?

कार्यसम्पादन मुल्याङ्कनमा डोटीका नौ स्थानीय तहहरुमध्ये दिपायल सिलगढी नगरपालिका अगाडि देखिएको छ । यस नगरपालिकाले ७३.०८ अंक प्राप्त गरेको छ । यस्तै सायल गाउँपालिकाले सबैभन्दा कम ४१.१७ अंक प्राप्त गरेको छ ।

के आई सिंह गाउँपालिका ६४.०८ सहित दोस्रो स्थानमा रहेको छ । यस्तै बडीकेदार गाउँपालिका तस्रो (५९.९३), शिखर नगरपालिका चौथो (५८.७२), जोरायल गाउँपालिका पाँचौं (५५.१०), पूर्वीचौकी गाउँपालिका छैटौं (५३.१३), आदर्श गाउँपालिका सातौं (५०.७०) र वोगटान फुड्सिल गाउँपालिका आठौं (४५.८७) स्थानमा रहेको छ ।

नेपाल सरकारले आर्थिक वर्ष ०७९/०८० मा लागि आयोगको सिफारिसमा प्रदान गर्ने वित्तीय समानीकरण अनुदानभित्र कार्यसम्पादनमा आधारित अनुदान सिफारिस प्रयोजनका लागि उक्त मूल्याङ्कन गरिएको आयोगले जनाएको छ । नतिजा सार्वजनिक गर्दै आयोगले उक्त नतिजा चित्त नबुझेका स्थानीय तहहरूले सात दिनभित्र ठोस प्रमाणसहित निवेदन दिन भनेको छ ।

सामान्य मापदण्ड पनि पूरा गर्दैनन् स्थानीय तहहरू

आयोगले स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कका लागि १७ वटा सूचकहरु निर्धारण गरेको छ । पहिलो सूचकमा स्थानीय तहहरुले आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान असार १० गतेभित्र सभामा पेस गरे/नगरेको हेरेको छ । सायल गाउँपालिकाले उक्त सूचक पूरा नगरेको देखिन्छ । यस्तै आगामी वर्षको राजश्व तथा व्ययको अनुमान असार मसान्तभित्र सभाबाट स्वीकृत गरे/नगरेको भन्ने सूचक शिखर नगरपालिकाले पुरा गरेको छैन ।

स्थानीय तहले घर जग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वाफत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनु पर्ने ४० प्रतिशत रकमको विषयमा जिल्लाका कुनै पनि स्थानीय तहसंग तथ्याङ्क नगरेको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहले आगामी आर्थिक वर्षको लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण चालु आर्थिक वर्षको पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गर्नु पर्ने सूचक पनि जिल्लाका कुनै स्थानीय तहले पनि पूरा गरेका छैनन् ।

वार्षिकसमीक्षा गरी त्यसको विवरण कात्तिक मसान्तभित्र सार्वजनिक गर्नु पर्ने सूचक दिपायल सिलगढी, आन्तरिक राजश्व संकलनको प्रक्षेपित लक्ष र आन्तरिक राजश्व संकलन कति भयो भन्ने तथ्याङ्कसमेत डोटीका स्थानीय तहले उपलव्ध नगराएको प्रतिवेदनमा उल्लेख छ ।

संचित कोष व्यवस्थापन प्रणाली (सूत्र) मा भने जिल्लाका सबै स्थानीय तहरु प्रविष्ट भएका छन् । जिल्लाका दिपायल सिलगढी, शिखर र बडीकेदार गाउँपालिकाले मात्रै आवधिक योजना निर्माण गरेका छन् ।

बेरुजुमा चुर्लुम्मै डुबेका स्थानीय तह

आयोगको मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका नौवटै स्थानीय तहको ३४ करोड ३३ लाख १७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।सबैभन्दा बढी आदर्श गाउँपालिकाको नौ करोड ६९ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा कम दिपायल सिलगढी नगरपालिकाको एक करोड ५६ लाख २४ हजार रहेको देखिएको छ ।

जोरायल गाउँपालिकाको ६ करोड ६५ लाख ६८ हजार, बोगटान फुड्सिल गाउँपालिकाको चार कराड २० लाख ६४ हजार र वडीकेार गाउँपालिकाको तीन करोड ९६ लाख २६ हजार बेरुजु देखिएको छ ।

यस्तै शिखर नगरपालिकाको तीन करोड ६३ लाख ९८ हजार, सायल गाउँपालिकाको दुई करोड ५० लाख ३३ हजार, पूर्वीचौकी गाउँपालिकाको दुई करोड ३२ लाख ७७ हजार र के आई सिंह गाउँपालिकाको दुई करोग तीन लाख २६ हजार वेरुजु रहेको प्रतिवेदनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?