+
+

सिंचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्री भुसालको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १६:२७
ऊर्जामन्त्री पम्फा भुसाल/फाइल तस्वीर

४ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सिंचाइमा खपत हुने विद्युत महसुल निःशुल्क बनाउने घोषणा गरेकी छन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउनका लागि आफूले सिंचाइमा खपत हुने विद्युत महसुल निःशुल्क बनाउने लक्ष्य लिएको स्पष्ट पारिन् ।

गत १ मंसीरदेखि सिंचाइमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउन आफू लागि परेको बताइन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादन हुने वस्तुहरु आयात नगर्न पनि व्यवसायीसँग आग्रह गरिन् । नाफा हुन्छ भन्दैमा प्लास्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने उनको भनाइ थियो ।

उद्योगीहरुले मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउने खालको वस्तुहरुको उत्पादन र बिक्री वितरणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका वस्तुहरुको निर्यातमा जोड दिनुपर्ने बताइन् ।

‘नाफा हुन्छ भनेर जे पनि व्यवसाय नगरौं । राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने व्यवसाय गरौं । हाम्रो देशभित्र उत्पादन हुने वस्तु चाहिं आयात नगरौं,’ उनले भनिन्, ‘अहिले साढे २ खर्बको वार्षिक रुपमा खाद्यान्न, तरकारी र फलफूल आयात हुन्छ । त्यसलाई रोक्नका लागि कृषिमा आत्मनिर्भर बनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?