+
+

भ्रातृ संगठनहरुमा अध्यक्ष मात्र तोक्ने देउवाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते २०:४२

३ चैत, काठमाडौं । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार भ्रातृ संगठनहरुको तदर्थ समिति गठन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असफल भएका छन् । अब पनि सुरुमा अध्यक्ष मात्र तोक्ने उनको तयारी छ ।

३ फागुनमा बसेको कार्यसम्पादन समितिको बैठकले १० भ्रातृ संस्थाको केन्द्रीय समिति विघटन गर्ने र स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएको तीन महिनाभित्र नयाँ नेतृत्व चयन गर्ने कार्यादेशसहित तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

समयावधिभित्र नेतृत्व चयन गर्न नसके तदर्थ समिति स्वतः विघटन गर्ने भनिएको थियो । साथै आपसी परामर्शमा तदर्थ समिति गठनको जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो ।

कार्यसम्पादन समितिको निर्णयअनुसार नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघको तदर्थ समिति बन्नुपथ्र्यो । तर अझैसम्म तदर्थ समिति बनेको छैन ।

प्रधानमन्त्री समेत रहेका देउवाले भ्रातृ संस्थामा अध्यक्ष मात्रै तोक्ने तयारी गरेका छन् । ‘फागुनभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरिएको थियो, अब दुई÷चार दिनमा अध्यक्ष तोकिन्छ’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘पूर्ण कार्यसमिति एकै पटकमा आउँदैन ।’

निकटवर्तीहरुका अनुसार देउवाले भ्रातृ संस्थाका अध्यक्षहरुको नाम करिब टुंगाएका छन् । नेविसंघमा ३२ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई नेतृत्व दिने शीर्ष तहमा सहमति बनिसकेको एक नेताले बताए ।

महाअधिवेशन नै नगर्ने प्रवृत्ति

कांग्रेसमा १३ भ्रातृसंस्थामध्ये पदावधि सकिएसँगै अधिवेशन गरेर नयाँ कार्यसमितिलाई जिम्मेवारी दिने कुनै पनि छैनन् ।

११ भदौ २०७३ मा ११ औं महाधिवेशन गरेको नेविसंघले त्यसपछि महाधिवेशन गर्न सकेको छैन । नेविसंघ केन्द्रीय समितिको पदावधि दुई वर्षको हुने कांग्रेसको विधानको व्यवस्था अनुसार २०७५ भदौमै अधिवेशन गर्नुपर्ने थियो । अधिवेशन गर्न नसकेर अध्यक्ष नैनसिंह महरले २०७५ माघमा राजीनामा दिएपछि नेविसंघ एक वर्ष नेतृत्वविहीन बन्यो ।

१६ माघ २०७६ मा सभापति देउवाले संघको महाधिवेशन ६ महिनामा गर्ने गरी अध्यक्षमा राजीव ढुंगानासहित १० पदाधिकारी मनोनित गरे । पार्टीभित्रका तीन समूहले भागवण्डामा परेर मनोनित भएका पदाधिकारीले केन्द्रीय समिति विघटन हुँदासम्म महाधिवेशन गर्न सकेनन् ।

भ्रातृ संस्थामा माउ पार्टी हाबी हुने प्रवृत्ति तरुण दलमा पनि देखियो । मंसिर २०७३ मा भएको अधिवेशनमा अध्यक्षमा जीतजंग बस्नेत, उपाध्यक्षमा उत्तरकुमार चापागाईं, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ चयन भए तर ९५ सदस्यीय कार्यसमितिमा अरु सदस्यहरु नै चयन भएनन् । चार जनाको कार्यसमितिलाई कांग्रेसले समयावधि थप्दै फागुन २०७८ सम्म ल्यायो र विघटन गरिदियो ।

२०७३ को असोजमा महिला संघको नेतृत्वमा पुगेकी उमा रेग्मीले आफ्नो चारवर्षे कार्यकालमा अधिवेशन गराउन सकिनन् । अन्ततः महिला संघको केन्द्रीय समिति पनि विघटन भयो ।

नियमित कार्यकालभित्र महाधिवेशन भएको भए दलित संघले दुईवटा नया नेतृत्व पाउने बेला भइसक्यो । मीन विश्वकर्मा अध्यक्ष रहेको कार्यसमितिको अवधि २०७३ मा सकिएको थियो ।

केन्द्रीय महाधिवेशन गर्ने गरी सबै जिल्लाको अधिवेशन तत्कालीन समयमै सकेको संघले हालसम्म महाधिवेशन गर्न सकेको छैन । ७ देखि ९ चैतसम्म तोकिएको महाधिवेशन अन्तिम समयमा आएर स्थगित गरिएको छ । नयाँ कार्यसमिति चयन कहिले हुने अनिश्चित छ ।

पार्टीले असहयोग गरेको भन्दै नेपाल आदिवासी जनजाति संघका अध्यक्ष इन्द्रबहादुर गुरुङले अघिल्लो महिना राजीनामा दिए । २०६४ सालमा स्थापना भएको कांग्रेसको यो भ्रातृसंस्थाको गुरुङ संस्थापक अध्यक्ष पनि हुन् ।

स्थापनादेखि एकपटक पनि अधिवेशन गर्न नसकेको आदिवासी जनजाति संघलाई पनि पार्टीको केन्द्रीय समिति पनि विघटन भएको छ । नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) एकीकरण हुँदादेखि किसान संघको अधिवेशन हुन सकेको छैन ।

२०६६ सालमा चयन भएको राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र तामाङ संघको नेतृत्वले पनि अधिवेशन गर्न सकेको छैन । समयमा अधिवेशन नगरेकै कारण नेपाल ठाकुर समाज र भूतपूर्व सैनिक संघको केन्द्रीय समिति पनि विघटन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?