+

मैत्रीपूर्ण फुटबल : थाइल्याण्डसँग स्तर जाँच्ने अवसर

२०७८ चैत  ३ गते १४:२४ २०७८ चैत ३ गते १४:२४
मैत्रीपूर्ण फुटबल : थाइल्याण्डसँग स्तर जाँच्ने अवसर

३ चैत, काठमाडौं। एएफसी एसियन कप छनोटको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमले चैत १० गते थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालले चैत १० गते थाइ राष्ट्रिय टोलीसँग र १३ गते थाई शीर्ष डिभिजनको चोनवुरी एफसीसँग खेल्नेछ । चोनवुरी सन् २००७ को थाइ लिग च्याम्पियन हो ।

मैत्रीपूर्ण खेलका लागि अधिकांश नियमित सदस्यविना नै नेपालले बन्द प्रशिक्षण सुरु गरेको छ । एएफसी कपको तयारीमा रहेको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीका खेलाडीविना २५ जना खेलाडीलाई राखेर प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षण सुरु गरेका छन् ।

छोटो समयमा नै तयारी सक्नु पर्ने बाध्यतामा रहेका प्रशिक्षक अल्मुताइरीले थाइल्याण्डसँगको खेल नेपाललाई स्तर परीक्षण गर्ने अवसरका रुपमा लिएको बताए । ‘एसियन कप क्वालिफायर अघि यो अन्तिम अवसर हो’, उनले भने, ‘त्यसैले मैत्रीपूर्ण खेलमा केन्द्रित हुनुपर्छ ।’

नेपालले गत माघमा अफ्रिकी टोली मरिसससँग दशरथ रंगशालामा २ मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेलमा नेपाल १–० ले विजयी भयो । यसपल्ट दुवै खेल थाइल्याण्डको चोनवुरीमा हुनेछ ।

प्रशिक्षक अल्मुताइरीले त्यही मरिससमाथिको दुई जितलाई लिएर धेरै उत्साहित हुन नपर्ने बताए । ‘मरिससलाई हराउँदैमा हामी उत्कृष्ट भनेर सोच्नु गलत हुन्छ’, अल्मुताइरीले भने, ‘हामीले आफनो स्तर थाहा पाउनुपर्छ, यो हाम्रो सुरुवात मात्र हो ।’

आगामी जुनमा हुने एसियन कप छनोटको तेस्रो चरणमा नेपाल समूह एमा परेको छ । नेपालको समूहमा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । यी तीनै टोलीलाई नेपालले अहिलेसम्म हराउन सकेको छैन ।

बलिया प्रतिस्पर्धीसँग खेल्नुअघि थाइल्याण्डसँगको खेलबाट नेपाल टिमले आफ्नो वास्तविकता बुझ्ने प्रशिक्षकको विश्वास छ । थाइल्याण्ड बलियो टिम हो । छनोट प्रतियोगितामा थाइल्याण्ड, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंकाको समूहमा छ । ‘दुई दक्षिण एसियालीको टिमसँग खेल्नुपर्ने भएकोले थाइल्याण्डले अभ्यासका खेलका लागि हामीलाई छानेको होे’, अल्मुताइरीले भने, ‘हामीले पनि कुवेत, जोर्डन, इन्डोनेसियासँग खेल्नु पर्ने छ । यस खेलबाट हामीले हाम्रो स्तर थाहा पाउने छौं ।’

‘क्लिनसिट’मा नजर

अब्दुल्लाह अलमुताइरीले थाइल्याण्ड भ्रमणको नतिजाले असर नगर्ने बताए । ‘हामीसँग धेरै समय छैन । ५ दिन तयारी गरेर थाइल्याण्ड जान्छौं’, भन्छन्, ‘नतिजा जस्तो भए पनि हामीले टिमको रुपमा कति गर्न सक्छौ, त्यसमा ध्यान केन्द्रित हुनेछ ।’

नेपाललाई मैत्रीपूर्ण खेलका लागि फिलिपिन्सबाट प्रस्ताव आएको छ । तर यसबारेमा कुनै निर्णय नभइसकेको उनले बताए ।

अल्मुताइरीको आगमनपछि नेपालले प्राय खेलमा गोल गरेको छ । मरिसससँगको पछिल्ला दुई खेलमा पनि नेपालले समान एक गोल गरेर जित्यो । नेपालले पछिल्ला दुई खेल गोल नखाई क्लिनसिट राखेको छ । यस पटक पनि प्रशिक्षकको नजर क्लिनसिटमा हुनेछ ।

अलमुताइरीले थाइल्याण्ड विरुद्ध गोल नखाएमा लगातार तीन क्लिनसिटको कीर्तिमान बन्ने बताए । ‘नेपालले लगातार तीन खेलमा क्लिनसिट राखेको छैन । हामीलाई लगातार ३ खेलमा क्लिनसिट राख्ने अवसर छ । कीर्तिमान बिना इतिहास बन्दैन,’ सुन्दर फुटबललाई जोड दिँदै उनले थपे, ‘हामीले प्रदर्शनमा सुधार गर्नुपर्छ । हामीले कसरी सुन्दर फुटबल खेल्न सक्छौं भनेर देखाउनुपर्छ ।’

मछिन्द्रको निर्णयप्रति सम्मान

यस पटक अल्मुताइरीले बोलाएको २५ जनाको टिममा लिग च्याम्पियन मछिन्द्र एफसीका खेलाडी समावेश गरिएको छैन । मछिन्द्रले यही चैत २२ गते घरेलु मैदानमा एएफसी कप प्रारम्भिक चरणको खेलमा श्रीलंकाली टोली ब्लू स्टारसँग खेल्दैछ ।

क्लबस्तरीय खेल नजिकिएका कारण मछिन्द्रकै अनुरोधमा राष्ट्रिय टिममा उनीहरुका खेलाडी समावेश नगरिएको हो । मछिन्द्रका खेलाडी हुँदा राष्ट्रिय टिममा धेरै विकल्प हुने भए पनि प्रशिक्षक अल्मुताइरीले क्लबको निर्णयप्रति सम्मान गरेका छन् ।

‘मछिन्द्रको खेलाडी पनि भएको भए धेरै विकल्प हुन्थ्यो’, उनले भने, ‘खेलाडी रिलिज नगर्ने उनीहरुको निर्णयको सम्मान गर्छु ।’ अलमुताइरीले मुख्य प्रतियोगिताका बेला भने राष्ट्र पहिला आउने भएकोले सबै टिमले खेलाडी रिलिज गर्नु आवश्यक हुने बताए ।

थाइ क्लबसँगको मैत्रीपूर्ण खेलमा आफूले मछिन्द्रका खेलाडीलाई खेल्ने समय उपलब्ध गराउने सोचे पनि रिलिज नगरेपछि त्यो सम्भव नभएको सुनाए ।

उनले टिममा रहेका सबै खेलाडी क्षमतावान रहेको र देशका लागि खेल्न तयार रहेको पनि बताए । ‘सबैजना तयार छन् । नयाँ खेलाडीलाई अवसर छ । हरेक खेलाडी देशका लागि खेल्न तयार छन् । सबै जना तयार छन् । नेपालमा धेरै क्षमतावान छन्’, अल्मुताइरीले भने ।

एसियन कप क्वालिफायरमा नेपालले पहिलो खेल जोर्डनसँग जुन ८ (जेठ २६ गते)मा खेल्नेछ । दोस्रो खेल कुवेतसँग जुन ११ (जेठ २८ गते)मा र तेस्रो खेल इन्डोनेसियासँग जुन १४ (जेठ २४ गते)मा खेल्नेछ ।

जोर्डन र कुवेत नेपालको लागि परिचित प्रतिद्वन्द्वी हो । इन्डोनेसियासँग भने नेपालले अहिलेसम्म एक खेल मात्र खेलेको छ । जोर्डन र कुवेतसँग नेपालले यसअघि एसियन कपको दोस्रो चरणमा खेलिसकेको छ । ‘क्वालिफायरका लागि समूह निर्धारण हुँदा हामी भाग्यमानी भएनौं । यो हाम्रो लागि वास्तविक फुटबल थाहा पाउने अवसर पनि हो’, एसियन कप छनोटको समूह विभाजनलाई लिएर उनले थपे, ‘हामीले जोर्डनसँग खेलिसकेका छौं । राम्रो गर्नका लागि धेरै सुधार गर्नुपर्छ । जोर्डनसँगको खेल हाम्रो लागि ठूलो परीक्षा हो ।’

हेर्नुहोस् नेपाली फुटबल खेलाडीले बिहीबार होली खेलेको तस्वीर  

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

एएफसी एसियन कप थाइल्याण्ड मैत्रीपूर्ण फुटबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय