+
+

चुनावमा एनजीओले पनि उम्मेदवारलाई भोट माग्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १८:३५

३ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको आचारसंहितामा गैरसरकारी वा निजी संस्थाका कर्मचारी र पदाधिकारीलाई पनि कडाइ गरेको छ ।

बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ अनुसार गैरसरकारी तथा निजी संस्था तथा त्यस्तो संस्थासँग सम्बद्ध पदाधिकारी तथा कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाइने व्यवस्था गरिएको छ ।

यस्तै गैरसरकारी तथा निजी संस्थाले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा आफ्ना सवारी साधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन पाउने छैनन् । आचारसंहिता विकास साझेदार संस्थालाई पनि लागू हुनेछ । यद्यपि आचारसंहिता लागू हुने मिति भने आयोगले तोक्न बाँकी छ ।

आचारसंहितामा गैरसरकारी र निजी संस्थाले पालना गर्नुपर्ने नियम के छ ?

(क) राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने ।

(ख) कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नहुने ।

(ग) कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा आफ्ना सवारी साधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचारप्रसारको प्रायोजन गर्न नहुने ।

(घ) निर्वाचन शिक्षा सम्बन्धी प्रचारप्रसार बाहेक कुनै राजनीतिक प्रकृतिको कार्यक्रम गर्न नहुने ।

(ङ) निर्वाचन वा मतदाता शिक्षालाई प्रभावित गर्ने उद्देश्यले कुनै सहयोग, पुरस्कार, सामग्री प्राप्त गर्न नहुने ।

(च) कार्यालयमा निर्वाचन सम्बन्धी शिक्षामूलक सूचना सामग्री टाँस्न तथा प्रयोग गर्न बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारका सामग्री टाँस्न वा राख्न नहुने ।

(छ) आफू वा आफू सम्बद्ध संस्थाको तर्फबाट कनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नहुने ।

(ज) सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल
मार्फत मत माग्न नहुने ।

(झ) राजनीतिक दल वा उम्मेदवार तथा उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुऱ्याउने काम गर्न नहुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?