+
+

दानाको कच्चा पदार्थ आयातमा लगाइने कर घटाउन व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १३:४९

३० फागुन, काठमाडौं । कच्चा पदार्थमा भएको मूल्यवृद्धिले दानामा अत्यधिक मूल्य बढेको भन्दै व्यवसायीले सरकारले लिँदै आएको कर घटाउन माग गरेका छन् । नेपाल दाना उद्योग संघले एक विज्ञप्ति निकाल्दै विभिन्न वस्तुको आयातमा सरकारले लगाइरहेको कर घटाउन माग गरेका हुन् ।

दाना बनाउने कच्चापदार्थ मुख्यतः मकै, भटमासको पिना, औषधिहरु, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको अशोभाविक मूल्य वृद्धिबाट उत्पादन लागत बढेको संघले जनाएको छ ।

आव २०७४/७५ को बजेटसम्म दाना उद्योगलाई आवश्यक कच्चापदार्थ (मकै तथा भटमासको पिना)को भन्सार महसुल १.६ प्रतिशत मात्र थियो । यो दर २०७५/७६ बाट मकैमा ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशतसम्म कृषि सुधार शुल्क बढाइएको छ । यसले स्वतः दानाको मूल्य बढेको संघले जनाएको छ ।

पशुपन्छीको आहारमा प्रयोग हुने धेरैजसो कच्चा पदार्थहरुको मूल्य बढेसँगै दानाको मूल्य पनि बढेको छ । विगत २ महिनादेखि सदर १०० रुपैयाँ प्रति केजी रहेको भटमास पिना ११५ र ३८–३९ रहेको मकैको दर ४७ रुपैयाँ प्रति केजी रहेको छ जसका कारण दानाको उत्पादन लागत बढेको छ भने कृषकले उत्पादन गर्ने कुखुरा र अण्डाको लागत मूल्य पनि बढेको छ । मासु र अण्डा उत्पादन लागतमा दानाको ६० प्रतिशत हाराहारी योगदान रहने समेत संघको भनाइ छ ।

संघका अनुसार दाना बनाउन आवश्यक पर्ने फिड सप्लिमेन्टमा २५ देखि ३० प्रतिशतसम्म वृद्धि भएको छ । मकै करिब ६० प्रतिशत खपत हुन्छ भने भटमासको पिनाको खपत दाना उत्पादनमा लगभग २५–३२ प्रतिशत हुन जान्छ । सोहीकारण यसको प्रत्यक्ष प्रभाव दानाको मूल्यमा पर्ने समेत उल्लेख गरिएको छ ।

नेपालका दाना उद्योगमा १ खर्ब भन्दा बढिको लगानी रहेको र यस व्यवसायमा १ लाख बढीलाई रोजगारी दिएको संघले बताएको छ । नेपालमा ११४ वटा दाना उद्योग रहेका छन् । त्यसमा पनि ६० भन्दा बढी ठूलो लगानीका पेलेट फिड स्थापना भई उत्पादन गरिरहेका छन् । पोल्ट्री व्यवसायले नेपालको कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत योगदान पुर्‍याएको दाबी समेत संघको छ ।

यस्तो छ संघको माग

  • भटमासको पिनामा लाग्दै आएको कर ९ प्रतिशतबाट घटाएर पुरानै दर १.६ प्रतिशत हुनुपर्ने ।
  • विगतको समयमा बंगलादेशवाट सहज रुपमा भटमास पिना आयात भइरहेकोमा हाल आएर बंगलादेशबाट भारतमा समेत निर्यात हुन थालेपछि बंगलादेश सरकारले निर्यातमा रोक लगाएको छ भने तत्काल नेपालको तर्फबाट नेपाल निर्यात खुलाउन बंगलादेश सरकार समक्ष कुटनितिक पहलको लागि कार्य गर्नुपर्ने ।
  • मकैमा लाग्दै आएको कर ५ प्रतिशतबाट घटाई पुरानै दर १.६ प्रतिशत कायम हुनुपर्ने ।
  • औषधिमा लाग्दै आएको कर १० प्रतिशतबाट घटाएर पुरानै दर १ प्रतिशत कायम हुनुपर्ने ।
  • दीर्घकालीन रुपमा यी र यस्ता समस्याहरु समाधान गर्न बृहत रुपमा मकै तथा भटमास खेतीलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराउने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?