३० फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै गर्दै आएका नेकपा एमालेका सांसद भीम रावलप्रति आक्रोश पोखेका छन् ।
किस्पाङ गाउँपालिकाको भवन उद्घाटन गर्न नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको भन्दै देउवाले भने, ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’
एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्र भएको उनले रावल मन्त्री हुँदा एसमसिसीको प्रक्रिया अघि बढेको पटक पटक सुनाए । देउवाले भने, ‘एमसिसी राष्ट्रघाती भन्दै हिँड्ने उहाँ (रावल) रक्षामन्त्री हुँदा अनुमोदनका लागि संसद्मा लैजान हस्ताक्षर गर्ने अनि अहिले विरोध गर्दै हिँड्ने ?’
उनले नेता रावललाई आफैं सहभागी मन्त्रिपरिषद्ले एमसीसी संसदमा लैजान पास गर्दा किन राजीनामा नदिएको भनेर प्रश्न गरेका छन् ।
सरकारमा हुँदा एमसिसी चाहिन्छ भनेर संसद्बाट पास गर्न लाग्नेहरु अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेको भन्दै उनले दोहोरो चरित्र नदेखाउन आग्रह गरे ।
एमसिसी नेपालको विकासका लागि निःशुल्क प्राप्त भएको अनुदान भएकाले यसले राष्ट्रको अहित नगर्ने उनले बताए ।
एमसीसी कार्यान्वयमा केही आशङ्का देखाइएको भन्दै उनले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नेपालको कानूनअनुसार सञ्चालन हुने बताए ।
‘एमसीसी कार्यक्रमअन्तर्गत निर्माण गरिने प्रसारण लाइनबाट बम आउँछ भन्नेदेखि पशुपतिमा समेत अमेरिकी सेना भित्रिन्छ भनेर भ्रम छरेर केही हुन्नु,’ प्रधानमन्त्री देउवाले भने, ‘देशको विकासका लागि यसले फाइदा पुग्छ, रोजगारी सिर्जना हुन्छ, प्रतिस्पर्धामा यहीँका निर्माण व्यवसायीले नै बनाउने जिम्मा लिन पाउँछन् ।’
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा रूपमा गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया 4