+
+

लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड हो : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १८:१२
प्रधानमन्त्री शेरबहादुर देउवा/फाइल तस्वीर

२६ फागुन, वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । यसको दीगो र प्रतिष्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि लिएर आर्थिक समाजिक रुपान्तरणमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ ।

वीरगञ्जमा बिहीबार आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय अधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् ।

अहिलेपनि घरेलु तथा साना उद्योगहरुले स्वदेशी श्रम, सीप, पूँजी र कच्चा पदार्थको उच्चतम प्रयोग गरी आन्तरिक उत्पादन वृद्धि र रोजगारी सृजनामा योगदान पुर्‍याएको भन्दै उनले प्रशंसा गरे ।

‘लघु, घरेलु तथा साना उद्योगले मुलुकको कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । लाखौं संख्यामा रोजगारीको अवसर प्रदान गर्दै आएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘थप प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढाउन आवश्यक छ । यस क्षेत्रको विकास र सहजीकरणका लागि सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध छ ।’

अतिकम विकसितबाट मुलुक विकासशील मुलुकमा परिणत हुन गइरहेको अवस्थामा लघु, घरेलु तथा साना उद्योगको विकासका लागि तीनै तहको सरकारले एक आपसमा समन्वय गरी प्रभावकारी योजनाका साथ काम गर्नुपर्ने उनको भनाइ छ । सुमधुर श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गराउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।

मुलुकमा जनताले प्रयोग गर्ने अधिकांश वस्तु तथा सेवा विदेशबाट आयात भइरहेको स्थितिमा एकातिर औद्योगिकीकरण, आत्मनिर्भर अर्थतन्त्र विकास र अर्कोतिर विदेशी मुद्दाको मागमा अत्यधिक चाप सृजना भई अर्थतन्त्रमा दबाब सृजना भइरहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

‘मुलुक भित्रै स्थानीय स्रोत र साधनको परिचालनबाट हाम्रो दैनिक जीवनमा आवश्यक वस्तु तथा सेवा उत्पादन गर्न सबैले जोड दिनुपर्ने खाँचो छ । लघु, घरेलु तथा साना उद्योगबाट निर्यातजन्य वस्तु उत्पादन गरी व्यापार घाटाको स्थितिमा सुधार ल्याउनुपर्नेछ’ उनले भने ।

कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई पुनर्स्थापित गर्न उत्पादन वृद्धि गरी निर्यातलाई जोड दिनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए ।

कोभिड–१९ बाट लघु, घरेलु तथा साना उद्योगमा पारेको नकारात्मक प्रभावलाई कम गर्न सरकार थप राहत र छुट सहुलियतका कार्यक्रम तय गर्ने बताउँदै प्रधानमन्त्री देउवाले महासंघ आवद्ध घरेलु तथा साना उद्योगले पनि अर्थतन्त्रको पुर्नजीवनमा सघाउनु पर्नेमा जोड दिए ।

विश्व बजारमा सूचना प्रवृधि र सेवा क्षेत्रको प्रवर्द्धनबाट लाभ उठाउन प्रधानमन्त्री देउवाको आग्रह छ । सरकारले घरेलु तथा साना उद्योगको विकासका लागि सुविधा र सहुलियत, कृषि उद्योगको विकासका लागि विभिन्न योजनाहरु ल्याएको बताउँदै उनले उद्यमीहरुलाई समुचित उपयोग गर्न सुझाए । त्यसक्रममा आईपर्ने चुनौति समाधान गर्न सरकार तत्पर रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?