
२७ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) भित्रका प्राध्यापक संगठनहरु, विद्यार्थी संगठनहरु र पदाधिकारीबीच राजनीतिक खिचातानी कुन तहसम्म छ भन्ने पछिल्लो दुई महिनायताको गतिविधिले देखाएको छ । गएको माघ ७ गतेदेखि त्रिवि केन्द्रीय कार्यालयमा लागेको ताला अझै खुल्न सकेको छैन ।
सत्तारुढ दल नेपाली कांग्रेस आबद्ध नेपाल विद्यार्थी संगठनभित्रको एउटा गुटले निजीस्तरमा सञ्चालित जनकपुरको युथ क्याम्पसलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सम्बन्धन दिन ‘घुस मागिएको’ आरोप लगाउँदै त्रिवि पदाधिकारीले राजिनामा दिनुपर्ने माग राख्दै आएको छ ।
२३ माघमा आंशिक प्राध्यापकहरुले ‘समान कामको समान ज्याला’ माग गर्दै अर्को ताला थपेका छन् । नेविसंघले उठाएको विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनेको र आंशिक प्राध्यापकहरुको विषयमा समाधान गर्न लागिरहेको जवाफ दिएको त्रिवि नेतृत्वले समस्या समाधानका लागि गम्भीरता भने देखाएको छैन ।
यी तीनै पक्षको आ–आफ्नै अडानका कारण तालाबन्दी खुल्न सकेको छैन । निरन्तर डेढ महिना भन्दा बढी ताला लाग्दा पनि तालाबन्दी विरुद्ध न प्राध्यापकहरुले आवाज उठाए न अरु विद्यार्थी संगठनहरुले । त्रिवि कर्मचारी संघ केन्द्रीय समितिले भने निरन्तर ताला लाग्दा काम गर्न नपाएको र छिटो वार्ताद्वारा निकास खोज्न अनुरोध गर्दै माघ २७ गते विज्ञप्ति जारी गर्यो ।
त्यसपछि फागुन २ गते त्रिविले त्रिविमा बारम्बार लाग्ने तालाबन्दी सदाका लागि अन्त्य गर्न सहयोग गर्न सरोकारवाला निकायलाई अपिल गर्दै विज्ञप्ति जारी गर्यो । त्रिविले अपिल गरेको केही दिन पश्चात (माघ ६ गते) एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संघ रेक्टर कार्यालय अगाडि तालाबन्दीको विरोध लेखिएको प्लेकार्ड लिएर उभियो । त्यहीबेला तालाबन्दी गर्ने विद्यार्थी संगठनले उपकूलपति कार्यालय अगाडि कार्यक्रम गर्यो । त्रिविका एक कर्मचारी भन्छन् ‘त्यो दिन प्राध्यापकहरु र विद्यार्थी संगठनहरु एक अर्काको विरोधमा कार्यक्रम गरिरहेका जस्ता देखिन्थे । त्रिविभित्र यो भन्दा खराब दृश्य के हुन्छ ?’
प्राध्यापक, विद्यार्थी र पदाधिकारीबीच स्वार्थ नमिल्दा मात्रै आन्दोलन, तालाबन्दी हुने गरेको छ । नौ वर्षदेखि त्रिविमा कार्यरत ती कर्मचारी शैक्षिक मुद्दामा आन्दोलन भएको थाहा नपाएको बताउँछन् ।
‘म आएपछि मात्रै ६ पटकभन्दा बढी तालाबन्दी भइसक्यो । तालाबन्दी गर्नेहरु चाहिं स्वतः करार माग गर्ने प्राध्यापक र आफ्नो मान्छेको नियुक्ति र सम्बन्धन माग गर्ने विद्यार्थी हुन्छन् । पदाधिकारी त्यस्तै । यिनीहरुले त्रिविलाई डुबाइसके’ उनी भन्छन् ।
त्यसबीचमा तालाबन्दी गर्ने विद्यार्थी संगठन, प्राध्यापक र कार्यरत कर्मचारीप्रति उपकूलपति प्रा.डा.धर्मकान्त बास्कोटाले रोष पोख्दै अभिव्यक्ति दिए । त्यसपछि भने गत सोमबार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गर्दै सोमबार विज्ञप्ति निकालेका छन् ।
प्राध्यापकहरुले सार्वजनिक गरेको विज्ञप्तिमा तालाबन्दीको विषयमा संक्षिप्त मात्रै उल्लेख गरेका छन् । तर उपकूलपतिको अभिव्यक्तिलाई लिएर भने विस्तारमा विरोध गरेका छन् ।
त्रिविका प्राध्यापक संघसंगठन तथा विद्यार्थी संघसंगठनहरुले प्राज्ञिक, शैक्षिक विषयमा नबोल्ने, मुद्दामा नउठाउने आरोप खेप्दै आएका छन् । यो आरोप नभएर सत्यता भएको पछिल्लो गतिविधिले पुष्टि गरेको समाजशास्त्रका विद्यार्थी मनोज खतिवडा बताउँछन् ।
उनी भन्छन्, ‘यतिलामो समयसम्म तालाबन्दी नहुँदा नबोलेको प्राध्यापकहरु उपकूलपतिको अभिव्यक्ति पछि पार्टीको निर्देशनमा, विद्यार्थी संगठनको निर्देशनमा गठबन्धन शैलीमा बक्तव्यबाजी गर्नु प्राज्ञिक होइन ।’
यसअघि त्रिवि परिसरभित्रै उपप्राध्यापकले मरणासन्न हुनेगरी कुटिंदा, महिला विद्यार्थी दिउँसै हिंसा परेर पटक–पटक गुनासो गर्र्दा, पढाइ नियमित नहुँदा समेत प्राध्यापकहरु नबोलेको उनको गुनासो छ ।
प्राध्यापकहरु आफैं प्राज्ञिक नभएका कारण पनि प्राज्ञिक कुरा उनीहरुको प्राथमिकतामा नपरेको खतिवडा बताउँछन् । भन्छन्, ‘दलीयकरणबाट त्रिविमा छिर्ने र योग्य छैनौं भन्दा विज्ञप्ति निकाल्छन् तर हामीलाई पढाउने कतिपय शिक्षकहरु आफैं ब्याचलर पढ्न योग्य छैनन् । त्यस्ता शिक्षक झेल्न बाध्य छौं । यस्ता शिक्षकहरुले के प्राज्ञिक कुरा गरुन् ?’
त्रिविमा विद्यार्थी संघसंगठन, प्राध्यापक संघसंगठनहरु इमान्दार नहुँदा प्राज्ञिक विषय सधैं ओझेलमा पर्ने गरेको एक प्राध्यापक बताउँछन् । उनी भन्छन्, ‘त्रिविमा प्राज्ञिक विषय उठान गर्ने अरु नभए पनि प्राध्यापकहरुले उठाउनुपर्ने हो तर प्राध्यापकहरु झन् बढी राजनीतिक भागबन्डामा लिप्त छन् । कुन हदसम्म भन्ने त अहिले देखिइरहेको छ नि ।’
त्रिवि कसरी चलिरहेको छ भन्ने कुरा प्राध्यापक संगठनहरुको विज्ञप्तिले धेरै कुरा बोलेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्रा. डा. खड्ग केसी बताउँछन् । उनी भन्छन्, ‘त्रिविमा किन यस्तो भइरहेको छ भन्ने कुरा त विज्ञप्तिले पनि धेरै प्रष्ट पारेको छ । त्रिविको सुधारको लागि भन्दा पनि जसको सत्ता आउँछ उसैले त्रिवि सञ्चालन गर्न पाउनुपर्ने सबैको चाहना प्रकट हुने भयो ।’
तीन राजनीतिक दल निकट संगठन खुलाएर विज्ञप्ति जारी गर्ने व्यक्तिहरु प्राध्यापक नभएर दलका दासहरु भएको प्रा.डा. चैतन्य मिश्र आरोप लगाउँछन् । भन्छन् ‘यत्तिका लामो समय तालाबन्दी हुँदा नबोल्ने र अहिले भीसीको अभिव्यक्तिलाई लिएर विज्ञप्ति निकाल्ने त्यो पनि संगठनको नेतृत्व गर्दै, ती प्राध्यापक होइनन् । प्राज्ञिक क्षेत्र नेतृत्व गर्दैनन् । दलका दासहरु हुन् ।’
तर एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालका अध्यक्ष प्रा.डा.गोविन्द सुवेदी भने त्रिवि केन्द्रीय कार्यालयमा, सेवा आयोगमा क्याम्पसमा ताला लाग्दा पनि वर्तमान पदाधिकारीले निकासा दिन नखोजेपछि निकास खोज्न दबाब दिन विज्ञप्ति जारी गरिएको दाबी गर्छन् ।
‘लामो समयदेखि सेवा पाउनुपर्ने व्यक्तिहरुले सेवा पाइरहेका छैनन् । अस्तव्यस्त भएको छ । त्यसैले तत्काल सबै सरोकारवाला पक्षसँग छलफल गरेर समाधान गर्नुहोस् यदि त्यस्तो गर्न नसक्ने हो भने मार्ग त प्रशस्त गर्नप¥यो,’ उनले भने ।
प्रतिक्रिया 4