+
+

रूपवती शहर, आरूका फूलले ढकमक्क

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ फागुन २९ गते १८:३२

२९ फागुन, काठमाडौं । कठ्यांग्रिदो चिसो छैन । ठिही र तुषारो हटिसक्याे । बोट–बिरुवाले पाउला फेर्दैछन् । प्रकृतिमा हरियाली छाउँदैछ । मौसम मोहक र मादक बन्दैछ । प्रकृतिको यो खुला क्यानभासलाई सप्तरंगी फूलहरुले हराभरा बनाउँदैछ ।

फागुन शुक्ल अष्टमीदेखि विधिवत रुपमा फागु पर्व सुरु भइसकेको छ । रंगहरुको यो उत्सवले प्रकृति, जगत र जीवनलाई एकाकार बनाउँछ । रंगहरुको पर्व सुरु भएसँगै प्रकृतिले पनि आफ्नो रंग फेर्छ । अन्ततः वसन्ती यामसँगै प्रकृति अरु रूपवती लाग्छ ।

नाङ्गा रुखपातमा नयाँ पालुवा पलाउँदैछन् । शहरका सडक किनार यतिबेला फूलले ढकमक्क छन् । गाढा रातो, गुलाबी र सेतो रंगका आरूका फूलले शहरलाई सिंगार्दैछ । हिजोसम्म रुखोसुखो र उजाड देखिने शहर र सडक आज मस्त बैंसमा रमाइरहेझैं देखिन्छ ।

मझौला बुट्यानमा ढकमक्क फुल्ने आरूका फूल हेर्दै रहरलाग्दा लाग्छन् । यसको हाँगाबिंगा नै फूलै फूलले ढाकेका छन् । बाटोमा हिंड्ने बटुवाहरुलाई यसको सौन्दर्यले मोहित बनाइरहेको छ । त्यसैले त ढकमक्क फूलेका आरूको बोटलाई पृष्टभूमिमा पारेर सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरुको ताँती बढ्दैछ ।

आरूको फूलले प्रकृति पारखीलाई त आकर्षित गर्ने नै भयो, कवि–कलाकारदेखि बैंसालु जोडीहरुलाई समेत मोहनी लगाउँछ । त्यसैले त आरूको फूल कतै कविता बनेर त कतै गीत बनेर छाएको छ ।

वसन्ती यामको सुरुवातसँगै ढकमक्क फुल्ने भएकाले हुनसक्छ, आरूको फूल प्राकृतिक सजावटको लागि प्रयोग गरिन्छ । सहरका सडक किनारदेखि चिया बगानसम्म आरूको बुट्याउन रोपिएको छ । काठमाडौंका कतिपय सडक किनारमा पनि आरूका बाेट लगाइएको छ, ताकि त्यसको सौन्दर्यले सहरलाई रूपवती बनाइदेयोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?