+
+

रंगेलीमा ओली : सत्ता पक्ष र निर्वाचन आयोगलाई गाली

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते २०:२२

२५ फागुन, विराटनगर । बुधबार मोरङ रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, उपमेयर केशवकुमारी खराल र तीनजना वडा अध्यक्षसहितका जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै आए ।

उनले बुधबारको कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीकै आलोचनामा बढी समय खर्चिए । निर्वाचन आयोगले चुनाव चिह्न हरियो राख्ने निर्णय गरेकामा पनि ओलीले आपत्ति जनाए ।

कांग्रेसलाई सुकेको रुखको संज्ञा दिएका उनले माधव नेपालको पार्टी नै बन्न नसक्ने जिकिर गरे । माओवादी केन्द्रका अध्यक्षलाई भने अन्योल र भ्रमको गोलो भनी टिप्पणी गरे ।

‘काङ्ग्रेसको सुकेको रुखको कुरा गरिरहनुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘काङ्ग्रेसको पात मात्रै झरेको होइन रुखै सुकिसक्या छ ।’

‘अब बुढो रुख बचाउनका लागि निर्वाचन आयोगले चुनाव चिह्नहरु सबै हरियो रङमा लेख्ने भएछ,’ ओलीले भने, ‘चुनाव चिह्न हरियो रङमा राख्दैमा काङ्ग्रेसको रुख फेरि बौरिने होर ! एउटा पार्टीको रङ जानिने गरी राख्न पाइदैन ।’

उनले कम्युनिष्ट सरकार ढाल्ने माधव नेपालहरुको पार्टी नै नबन्ने टिप्पणी गरे । ‘अहिले एकीकृत समाजवादी भन्ने माधव नेपाल गुटले एमाले चोइटाएर पार्टी बनाउन खोजेका छन्, त्यो पार्टी नबन्दै बिग्रिसक्छ,’ उनले भने,‘ प्रचण्डको हालत देख्नु भएको होला, यता हेर्दा प्रचण्डको अनुहार बेग्लै छ, उता हेर्दा बेग्लै छ ।’

प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र अन्योलको गोलो भएको उनको तर्क छ । ‘प्रचण्डको पार्टी कुनै पार्टी नै होइन भ्रमको गोलो हो त्यो, अन्योलको गोलो हो,’ ओलीले भने, ‘त्यसलाई ढिलो नगरी परित्याग गर्नुहोस्, एमालेमा आउनुहोस् ।’

सम्झिएनन् ६ वर्षअघिको घटना

आफ्नै चर्चा र सत्तारुढ दलको आलोचनामा केन्द्रित ओलीले ६ वर्षअघि तीन जनाको मृत्यु हुने गरी भएको र एमाले जोडिएको ‘रंगेली घटना’ भने सम्झिएनन् ।

७ माघ २०७२ मा रंगेलीमा युवा संघ नेपालले आमसभा आयोजना गरेको थियो र त्यहाँ अध्यक्ष केपी शर्मा ओली आउने तयारी थियो । संविधान निर्माणमा असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सडक संघर्षमा थियो । मोर्चाले पनि ७ माघमा रंगेलीमै कार्यक्रम राखेको थियो ।

मोर्चा र एमाले दुवै रंगेलीको कार्यक्रम स्थान र मिति सार्न तयार भएनन् । युवा संघको कार्यक्रममा केपी ओली आएनन् । युवासंघको कार्यक्रम सुरु भएलगत्तै मधेशी मोर्चा र युवासंघका कार्यकर्ताबीच झडप भयो ।

झडपमा परी सुनवर्षी नगरपालिका-७ का महादेव ऋषिदेव, सुनवर्षी-९ का शिवु माझी र रंगेली- ६ का ६० वर्षीया द्रौपदीदेवी चौधरीको मृत्यु भएको थियो । मृतक तीन जना मोर्चाको कार्यक्रममा आएका थिए ।

‘त्यसबेला हामीले कार्यक्रमको मिति नभए स्थान सार्न भनेका थियौं, तर एमालेले मानेन,’ हाल जनता समाजवादी पार्टीका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव भन्छन्, ‘कार्यक्रमस्थल अर्कै स्थानमा सारेको भए त्यस्तो घटना हुने थिएन ।’ एमालेको बलजप्ती गर्दा २०७२ सालमा घटना भएको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?