+

टप अर्डर फ्लप, रोहित र आरिफको कीर्तिमानले धानेको साख

२०७८ चैत  २ गते १८:४५ २०७८ चैत २ गते १८:४५
टप अर्डर फ्लप, रोहित र आरिफको कीर्तिमानले धानेको साख

२ चैत, काठमाडौं । रोहित कुमार पौडेल र आरिफ शेखको कीर्तिमानी शतकीय साझेदारी मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलामा पपुवा न्युगिनी (पीएनजी)सँगको २ विकेटले जितेको छ ।

ब्याटिङमा खराब सुरुवात गरे पनि रोहित र आरिफले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गरेपछि २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

मिडल अर्डरमा रोहित र आरिफले अर्धशतक प्रहार गर्दा लोअर अर्डरमा करण केसीले आक्रमक ब्याटिङ गर्दै नेपाललाई जिताए । जितपछि लिग टू मा नेपालले ९ खेलबाट १० अंक जोडेको छ । ७ टोली सहभागी लिग टू मा नेपाल छैटौं स्थानमा छ । लगातार १४ खेल हारेको पीएनजी भने अंकविहिन छ ।

ओपनिङ र टप अर्डरमा नेपालको ब्याटिङ चल्न नसक्दा फेरि एक पटक मिडल अर्डरमै निर्भर रहनु पर्‍यो । ६ महिनाअघि ओमानमा भएको लिग टू कै श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका रोहित पौडेलले यस पटक पनि उत्कृष्ट प्रदर्शन गरे ।

एकदिवसीय अन्तर्राष्ट्रियमा ज्ञानेन्द्र मल्लसँगै नेपालका लागि सर्वाधिक ४ अर्धशतक बनाउने खेलाडी बनेका रोहितले सर्वाधिक साझेदारीको कीर्तिमानमा पनि आफूलाई सामेल गराए ।

उनी ३६१ रन सहित ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४२२ रन बनाएका छन् ।

पीएनजीविरुद्ध रोहित र आरिफले गरेको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि कुनै पनि विकेटका लागि गरेको यो सर्वाधिक साझेदारी हो । रोहितले ६० र आरिफले ४९ रन बनाए ।

यसअघि सन् २०२१ को सेप्टेम्बरमा लिग टू अन्तर्गत नै ओमानविरुद्ध ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए ।

पीएनजीविरुद्ध लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात भने खराब रह्यो । ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रन बनाएर दोस्रो ओभरमै आउट भए । यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्ल तेस्रो ओभरमा ४ रन बनाएर आउट भए ।

दशौँ ओभरमा दीपेन्द्र सिंह ऐरी ८ रनमा आउट हुँदा नेपाल २४-३ को स्थितिमा पुग्यो । अर्का ओपनर आसिफ शेख १६ रन बनाएर १५औं ओभरमा आउट भएपछि नेपालले ४२ रनमै चौथो विकेट गुमायो ।

ओपनिङ र टप अर्डर यस पटक चलेन । तर त्यसपछि दुई युवा ब्याटर रोहित र आरिफले इनिङ्स सम्हाल्दै जितको आधार तयार गरे । पाँचौ विकेटका लागि यी दुईले २२.२ ओभर खेल्दै १०२ रनको साझेदारी गरे ।

रोहितले ८५ बल खेल्दै ४ चौका मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै आरिफले ८१ बल खेलेर २ चौका मद्दतमा ५३ रन जोडे ।

त्यसपछि आएका विनोद भण्डारी ११ र सोमपाल कामी ८ रन बनाएर आउट भए । आठौं नम्बरमा ब्याटिङ गरेका करण केसीले २५ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित २९ रन बनाए । नेपालको इनिङ्समा करण केसी छक्का प्रहार गर्ने एक्ला खेलाडी रहे ।

पीएनजीका लागि नोर्मन भानुअ, अलेइ नाओ र रिले हेकुरेले २-२ तथा चाड सोपर र असद भालाले समान १ विकेट लिए ।

त्यसअघि शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको थियो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए ।

पीएनजीका लागि ओपनरद्वय टोनी उरा र लेगा सिएकाले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए । आरिफ शेखले दशौँ ओभरमा २७ रन बनाएका उरालाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराउँदै ५१ रनको साझेदारी तोडेका थिए ।

यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानीडेब्यूगरेका सन्दीप लामिछानेले १३औं ओभरमा अर्का ओपनर लेगा सिएकालाई बोल्ड गर्दै नेपाललाई अर्को सफलता दिलाए । सिएकाले २५ रन जोडे ।

त्यसपछि कप्तान असद भाला र चार्ल्स अमिनीले इनिङ्स सम्हाल्ने प्रयास गरे । तर यी दुईबीचको ३५ रनको साझेदारी नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २४औं ओभरमा तोडे । भालाले १९ रन बनाए । ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन् ।

अर्को ओभरमा हिरी खाता नखोल्दै आउट भएपछि पीएनजीले ९१ रनमा चौथो विकेट गुमायो । त्यसपछि पाँचौ विकेटका लागि अमिनी र चार्ड सोपरले ७४ रनको साझेदारी गरे । ४५औं ओभरमा सोमपाल कामीले अमिनीलाई आउट गर्दै साझेदारी तोडेका थिए । चार्ड सोपर ३५ र नोर्मन भानुअ २३ रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १-१ विकेट लिए । यस्तै दीपेन्द्र सिंह ऐरीले किफायती बलिङ गर्दै १० ओभरमा २६ रन मात्र खर्चिए ।

नेपालको जितमा महत्वपूर्ण प्रदर्शन गरेका रोहित पौडेल खेलको म्यान अफ दि म्याच भए । यसै खेलबाट स्पीनर सागर ढकालले ओडीआईमाडेब्यूगरे । उनले ४ ओभर बलिङ गर्दा २१ रन खर्चिएर विकेटविहिन बने । लिग टू श्रृंखलामा नेपालले दोस्रो खेल शुक्रबार घरेलु टोली युएईसँग खेल्नेछ ।

क्रिकेट खेलकुद विश्वकप लिग टू
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय