
३ चैत, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी गठनबन्धनको धेरै वकालत गर्छन् । चुनावसम्मै सत्तारुढ गठबन्धन जोगाएर लैजानुपर्छ भन्नेमा लागिरहेका नेता हुन्, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।
प्रधानमन्त्री शेरबहादुर देउवा पनि गठबन्धनप्रति सकारात्मक छन् । तर नेपाली कांग्रेसकै नेताहरु नै गठबन्धनप्रति सकारात्मक छैनन् । स्वयं माओवादी नेता कार्यकर्तालाई पनि कांग्रेससँग गठबन्धन सहज हुन्छ भन्ने लागेको छैन ।
त्यसलाई राम्ररी बुझेका प्रचण्डले पनि गठबन्धनभन्दा आफ्नै खुट्टामा उभिनुपर्ने बताउन थालेका छन् । नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेतालाई साथमा लिएर देश दौडाहामा रहेका प्रचण्डले नेता कार्यकर्तालाई भन्ने गरेका छन्, ‘गठबन्धनबाट आश गरेर जितौंला र खाउँला भन्ने दिमागबाट हटाइदिनुस् ।’
बुधबार प्रज्ञा भवनमा आयोजित गैरभौगोलिक प्रदेश समितिको चुनावी प्रशिक्षणमा प्रचण्डले भने, ‘गठबन्धन हुन्छ, उनीहरूले हामीलाई छोड्छन्, हामीले चुनाव जित्छौं र भोलि पनि राम्रै पोजिसनमा हुन्छौं भन्ने दिमागबाट हटाइदिनुस् । आफैं नमरी स्वर्ग देखिँदैन । आफ्नै खुट्टामा, आफ्नै तागतको बलमा हामीले चुनाव जित्छौं भन्ने आत्मविश्वासको साथ हामी अगाडि बढ्नुपर्छ ।’
आगामी चुनावलाई माओवादीको ‘जीवन मरणको लडाइँ’का रुपमा व्याख्या गरेका प्रचण्डको जोड दुई महिना चुनाव केन्द्रित हुनुपर्नेमा थियो । ‘मुल कुरा पार्टीले जित्नुपर्यो’, उनको जोड छ, ‘पार्टी जित्यो भने सेल समितिमा भए पनि महान हुन्छौं, पार्टीले हार्यो भने हामी सबैको हालत खराब हुन्छ । त्यसैले जसरी पनि जित्ने गरी दुई महिना पूरा अर्जुन दृष्टि लगाउनुपर्यो ।’
कार्यकर्तामा जाँगर भर्ने प्रयास
एक दशक सशस्त्र विद्रोह गरेको माओवादी शान्तिपूर्ण राजनीतिमा आएको पनि १५ वर्ष नाघिसकेको छ । संविधानसभाका दुई र एउटा संसदीय गरी तीन वटा निर्वाचनको अनुभव पनि लिइसकेको छ । २०६४ मा माओवादी देशकै ठूलो पार्टी बन्यो, तर २०७० को दोस्रो संविधानसभा चुनावमा नराम्रो पराजय भोग्नुपर्यो ।
त्यसयता माओवादीले एक्लै चुनाव लडेको छैन । २०७४ को स्थानीय तह चुनावमा कांग्रेससँग तालमेल गरेको माओवादी प्रदेश र प्रतिनिधिसभा चुनावमा एमालेसँग वाम गठबन्धन गर्न पुग्यो । स्थानीय चुनावमा कांग्रेससँग भएको तालमेलले माओवादीलाई केही जित हासिल भयो । एमालेसँग ४० प्रतिशत भाग लिएर वाम गठबन्धन गरेको माओवादीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले भन्दाबढी ३६ सिट जितेको थियो ।
चुनाव लगत्तै एमाले र माओवादी केन्द्रले एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएका थिए । दुई पार्टीको एकता साढे ३ वर्ष पनि टिकेन । ५ पुस २०७७ मा प्रतिनिधिसभा भंग भएसँगै अलग अलग भए र २३ फागुन २०७७ को सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरेपछि माओवादी केन्द्र ब्यूँतियो ।
तर माओवादीको एउटा हिस्सा एमालेमै बस्यो । माओवादी पनि सांगठनिक रुपमा चुस्त हुन सकेन । मंसिरमा महाधिवेशन गरेको पार्टीले अहिलेसम्म अध्यक्ष बाहेक अरु पदाधिकारी चुन्न सकेको छैन । तल्ला कमिटीहरुको अवस्था पनि त्यस्तै छ ।
यस्तोमा कार्यकर्तामा बाँकी रहेको निराशा तोड्न र उनीहरुमा जाँगर भर्न प्रचण्डले गठबन्धनको भर नपर्न निर्देश गरेको पूर्व स्थायी समिति सदस्य गणेश साह बताउँछन् । भन्छन्, ‘गठबन्धनले दुःखै नगरी खाने संस्कार कार्यकर्तामा विकसित भयो । त्यसलाई चिर्नलाई पनि अध्यक्षले त्यस्तो अभिव्यक्ति दिनुभएको होला ।’
अर्का पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेल अझै पनि माओवादी सानो शक्ति नभएकाले आफ्नै तगतमा चुनाव लड्नेगरी अघि बढ्नु उचित रहेको बताउँछन् ।
‘हामीसँग आठ लाख संगठित सदस्य छन् । प्रत्येक सदस्यले अरु दुई मत मात्रै बढाउँदा पनि २४ लाख पुग्छ । चुनावमा २४ लाख मत पाउने पार्टी कमजोर हुँदैन’, पोखरेल भन्छन् । सबै कार्यकर्ता गाउँ–गाउँमा पुगेर लागिपर्दा माओवादीका लागि चुनाव त्यति गाह्रो नहुने उनी बताउँछन् ।
प्रचण्डको देश दौडाहा र कार्यकर्ता परिचालन
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनसँगै माओवादी फुटको संघारमा पुगेको थियो । असन्तुष्ट नारायणकाजी श्रेष्ठ नेतृत्वको समूहलाई मनाउन प्रचण्डले एमसीसीबारे स्थानीय चुनावपछि छलफल गर्ने र फरक मतबारे छलफल चलाउन दिने सहमति गरेका छन् ।
पार्टीको सम्भावित फुट टरेपछि प्रचण्ड प्रदेशस्तरीय प्रशिक्षणका लागि देश दौडाहामा छन् । बागमती, कर्णाली, प्रदेश १, सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण दिइसकेका प्रचण्ड बिहीबार लुम्बिनी प्रदेशको बुटवल पुगेका छन् ।

६ चैतमा गण्डकी र ८ गते मधेश प्रदेशमा उनले प्रशिक्षण दिने तय छ । प्रचण्डले आठौं महाधिवेशन, त्यसपछिको केन्द्रीय समिति बैठक, एमसीसी र स्थानीय चुनाव केन्द्रित प्रशिक्षण दिइरहेको केन्द्रीय सदस्य युवराज दुलाल बताउँछन् । ‘केन्द्रीय कमिटी बैठक र राष्ट्रिय महाधिवेशनपछिको प्रशिक्षण हो’, दुलालले अनलाइनखबरसँग भने, ‘एमसीसीबारे जिज्ञासाहरु र स्थानीय तहका पार्टीको लक्ष्यलगायतको विषयमा अध्यक्षले प्रष्ट पारिरहनुभएको छ ।’
पार्टीमा एकताको सन्देश दिन प्रचण्डले सबै कार्यक्रममा नेता श्रेष्ठलाई सँगै लिएर जाने गरेका छन् । बिहीबार बुटवलमा एमसीसी अनुमोदनसँगै देखिएको असन्तुष्टिबारे प्रश्न गरेका पत्रकारलाई प्रचण्डले प्रतिप्रश्न गरे, ‘हामीसँगै आएका छौं, देशभरि पनि सँगसँगै हिँडेका छौं । तपाईंले घाउ कोट्याउन खोजेको हो ?’
माओवादी नेताहरुका अनुसार प्रदेशगत प्रशिक्षण मात्रै होइन, स्थानीय तहको चुनाव केन्द्रित दुई महिने अभियानका लागि चुनावी कमाण्ड बनाएर नेता कार्यकर्ता परिचालन गरिएको छ । माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार २८ वटा त्यस्ता कमाण्ड बनाइएको छ । जस अनुसार प्रदेश १ र बागमतीमा पाँच/पाँचवटा, मधेश, गण्डकी र लुम्बिनीमा चार/चारवटा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा तीन/तीनवटा कमाण्ड बनाइएको छ । प्रदेश समिति मातहत रहने ती कमाण्डको नेतृत्व वरिष्ठ केन्द्रीय सदस्यले गर्नेछन् ।
गठबन्धनमा खुला, तर भर आफैंमाथि
माओवादी केन्द्रका नेताहरुले कांग्रेस मात्र होइन, एमालेसँग गठबन्धन गर्ने सम्भावना पनि अस्वीकार गरेका छैनन् । बिहीबार बुटवल पुगेका प्रचण्डले एमालेसँग गठबन्धन हुने नहुने कांग्रेसको व्यवहारमा पनि भरपर्ने बताएका छन् ।
गठबन्धन सरकारको नेतृत्व गरिहेका कांग्रेसका सभापति देउवा गठबन्धनकै पक्षमा छन् । तर एक महिना चुनावी अभियानका क्रममा आफ्नो शक्तिको आँकलन गरेपछि मात्र कांग्रेसले निर्णय गर्ने सम्भावना छ ।
प्रचण्ड निकट केन्द्रीय सदस्य दुलाल पनि सबैले आफ्नो मूल्यांकन गरेर सहयोग आवश्यक देखे चुनावी गठबन्धन हुने बताउँछन् । ‘सबैले आफ्नो मूल्यांकन गर्छन्, अरुको पनि सहयोगको महसुस गरे भने गठबन्धन गर्छन्’, उनी भन्छन्, ‘गठबन्धन अहिले हुँदैन भन्ने पनि छैन, तर गठबन्धनमा भर गर्न सकिने स्थिति पनि छैन । त्यसैले गठबन्धनको ढोका खुला राखेर माओवादीले एकल तयारी गर्ने हो ।’
कांग्रेससँग गठबन्धन भए पनि देशव्यापी नहुने र ठाउँ विशेष मात्रै हुने माओवादी नेताहरुले बुझेका छन् । ‘स्थानीय चुनाव भनेको केन्द्रको भन्दा विल्कुलै फरक हुन्छ’, माओवादी केन्द्रीय सदस्य दुलाल भन्छन्, ‘त्यहाँको अन्तरविरोध फरक हुन्छ । कहीं एमालेविरुद्ध कांग्रेस र माओवादीको गठबन्धन हुनसक्छ, कहीं कांग्रेसविरुद्ध एमाले र माओवादी हुनसक्छ । कहीं माओवादीविरुद्ध एमाले र कांग्रेसको गठबन्धन हुन्छ । सोलोडोलोमा हुँदैन । त्यसैले केन्द्रबाट निर्णय गरेर स्थानीय तहको गठबन्धन भरपर्दो हुँदैन ।’
प्रतिक्रिया 4