
२४ फागुन, पोखरा । ‘स्मार्ट सिटी’को लक्ष्य लिएर अघि बढेको एउटा शहर पूर्ण बन्न केके चाहिएलान् ? सडक ? प्रयाप्त भौतिक संरचना ? सुविधा सम्पन्न स्कुल, कलेज र अस्पताल ? वा अन्य केही पूर्वाधार ?
वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यान’ यीबाहेक पनि कला, साहित्य र संस्कृतिको सम्मानविना पनि एउटा सहर पूर्ण नहुने बताउँछन् । एउटा सहर पूर्ण रुपमा ‘सहर’ बन्न ग्यालरी, पुस्तकालय र संग्रहालय पनि अनिवार्य हुनुपर्ने उनको मत छ ।
‘एउटा महानगर महानगरजस्तो, सहर सहरजस्तो हुन जति अन्य पूर्वाधार आवश्यक पर्छ त्यहाँ पुस्तकालय, ग्यालरी, म्युजियम पनि चाहिन्छ,’ वात्स्यान भन्छन्, ‘यी चिजलाई समेट्न सकिएन भने महानगर पूर्ण हुँदैन । महानगर भन्ने कला देखाउने ठाउँ पनि नहुने यस्तो कसरी हुन्छ ?’
पोखरा क्षेत्रफलका हिसाबले देशकै ठूलो महानगर हो । कलाकारिताका हिसाबमा भने काठमाडौं पछिको दोस्रो क्रियाशील शहर मानिन्छ । वरिष्ठ कलाकार वात्स्यानकै भनाइलाई आधार मान्ने हो भने काठमाडौं पछि कला र कलाकारको जम्बो उपस्थिति पोखरामा छ ।
तर कला, साहित्यलाई प्रवर्द्धन र सम्वर्द्धन गर्दै समाज रुपान्तरणको माध्यम बनाउने घोषणापत्रमै उल्लेख गरेर अघि बढेको पोखरा महानगरमै भने कलाकार, चित्रकारले आफ्नो कला प्रदर्शन गर्ने एउटा ग्यालरीसमेत अभाव छ ।
फोटो, चित्र प्रदर्शन गर्न पोखरा, महेन्द्रपुलस्थित साँघुरो क्षेत्रमा रहेको पोखरा आर्ट ग्यालरी छ । तर, त्यो पनि त्यहाँबाट अन्यत्रै खुला ठाउँमा सार्ने महानगरले निर्णय गरेको करिब तीन वर्ष बित्न लाग्दासमेत योजनामै थन्किएको छ ।
पोखराको व्यस्त बजार क्षेत्र महेन्द्र पुलको ‘पोखरा आर्ट ग्यालरी’मा कुनै बेला खुबै चहलपहल हुन्थ्यो । पोखरामा हुने गरेका साना-ठूला चित्रकला तथा फोटो प्रदर्शनी त्यहिं हुने गरेका थिए ।
०५६ सालमा स्थापना भएको उक्त ग्यालरी छेउमा पोखरा सार्वजनिक पुस्तकालय रहेकाले पनि त्यसकै बहानामा कवि, कलाकारको देखभेट भइरहन्थ्यो । फोटो, चित्रमात्रै प्रदर्शन गर्ने उद्देश्यले बनाइएको भवन समग्र पोखरामै अन्यत्र नभएकाले पनि पोखरा आर्ट ग्यालरी कलाकारको अन्तिम गन्तव्य बनेको थियो ।
तर, अहिले ती दृश्य फरक छन् । उक्त ठाउँमा ‘पोखरा आर्ट ग्यालरी’ लेखिएको भवन त छ तर, नाममात्रैको । त्यहाँ न अहिले चित्र, फोटो नै प्रदर्शन हुन्छन् न कलाकार नै जुट्छन् । तीन वर्ष अघिसम्म फोटो, चित्रकला प्रदर्शनीले चहलपहल भइरहने यो ठाउँ अहिले सुनसान छ ।
फोटो, चित्र प्रदर्शन भइरहने गरी तोकिएको एकमात्र ग्यालरी पोखरा महानगरकै अपरिपक्क निर्णयकै कारण सुनसान बन्न पुगेको हो । पोखरा महानगरको ०७५ चैत १ गते बसेको कार्यपालिका बैठकले महेन्द्र पुलबाट ग्यालरी सार्ने र त्यहाँ पार्किङ स्थल बनाउने निर्णय गरेको थियो ।
महानगरको २८ औं कार्यपालिका बैठकले ‘महेन्द्रपुलबाट पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय अन्यत्रै सार्ने’ निर्णय गर्दा कलाकारसमेत खुसी थिए । साँघुरो, अत्यन्तै भिडभाड, होहल्ला पनि भइरहने र अपायक भएको उक्त ठाउँबाट गण्डकी प्रदेश संग्रहालयको खुल्ला ठाउँमा ग्यालरी र पुस्तकालय सार्ने निर्णयले कलाकार दंग थिए ।
तर, निर्णय भएको तीन वर्ष बित्न लाग्दासमेत न आर्ट ग्यालरी सारियो न त त्यहाँ योजनाबमोजिम पार्किङस्थल नै बनाइयो । निर्णय गरेको लामो समयसम्म ग्यालरी नबन्दा कलाकारसमेत निराश छन् ।
‘त्यो (पोखरा आर्ट ग्यालरी) बनाउन सुरुमा हामी कलाकारले साह्रै मिहिनेत गरेका थियौं । आफूले सकेजति सहयोग गरेर बनाएका थियौं । त्यो ग्यालरी बनिसकेपछि नै एक हिसाबमा पोखराको चित्रकला अन्तर्राष्ट्रियस्तरसँग जोडिएको हो,’ वरिष्ठ कलाकार दुर्गा बराल (वात्स्यान) भन्छन्, ‘तर, अहिले महानगरले त्यसलाई विभिन्न बहानामा भत्काउन खोजिरहेको छ ।’
अर्को ग्यालरीको टुंगो नलगाइकनै महेन्द्रपुलस्थित उक्त ग्यालरी भत्काउन खोज्दा आफूहरुले नै रोकेको वात्स्यान बताउँछन् । ‘महानगरले नयाँ ठाउँमा सार्ने भन्ने सुनियो,’ उनी भन्छन्, ‘अर्को विकल्प व्यवस्थापन नभइकन छोड्दैनौं भनेका छौं । पोखराजस्तो सहरमा ग्यालरी एउटामात्रै होइन, धेरै हुनुपर्छ ।’
कलाकार हेमकान्ती गुरुङ चैत महिनाभित्रै गर्ने तयारी गरेको अन्तर्राष्ट्रियस्तरको चित्रकला प्रदर्शनी अहिले नगर्ने मनस्थितिमा पुगिसकेकी छन् । यसको मुख्य कारण नै ठाउँ अभाव हो । पहिले उनले पोखरा आर्ट ग्यालरीमै आफ्नो कला प्रदर्शनी गर्थिन् । तर, अहिले त्यो पनि पातलिएको छ ।
‘आर्ट भनेेको पेन्टिङ चित्र बनाएर देखाउनेमात्रै होइन, यसमा विभिन्न पाटाहरु छन् । सानो र साँघुरो ठाउँमा गाह्रो हुन्छ भनेरै नयाँ विकल्प खोजिएको हो,’ गुरुङ भन्छिन्, ‘अहिले त झन् त्यो पनि अनिश्चित भइदियो । न कलाकारले आवाज उठाए, न सरकारले कलाको महत्व नै बुझ्यो ।’
कलाकार गुरुङको मतसमेत महानगरले ग्यालरीको टुंगो चाँडै लगाइदियोस् भन्ने छ । काठमाडौंपछि कला क्रियाकलाप भइरहेन ठाउँमै ग्यालरीविहीन भएर खुम्चिनुपर्दा दुःख लागेको उनी बताउँछिन् ।
‘काठमाडौंपछि कलाको हिसाबले पोखरा दोस्रो नम्बरमा आउँछ । तर, यही सहरमा हामी आफ्नो प्रतिभा पनि देखाउन पाउँदैनौं । आफूले बनाएका कला देखाउने ठाउँ पनि छैन,’ गुरुङ दुखेसो पोख्छिन्, ‘ग्यालरी नहुँदा क्रियाकलाप त कम भएनै, यसबारे अरुलाई बुझाउने मौका समेत पाएका छैनौं ।’
महानगरको बहानाः संग्रहालयसँग कुरा मिलेन !
महानगरको महेन्द्रपुलबाट आर्ट ग्यालरी र पुस्तकालय गण्डकी प्रदेश संग्रहालयको जग्गामा सांस्कृतिक ग्राम बनाउने र त्यतै सार्ने योजना थियो । तर, सल्लाह नगरिकनै निर्णय गरिएको भन्दै संग्रहालयले त्यतिबेलै विरोध जनाएको थियो ।
‘हुन त संग्रहालयमा पुस्तकालय र आर्ट ग्यालरी हुन जरुरी छ । तर, यो प्रदेश संग्रहालय हो । महानगरले संग्रहालय ल्याउँदा हामीसँग पनि सल्लाह गर्नुपर्थ्यो,’ संग्रहालय प्रमुख करुणा राईले त्यतिबेलै प्रतिक्रिया दिंदै भनेकी थिइन्, ‘हामीलाई जानकारी पनि भएको छैन । समन्वय पनि भएको छैन ।’
सं
ग्रहालय प्रमुख राईले भनेजस्तै उक्त समस्या अहिलेसम्म सुल्भिmएको छैन । संग्रहालयमा ग्यालरी पुस्तकालय र ग्यालरी आइसकेपछि राजश्व संकलनदेखि टिकटदरमा समेत विवाद कायमै रहेको महानगरको भनाइ छ । महेन्द्रपुलदेखि नयाँ बजारमा ग्यालरी सर्न अझै समय लाग्ने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए ।
‘संग्रहालयभित्र ग्यालरी र पुस्तकालय हुने भएपछि अझै कुरा मिल्न सकेको छैन । पुस्तकालय र ग्यालरी फरक कुरा हो, म्युजियम फरक कुरो हो’ प्रवक्ता नेपालीले भने, ‘टिकट, राजश्व कसरी लिने लगायतका विषयमा कुरा मिलेको छैन, हामी छलफलमै छौं ।’
प्रतिक्रिया 4