२९ फागुन, काठमाडौं । भनिन्छ, ‘जित्नेले इतिहास बनाउँछ, हार्नेले सिक्छ ।’ तर एलिना महर्जनको दिमागमा प्रश्न उब्जिन्छ, हार्नेले कहिलेसम्म सिक्ने ? के सिक्ने ? किनकी पछिल्लो आठ वर्ष उनी राष्ट्रिय वरीयताको नम्बर दुईमा छिन्, तर वरीयताप्राप्त राष्ट्रिय प्रतियोगिता जित्न सकेकी छैनन् ।
उनलाई हराउने अरु कोही होइनन्, भाउजु नविता श्रेष्ठ हुन् । आठ पटक राष्ट्रिय च्याम्पियनको कीर्तिमान बनाएकी नविता नेपाली टेबलटेनिसले पाएको अहिलेसम्मकै उत्कृष्ट प्रतिभा हुन् । एलिना पनि कम प्रतिभावान होइनन् ।
तर उनी भाउजु नवितासँग निरन्तर पराजित भएकी छन् । २०६५ सालमा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुद तथा ३२औं राष्ट्रिय टेबलटेनिसदेखि सिनियरतर्फ पाइला चालेकी एलिनाले २०७६ मा लुम्बिनी प्रदेशमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद तथा ४०औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता खेलेकी छन् । २०७० को ३६औं राष्ट्रिय प्रतियोगितामा रजत पदक जितेयता उनी सधैं दोस्रो भएकी छिन् । सधैं फाइनलमा नवितासँगै पराजित हुनुपरेको छ ।
‘सुरुआतदेखि नै नतिजा हेर्नुभयो भने म पाँचपल्ट दोस्रो हुँदा भाउजु (नविता) ले जित्नुभयो,’ टेबलटेनिस सुन्दरी एलिनाले अनलाइनखबरसँग भनिन् । सुरुसुरुमा एलिनाले पनि हारबाट शिक्षा लिने र आफ्नो कमजोरी सुधार गर्ने अठोट गरेकी थिइन् । एक दिन त कसो च्याम्पियन बन्न नसकुँला र ! भन्ने सोच राख्थिन् ।
तर शतप्रतिशत प्रयासका बाबजुद सधैं एउटै नतिजा आउँदा के पुगेन भन्ने लाग्न थालेको छ । ‘दाङ (आठौं राष्ट्रिय खेलकुद) मा चाहिँ राम्रो खेलेको थिएँ, तर अन्तिममा हार्न पुगेँ । आफ्नो तर्फबाट प्रयास गरिरहेको छु । के पुगिरहेको छैन भनेर आफैंलाई थाहा छैन,’ एलिनाले सुनाइन्, ‘प्रयास गरेकै हो, जति गर्दा पनि सोचेजस्तो नभएपछि स्वाभाविक रुपमा निराश भइन्छ । त्यस्तो बेलामा मैले यो के गरिरहेको छु ? किन खेलिरहेकी छु ? भन्ने जस्तो लाग्ने रहेछ ।’
राष्ट्रिय वरीयताका शीर्ष दुई खेलाडी नविता र एलिना विभागीय टोली नेपाल पुलिसबाट सँगै पनि खेल्छन् । अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा उनीहरु महिला युगल जोडी हुन् । सन् २०१६ को १२औं दक्षिण एसियाली खेलकुदमा यो जोडीले कांस्य पदक जितेको थियो । २०१९ मा नेपालमै भएको १३औं सागमा पनि उनीहरु समेत रहेको नेपाली महिला टिमले कांस्य जित्यो ।
एकलतर्फ भने एउटै क्लबका भएपनि उनीहरु चीर प्रतिस्पर्धी हुन् । एलिना आफ्नो स्वाभावजस्तै कोर्टमा पनि शान्त रहन्छिन् । उनको ठीक विपरीत स्वाभाव छ नविताको । कोर्टमा नविताको शैली बेजोडको हुन्छ । प्राविधिक रुपमा अब्बल त छँदै छन् त्यसबाहेक शिकार गर्न हिँडेको बाघजस्तो प्रस्तुतिले विपक्षीलाई सुरुवातदेखि नै मानसिक दबाव दिन्छ । एक दशकदेखि लगातार च्याम्पियन रहन उनलाई त्यही शैलीले साथ दिएको छ ।
‘खेलमा पछि परिरहेको हुन्छ, जित्नुपर्छ भन्ने दबाव पनि हुन्छ । अनि मनोवैज्ञानिक रुपमै कमजोर महसुस हुन्छ । मेरो लगातारको असफलताको मुख्य कारण हो यो,’ एलिना भन्छिन्, ‘सबैको मानसिक स्तर एउटै हुन्छ भन्ने हुँदैन । म मनोवैज्ञानिक रुपमा कमजोर छु । त्यसका लागि हामीले उचित परामर्श पनि पाएका छैनौं ।’
पछिल्लो समय विश्व खेलकुदमा मेन्टल हेल्थबारे बहस हुन थालेको छ जापानकी टेनिस स्टार नाओमी ओशाकादेखि अमेरिकी जिम्न्यास्टिक सुपरस्टार सिमोन बाइल्ससम्मले मेन्टल हेल्थको मुद्दा प्रमुखताका साथ उठाइरहेका छन् । नेपालमा भने एलिना सम्भवतः पहिलो खेलाडी हुन्, जसले फिजियोथेरापी जत्तिकै महत्व साइकोथेरापीलाई दिनुपर्ने माग राखेकी छन् ।
‘खेलाडीलाई शारीरिकसँगै मानसिक रुपमा पनि बलियो बनाउन जरुरी छ । क्षमताअनुसार आफ्नो अधिकतम प्रदर्शनका लागि मानसिक रुपमा बलियो पार्नुपर्छ,’ जुनियर र सिनियरसमेत गरी ८ वटा अन्तर्राष्ट्रिय पदक जितेकी एलिनाले अनलाइनखबरसँग भनिन्, ‘एउटै खाले नतिजाबाट मुक्तिका लागि आफ्नो तर्फबाट प्रयास गरिरहेकी छु । मलाई मनोवैज्ञानिक प्रशिक्षण चाहिएको छ ।’
हुन त उनलाई राष्ट्रिय खेलाडी समेत रहेका दाइ राकेश महर्जनले बारम्बार सम्झाउँछन् । तर सरकार र नेपाल टेबलटेनिस संघले नै खेलाडीहरुलाई ध्याान देओस् भन्ने चाहिन्छन् । ‘हाम्रो टिममा फिजियो छैन । युट्यूबमा हेरे प्रशिक्षण र फिटनेस ट्रेनिङ गरिरहेका छौं, त्यसबाट आफ्नो स्तर कति छ भनेर थाहा भइरहेको छैन,’ उनले भनिन्, फिटनेसमा पनि सुधार चाहिएको छ ।’
खेलकुदमय परिवार
खेलकुदमय माहोलबाटै हुर्किएकी हुन्– एलिना । दाइ राकेश महर्जन राष्ट्रिय खेलाडी भइसकेका थिए । विजेश्वरी स्कुलमा पढ्दा दाइ नै प्रशिक्षक बनेर आएपछि एलिनाले पनि टेबलटेनिस नै सुरु गरिन् । केहि समयपछि बहिनी एरिकाले पनि टेबलटेनिस सुरु गरिन् ।
विहानै उठेर लैनचौर टेवलटेनिस हलमा अभ्यास गर्ने, दिउँसो स्कुल जाने, बेलुका फेरि अभ्यास गर्ने दैनिकी थियो । सानैदेखि अनुकुल वातावरण पाएका कारण एलिनालाई जुनियर राष्ट्रिय टोलीमा पर्न धेरै संघर्ष गर्नुपरेन ।
खेलमा लागेपछि पढाइ र स्वास्थ्यमा पनि सुधार भएको बताउने एलिनाले थपिन्, ‘स्कुलमा कुनै न कुनै खेलकुद लिनैपर्ने भनिएको थियो । म त तेक्वान्दो खेल्ने सोचमा थिएँ तर दाइले टेबलटेनिस खेल्न भन्नुभयो । टेवलटेनिसमा सुरुवातदेखि नै मेरो प्रदर्शन राम्रो हुँदै गयो ।’
बहिनी एरिका पनि राष्ट्रिय वरीयताको शीर्ष पाँचमा आइसकेकी थिइन्, तर खेल छाडेर विदेश पलायन भइन् । ‘मैले चाहिं केही गर्छु भनेर अरु कुरा सोचिनँ,’ टेबलटेनिसलाई निरन्तरता दिनुको कारण खुलाइन्, ‘अहिलेसम्म प्रयास गरिरहेको छु, एउटा विन्दुमा पुगेको छु । माथि उक्लिन सकिएन भने चाहिं सोच्नुपर्छ ।’
एमबीए अध्ययनरत २६ वर्षीया एलिनालाई एकपटक राष्ट्रिय च्याम्पियन बन्ने चाहना छ । शीर्ष वरीयतामा पुग्नु छ । त्यसका लागि आफूले मिहेनत त गरेकी छिन् नै, आफ्नो तर्फबाट भएका प्रयासले सार्थकता नपाउँदा एकप्रकारको नैराश्यको स्थिति बनेको छ । प्रदर्शनको स्तर वृद्धिका लागि संघले पनि सहयोग गरोस् भन्ने चाहेकी छन् ।
नेपालको टेबलटेनिसमा क्षमता भएका खेलाडीहरु धेरै छन् । तर उनीहरुले स्तरीय प्रशिक्षण, सरकारबाट प्रोत्साहन र नियमित एक्स्पोजर पाइरहेका छैनन् । एलिनाले सरोकारवाला निकायबाट यही मार्गदर्शनको अपेक्षा गरेकी हुन्, ता कि हाम्रो देशको खेल स्तरमा सुधार होस्, धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय सफलता मिलोस् ।
‘दक्षिण एसियाली देशकै कुरा गर्ने हो भने पनि केही समय अघिसम्म हामीभन्दा तलको स्तरमा रहेका टोलीहरुले ग्रासरुटदेखि नै मिहिनेत गरेर खेलाडीको सुविधा बढाएर हामीभन्दा राम्रो भइसके । तर हामी जहाँको तहीँ छौं । के नपुगेको हो थाहा नै भएन । यहाँ त केही भएकै छैन । त्यस्तो अवस्था देखेर चाहिं दिक्क लाग्छ,’ एलिनाले आफ्नो अर्को निराशा व्यक्त गरिन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड अन्तर्गत एलिना यस वर्ष पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी छन् । आफ्नो प्रतिस्पर्धी समेत रहेकी भाउजु नविताले यो अवार्ड जितिसकेकी छन् ।
त्यसैले यो पटक आफू पनि मनोनयनमा पर्नुलाई एलिनाले ठूलो सम्मानका रुपमा लिएकी छन् । भनिन्, ‘मैले जुन किसिमको नाम र सम्मान पाएको छु, अरु फिल्डमा भएको भए पाउँदिनथेँ । त्यसैले खेलकुदमा लागेकोमा पछुतो छैन ।’
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4