+

क्रिकेटमा काठमाडौं, ब्याटमिन्टनमा चितवन र धादिङलाई उपाधि

२०७८ चैत  १ गते २०:२३ २०७८ चैत १ गते २०:२३
क्रिकेटमा काठमाडौं, ब्याटमिन्टनमा चितवन र धादिङलाई उपाधि

१ चैत, हेटौंंडा । बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा क्रिकेटतर्फको उपाधि काठमाडौंले र ब्याडमिन्टनतर्फको उपाधि चितवन र धादिङले जितेका छन् ।

मंगलबार भएको महिला क्रिकेटको उपाधि जित्ने क्रममा काठमाडौंले घरेलु टोली चितवनलाई ६४ रनको फराकिलो अन्तरले हराएको हो ।

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर व्याटिङ रोजेको काठमाडौंले २० ओभरमा १ विकेट गुमाउँदै १ सय ६२ रन जोडेको थियो । काठमाडौंका लागि कञ्चन श्रेष्ठले ७० र अस्मिता खरेलले ४३ रन बनाए ।

१ सय ६३ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ४ विकेट गुमाउदै ९८ रन मात्र बनायो । क्रिकेटको पुरुषतर्फको खेल बुधबार हुनेछ । पहिलो खेल रामेछाप र नुवाकोट र दोस्रो खेल रसुवा र धादिङबीच हुने खेल संयोजक प्रेमबहादुर क्षेत्रीले बताए । पुरुषतर्फ सिन्धुलीले सहभागिता जनाएको छैन ।

हेटौंडामा भएको ब्याडमिन्टन प्रतियोगिताको पुरुषतर्फको उपाधि चितवनले जितेको छ । फाइनलमा ललितपुरलाई ३–१ को सोझो सेटमा पाखा लगाउदै चितवनले उपाधि जितेको हो । प्रतियोगितामा धादिङ र सिन्धुली तेस्रो भए ।

महिलातर्फको उपाधि धादिङले हात पारेको छ । फाइनल प्रतिस्पर्धामा सिन्धुपाल्चोकलाई ३–२ को सेटले पराजित गर्दै धादिङले उपाधिमाथि कब्जा जमाएको हो । प्रतियोगितामा ललितपुर र नुवाकोट तेस्रो भए ।

पहिलो हुनेले ३० हजार, दोस्रोले २४ हजार र तेस्रो हुनेले १८ हजार रुपैयाँ पाएका छन् ।

सिन्धुली र भक्तपुर क्वार्टरफाइनल प्रवेश

फुटबलमा मंगलबारको खेलमा बिजयी हुँदै सिन्धुली र भक्तपुर क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । हेटौंडाको क्याम्पा रंगशालामा भएको खेलमा सिन्धुलीले काठमाडौंलाई ६–० गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

यस्तै प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा रसुवालाई ६–० गोल अन्तरले हराउँदै भक्तपुरले अन्तिम चारमा स्थान पक्का गरेको हो । आयोजकका अनुसार बुधबार पहिलो खेल धादिङ र काभ्रेपलाञ्चोक र दोस्रो खेल सिन्धुली र मकवानपुरबीच हुने छ ।

मकवानपुरमा चैत ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने छ ।

त्यस्तै, काभ्रेमा चैत ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ हुने छ । प्रतियोगिताको लागि आठ करोड ४ लाख रुपैयाँ रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दा बढी खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको समापन चैत १२ गते काभ्रेको धुलिखेलमा हुने बागमती प्रदेश खेलकुद परिषदले जनाएको छ ।

क्रिकेट खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय