+
+
देवेन्द्रराज पाण्डेसँग संवाद :

‘राष्ट्रवाद परिवर्तन विरोधीको एजेण्डा हो’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते २१:००

नागरिक आन्दोलनमा डा. देवेन्द्रराज पाण्डे एउटा नमेटिने नाम हो । २०४६ सालको राजनीतिक परिवर्तनमा उनी जति सक्रियताका साथ सडकमा आए, त्योभन्दा अझै खरो गरी उत्रिए २०६२/६३ को जनआन्दोलनमा । उनकै अगुवाइको नागरिक आन्दोलनले कोरेको जनआन्दोलनको बाटोमा राजनीतिक दलहरू अलिपछि मात्रै मिसिएका थिए । संघीयता, धर्मनिरपेक्षता, संविधानसभाबाट समावेशी संविधान निर्माणको एजेण्डा उठाउँदै गर्दा कहिल्यै हार मानेनन्, थाकेनन् ! अहिले पनि उनको आवाज उत्तिकै प्रखर छ । हाल ८३ वर्षको उमेरमा कुदिरहेका पाण्डेसँग अनलाइनखबरकर्मी बिनु सुवेदीले गरेको संवादको सम्पादित अंश :

राष्ट्रवाद के हो ?

राष्ट्रवाद के हो भन्नेबारे चर्चा गर्नुअघि राष्ट्र भनेको के हो भन्ने बुझ्नुपर्छ । किनभने हाम्रो नेपालमा अहिले जे-जति विमति, असंगति छन् र कोही चाहिं सधैं सत्ता, शक्तिको नजिक बस्ने, उपेक्षित हुने जुन अवस्था छ त्यसलाई सम्बोधन गर्ने प्रयास हुँदाहुँदै प्रभावकारी हुन नसकेको स्थिति छ । यसको एउटा कारण नेपालीबीच, राजनीतिक र सामाजिक समुदायबीच राष्ट्र के हो भन्ने एकमत नभएको हो जस्तो लाग्छ ।

राष्ट्र भनेपछि जुन विविधता छ हाम्रो मुलुकमा- भाषा, संस्कृति र जातिका हिसाबले, त्यो सबैको इतिहाससँग गाँसिएको, सबैको दैनिकीसँग सम्बन्ध भएको र भविष्यको निम्ति सान्दर्भिक र सार्थक अवधारणा हो कि हैन भन्ने कुरा नै हो । त्यसबारेमा जुन मतभेद छ, जसले यो राष्ट्रलाई एउटा पुरातन हिसाबले बुझेको छ । विगतमा जे-जस्ता समुदाय र शक्तिको राज्यमा, राज्यशक्तिका साधनमा पहुँच थियो त्यो कायम रहनुपर्छ त्यसको पुनर्वितरण हुनुहुँदैन भन्ने सोच राख्नेले बढ्ता राष्ट्रवादको कुरा गरेको देख्छु ।

नेपालमा कम्युनिस्ट देखिन्छन् भने अन्यत्र दक्षिणपन्थीहरू । किनभने जब राजनीतिक शक्ति र सत्ताका निम्ति प्रतिस्पर्धा गर्ने शक्तिहरू आर्थिक, सांस्कृतिक, सामाजिक एजेण्डाविहीन हुन्छन्, अनि उनीहरूलाई राष्ट्रको कुरा समाउनुपर्ने हुन्छ! यो परिवर्तनको एजेण्डाविहीन मानसिक र सांगठनिक अवस्था जुन छ, पार्टी र उनीहरूको नेतृत्वको, त्यसको उपज हो यो भन्ने लाग्छ ।

त्यसैले राष्ट्रवाद भन्ने अवधारणा नै अस्पष्ट छ, राष्ट्रबारेमा नै अस्पष्ट भएकाले हामी यसबारे झन् अस्पष्ट छौं । साँच्चिकै भन्ने हो भने राष्ट्रलाई लगेर वादसँग जोड्नुहुँदैन भन्ने मेरो विचार छ । किनभने वाद भन्ने वित्तिकै विवाद भयो । राष्ट्रको बारेमा विवाद भयो । तपाईंको राष्ट्र, मेरो राष्ट्र भन्ने हुन्छ । यसबारे आ-आफ्नो परिकल्पना, सपना र मतभेद होला । तर त्यहाँ बेग्लै वाद भन्ने हुँदैन भन्ने लाग्छ । किनभने वाद भनेपछि विवाद आउँछ । समाजवाद, पूँजीवाद, साम्राज्यवाद जे भन्नुस् यी सबै विवादित हुन्छन् । त्यसैमा लगेर राष्ट्रलाई पनि झोस्नुहुन्न ।

राष्ट्रकै कुरा गर्दा हाम्रो संविधानले त ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनेको छ नि ! तर फेरि नेताहरूले कुरा गर्दा, आन्दोलन गर्नेहरूले आन्दोलन गर्दा, विचार प्रवाह गर्नेहरूले भूगोललाई राष्ट्र भन्छन् । यो बुझाइको राष्ट्र र संविधानले व्याख्या गरेको राष्ट्रबीचको फरक के हो ?

होइन अब, संविधानले त्यो व्याख्या गर्नुको पछाडि त ठूलो इतिहास छ नि ! त्यत्रो बडा आन्दोलन भए । त्यसै परिभाषित थिएन नि त ! पञ्चायतकालको कुरै छोडौं, बहुदलमा हामीले बनाएको संविधान त्यो थिएन । यसमा २०६२/६३ को आन्दोलन र माओवादीले पनि केही जस लिन खोज्लान् । उनीहरूले मुलुकको वास्तविक सामाजिक, सांस्कृतिक चरित्र के हो, इतिहास के हो भनेर जोड दिएर ल्याए नि ! हामीहरू पनि त्यसमा लाग्यौं । त्यसको उपज हो नि त्यो त !

किनभने त्यो बेलामा नयाँ नेपाल बनाउने भन्ने पनि कुरा उठे । समाजको रूपान्तरण हाम्रो मुद्दा थियो । राज्यको पुनसर्ंरचनाको माग हामी नागरिक आन्दोलनकर्मीको पनि थियो । यो सबैको परिणाम राष्ट्रको परिभाषा हो नि त ! त्यसलाई आत्मसात् गर्न नखोज्नेहरूले कि भूगोललाई देख्छ, कि माटोलाई ।

यसको पनि महत्व छ । तर मूल त मानिसले बनाएका समुदाय हुन् । उनीहरूको संस्कृति हो, इतिहास हो । उनीहरूको अनुभवबाट रचिएको एउटा कथन हो । जोसँग गएर फेरि हालका पिंढी त भइहाले प्रत्येकले आफ्नो सन्तान दरसन्तानको भविष्य त्यही संस्कारसँग देख्छ । त्यसकारण एउटा सामूहिकता पनि आउँछ, विविधताको बीचमा ।

नेताहरूले केही देख्दैनन् भने नेताहरू त यो विषयमा मात्रै होइन हरेक विषयमा उनीहरूको स्पष्ट बोध छैन । ज्ञान लिन पनि खोज्दैनन् । एउटा आफ्नो तत्कालको राजनीतिक स्वार्थका लागि अवसरवादी दृष्टिकोण अपनाउन उनीहरूलाई केही पनि गाह्रो छैन । त्यो गरेर आएका छन् । तर नेताभन्दा पनि नेताका समर्थक आम जनता छन्, जसले यस विषयमा चिन्तन गर्नुपर्ने, नगरेर नेताकै बोलीमा लोली मिलाउने जुन चलन छ नि त्यो दुःखको कुरा हो ।

अर्थतन्त्र बिग्रेको थियो, कांग्रेसले समाजवाद छोडेको थियो, त्यो समयलाई उपयोग गरेर माओवादीले तत्कालका लागि महत्वपूर्ण सन्देश र नारा लिएर आए । तर त्यो पनि त कृत्रिम नै रहेछ नि ! त्यो नारा, त्यो सन्देश, त्यो प्रतिबद्धता पाएको भए न माओवादीको, न जनआन्दोलन, न त संविधानको नै यो गति हुन्थ्यो ।

तर मलाई लाग्छ, विस्तारै यो सङ्लिन्छ । किनभने कुनै एउटा समुदायको थिचोमिचोमा अर्काे समुदाय बस्न सक्ने परिस्थिति छैन, अब । सङ्लिन अलिकति समय लाग्ने हो । समय लाग्नु स्वाभाविक पनि छ । दुई-तीन सय वर्षको इतिहास हेर्दा पनि जसरी हामी गुज्रियौं र त्यसबाट संविधानले राष्ट्रलाई कसरी हेर्ने भन्ने कुरामा जुन प्रकारको परिवर्तन खोजेको छ, त्यो चाहिं सङ्लिन्छ जस्तो लाग्छ ।

यहाँले भन्नुभएको कुरालाई नै आधार मान्ने हो भने त राष्ट्र भनेको सबै चिजको संयोजन भएको राम्रै चिज रहेछ । राम्रो कुरामा वाद जोडिंदा राष्ट्रवाद त झनै राम्रो हुनुपर्ने हो नि हैन र ?

वाद भनिंदैन, म फेरि पनि दोहोर्‍याउँछु । म आफैंले पनि कहिलेकाहीं टि्वटमा हाल्छु । मलाई नेपालको माया लाग्छ, त्यसकारण म देशभक्त हुँ । म मुलुकको भक्त हुँ । म नेपालको भक्त हुँ । मुलुकप्रति प्रेम, श्रद्धा हो नि ! मुलुकमा सबै छ, फेरि । मुलुक भनेको भूगोलको मात्रै कुरा हैन । जातजातिको मात्रै कुरा हैन । त्यस कारणले यो वाद भनेको त राजनीतिक प्रयोजनका लागि, तत्कालको राजनीतिक स्वार्थका लागि, सत्ता र शक्तिको होडबाजीमा ल्याइएको शब्दावली हो । त्यसकारण सकिन्छ भने पहिलो प्रयासका रूपमा राष्ट्रसँग वाद नजोडौं । देशभक्ति भए पुगेन ? देशभक्तिको विपरित केही हुन्छ ? वादको त विपरित हुन्छ ।

राष्ट्रवादकै कुरा गर्दाखेरि अलि धेरै कम्युनिस्टलाई राष्ट्रवादले छोएको जस्तो देखिन्छ, उनीहरूको राजनीति राष्ट्र, जमिन, माटो, सिमानामा बढ्ता केन्द्रित हुन्छ । त्यस्तो किन ?

नेपालमा त्यो देखिन्छ । तर नेपाल बाहिर पनि हेरेर हामीले विचार गर्‍यौं भने यहाँ मात्रै हैन । यो राष्ट्रवादको भनुँ या राष्ट्रको नाममा एकथरी खासगरी पुरातनवादी शक्तिहरूले आफ्नो स्थान खोजेको, भूमिका खोजेको मात्रै हैन प्रभुत्व नै खोजेको हो ।

उदाहरण हाम्रै छिमेकी भारतमा प्रशस्तै देख्न सक्नुहुन्छ । त्यहाँ हिन्दू राष्ट्रवाद छ, जबकि त्यहाँको संविधानले धर्मनिरपेक्ष भन्छ । त्यही आधारमा ६०/७० वर्ष राज्य सञ्चालन भइरहेको छ । त्यहाँ छोडौं आफूलाई निकै ठूलो सायद पहिले पनि लोकतान्त्रिक मुलुक अमेरिकामा पनि श्वेत प्रभुत्ववादलाई पुनस्र्थापित गर्न त्यही प्रकारले राष्ट्रवादी कुराहरू आइरहेको छ ।

नेपालमा कम्युनिस्ट देखिन्छन् भने अन्यत्र दक्षिणपन्थीहरू । किनभने जब राजनीतिक शक्ति र सत्ताका निम्ति प्रतिस्पर्धा गर्ने शक्तिहरू आर्थिक, सांस्कृतिक, सामाजिक एजेण्डाविहीन हुन्छन्, अनि उनीहरूलाई राष्ट्रको कुरा समाउनुपर्ने हुन्छ! यो परिवर्तनको एजेण्डाविहीन मानसिक र सांगठनिक अवस्था जुन छ, पार्टी र उनीहरूको नेतृत्वको, त्यसको उपज हो यो भन्ने लाग्छ ।

यदि कसैले संवाद गरेको छ भने उनीहरूले पनि मैले बुझेको कुरा नै बुझेका हुन्छन् । राजनीतिक परिचालनका निम्ति कार्यकर्तालाई सान्दर्भिक कुरा, आम जनताका दैनिक आवश्यकता पूर्तिको कुरा गर्नुभन्दा यो सजिलो भयो नि त ! सजिलो त भयो तर यसले उनीहरूलाई नै हानि हुनेछ, यसले कहीं पनि पुर्‍याउँदैन ।

यहाँले भन्नुभएको कुरामा नै टेकेर, नेपालका कम्युनिस्ट राष्ट्रवादी जस्ता देखिए, अन्यत्रका दक्षिणपन्थी राष्ट्रवादी जस्ता देखिए । जोड्दै जाने हो भने त नेपालका कम्युनिस्ट नै पो दक्षिणपन्थी भइसके कि भन्ने हुँदो रहेछ…

दक्षिणपन्थी र वामपन्थी नभनेर हेर्ने हो भने, उताका दक्षिणपन्थी भनेर मैले भने, यताका कम्युनिस्ट भने यी सबै परिवर्तन विरोधी भए क्या ! अथवा, बदलिंदो युगलाई आत्मसात् गर्न नसक्ने भए । अमेरिकामा त्यहाँका आदिवासीलाई मारेर लडाईं गरेर जितेर जो स्थापित भए, उनीहरूकै राज्य आउँछ र ? तर धङधङी आउँछ । फेरि बीचमा आएका अश्वेतहरू जुन तपाईं-हाम्रो रङका पनि छन् । उनीहरू पनि तत्कालको जे-जस्तो व्यवस्था छ त्यसबाट लाभान्वित छन् । अनि अरू आएर हाम्रो भाग खाला भनेर उनीहरू पनि परिवर्तन विरोधी सोचलाई समाउन पुग्दा रहेछन् । त्यस्तो अवस्था नेपालमा पनि केही हदमा देख्नुहुन्छ तपाईं । भारतकै कुरा गर्ने हो भने बीजेपीलाई सघाउने मुसलमान पनि छन् । त्यसैले राष्ट्रवाद भनेको परिवर्तन विरोधीको एजेण्डा हो ।

तर परिवर्तनको आन्दोलनमा त कम्युनिस्टहरू नै अगाडि थिए, छन् । कहाँनिर कुरा मिलेन ?

परिवर्तनको आन्दोलनमा कम्युनिस्ट सहभागी भएको मैले देखेको छैन ।

माओवादी आन्दोलन थियो नि त, २०६२/६३ मा पनि हामी अगाडि नै थियौं भन्छन् एमालेहरू…

माओवादीहरू आए । एमालेहरूले त न संघीयतालाई आत्मसात् गरेका थिए, न उनीहरूलाई गणतन्त्र चाहिएको थियो । मलाई भन्दा बढ्ता तपाईंलाई नै थाहा छ । न उनीहरूलाई समावेशी राज्य चाहिएको थियो । नेपाली कांग्रेसलाई धेरै मात्रामा त्यही थियो ।

अहिलेको नयाँ राष्ट्रवादीको मुख्य काम अग्रगमनमा बाधक बन्नु हो । जबकि अग्रगमन वास्तवमा राष्ट्रवादी भएर पछ्याउनुपर्ने त्यो हो नि ! आज तीन करोड नेपाली जनता प्रत्येकले यो मुलुकमा मेरो पनि अंश छ, मेरो पनि अधिकार छ, म पनि यसमा सम्मानित सदस्य हुँ । जति यो राष्ट्रको उन्नति भयो मेरो पनि उन्नति हुन्छ भनेर अठोट गर्न पाउने कि नपाउने ?

माओवादी २०५२ सालको जुन अवस्था थियो, त्यसलाई एक प्रकारले प्रयोग गरेर, राष्ट्र त हाम्रो पनि हो नि, हामी किन उपेक्षित त भन्ने दलित, जनजाति, महिला, मधेशी लगायत वर्ग, जसले २०४७ को संविधानमाथि प्रश्न उठाएका थिए उनीहरूसित रहे ।

अर्थतन्त्र बिग्रेको थियो, कांग्रेसले समाजवाद छोडेको थियो, त्यो समयलाई उपयोग गरेर माओवादीले तत्कालका लागि महत्वपूर्ण सन्देश र नारा लिएर आए । तर त्यो पनि त कृत्रिम नै रहेछ नि ! त्यो नारा, त्यो सन्देश, त्यो प्रतिबद्धता पाएको भए न माओवादीको, न जनआन्दोलन, न त संविधानको नै यो गति हुन्थ्यो । त्यसैले परिवर्तनको आन्दोलनमा कम्युनिस्टहरू थिए भनेर म मान्दिनँ । बरु हामी नागरिक थियौं ।

त्यसो हुँदा परिवर्तन भयो, संविधान भनेजस्तो त भएन होला तर प्रगतिशील संविधान बन्यो, त्यो संविधान कार्यान्वयन त दलहरूले नै गर्नुपर्थ्यो  नि त…

दलहरूको विकल्प त मैले अहिले पनि देख्दिनँ । किनभने आखिर ३० वर्षसम्म पञ्चायती व्यवस्था विरुद्ध बहुदलका लागि लडियो, पछि पनि एकातिर माओवादीको जनयुद्ध, एकातिर त्यो बेलाका राजा ज्ञानेन्द्रको अधिनायकवादका बीचबाट शान्ति र लोकतन्त्रका लागि हामी नागरिक उठ्यौं नि !

हामीले पनि लोकतन्त्रमा दलहरूबीच प्रतिस्पर्धा गराएर बढी मत पाउनेले जनताप्रति उत्तरदायी भएर काम गर्ने हो भन्ने बुझेका हौं । गर्न त दलहरूले नै गर्ने हो । तर दलहरू दल जस्ता भएनन् । गुट भए, व्यापार केन्द्रहरू भए, कार्टेलहरू भए । दलीय र राजनीतिक चरित्रविहीन दलहरू भएपछि त अब के हुन्छ ?

अहिले त उनीहरूलाई खबरदारी गर्ने देखिन्नन…

खबरदारी गर्ने त नागरिकले नै हो । नागरिक पनि अहिले त विभाजित छन् । नागरिक मात्रै होइन नागरिक समुदाय पनि विभाजित छ । सञ्चारजगत विभाजित छ । सबभन्दा दुःखको कुरा चाहिं पार्टीको जुन अवस्थाले हामीलाई जति चिन्तित तुल्याउँछ । त्योभन्दा बढ्ता चिन्तित म नागरिकको किंकर्तव्यविमूढ र अर्कातिर शक्तिसित जोडिंदा आफ्नो पनि कल्याण हुन्छ भन्ने प्रत्यक्ष-अप्रत्यक्ष संलग्नताबाट छु । नागरिकको स्थिति सारै कमजोर भएको देख्छु । त्यो पनि तत्कालका लागि मात्रै हो भन्ने आश गरेर बसेको छु ।

नागरिकको समस्या एकातिर छ, स-साना दैनन्दिन कुरामा अल्झिएको छ । तर हामीकहाँ कहिले महेन्द्रीय, कहिले पञ्चायतको नाममा आउँछ, कहिले सिमानाका नाममा आउँछ । पछिल्लो समयमा धार्मिक, सांस्कृतिक राष्ट्रवाद आएको छ । राष्ट्रवाद विभिन्न रूप र आकारमा आउने अनि नागरिकले चाहिं दुःख पाइरहनुपर्ने नै भयो है ?

त्यसैले मैले अघि भनेको राष्ट्र भन्ने हाम्रो अवधारणा, हाम्रो मुटुलाई दुरुपयोग गर्न दिनुहुँदैन । महेन्द्र राष्ट्रवाददेखि लिएर हालैका नाम नलिउँ, ती राष्ट्रवादीहरूलाई, कम्युनिस्ट पनि के भन्नु यिनीहरूको पहिचान पनि छैन । त्यसकारणले यी राष्ट्रवादी हैनन्, तर यी जम्मै परिवर्तन विरोधी चाहिं हुन् ।

महेन्द्रले २०१७ सालमा जुन काण्ड गरेर त्यसको वैधता चाहिएको थियो त्यसका लागि राष्ट्रवाद लिए । पछिल्लाहरूलाई संवैधानिक वैधता त छँदैछ, आफ्नो शक्तिको निरन्तरताका लागि, चुनावमा दुईतिहाइ ल्याउनका लागि यो समाउनु परेको छ । तर छर्लंगै छ फेरि । तपाईंले सिमानाको कुरा गर्नुभयो, नक्साको कुरा गर्नुभयो, त्यो त क्षणिक उद्देश्य, स्वार्थपूर्तिका लागि उचालिएको कुरा होइन रै’छ र ? हाम्रो भूमिमा थिचोमिचो भइरहेको, त्यो हाम्रो हो भन्ने ऐतिहासिक तथ्य छ । त्यसका लागि भारतसँग कुरा नगर्ने, कुनै प्रयास नगर्ने । हाम्रा जनतालाई के शब्द प्रयोग गरुँ थाहा छैन, तर हामीलाई नेताले सारै नै दुर्बल ठान्या हो नि त !

तर उनीहरूले त्यति गर्दागर्दै पनि जुन सामाजिक, सांस्कृतिक, भाषिक, लैंगिक पक्ष छ नि, त्यो अलिक बढी उजागर भएर आएको जस्तो लाग्छ । त्यो दबाएर दबिनेवाला छैन । जनताको अवस्था अलिकति कमजोर हुँदाहुँदै पनि साहित्यिक क्षेत्रमा जे-जस्ता लेखनहरू मिसिएका छन्, युवाहरूबाट, महिलाबाट त्यो प्रकारको बोध जुन भइसक्यो नि, यो राष्ट्र र आफ्नो भूमिका र अधिकारका बारेमा, त्यो चाहिं हराउनेवाला छैन । वास्तवमा राष्ट्रको बारेमा परिभाषा हेर्ने हो भने त्यतैपट्ट िलाग्नुपर्छ । नेताहरूको भाषामा राष्ट्र बुझिंदैन ।

यहाँहरूले गर्नुभएको २०६२/६३ को जनआन्दोलन र पहिलो संविधानसभासम्ममा जो जुर्मुराएका थिए, उनीहरू विभाजित जस्तो पनि छन् । अर्काेतिर चाहिं एकदमै ‘रिग्रेसिभ’ भइसकेको जस्तो, एजेण्डाबाट पछाडि फर्केको जस्तो पो देखिन्छ त ?

ठ्याक्कै त मिल्दैन । त्यस्तै-त्यस्तै अनुभव मैले २०४७ सालमा पनि गरेको थिएँ । २०४६ सालको आन्दोलनमा लाग्याथ्यौं । त्यसबेला पनि प्राध्यापक, इन्जिनियर, सञ्चारकर्मी सबै थियौं नि ! नागरिक आन्दोलन भनेनौं, कतिले त नागरिक समाज भन्न पनि सिकेका थिएनन् । तर ठ्याक्कै २०४६ सालको आन्दोलन एउटा विन्दुमा पुग्यो, अन्तरिम सरकार बन्ने भयो, ती सबै पाखा लागिहाले ।

राष्ट्र भन्ने हाम्रो अवधारणा, हाम्रो मुटुलाई दुरुपयोग गर्न दिनुहुँदैन । महेन्द्र राष्ट्रवाददेखि लिएर हालैका नाम नलिउँ, ती राष्ट्रवादीहरूलाई, कम्युनिस्ट पनि के भन्नु यिनीहरूको पहिचान पनि छैन । त्यसकारणले यी राष्ट्रवादी हैनन्, तर यी जम्मै परिवर्तन विरोधी चाहिं हुन् ।

नेपाली कांग्रेस नजिकका उतै गए, वाममोर्चा नजिकका उतै गए, इन्जिनियर, सञ्चारकर्मीसहित हामीहरू दुई-चार जना बाँकी थियौैं त्यति मात्रै हो । यसपालि माओवादी जनयुद्धसमेतको बाछिटा परेकोले हामीलाई अलि ठूलै प्रकारको विपरित अवस्था व्यहोर्नु परेको हो ।

राष्ट्रको कुरा गरे जस्तै अब नागरिकको पनि कुरा गर्नुपर्ने भयो । नागरिक चाहिं के हो त ? पहिले नागरिक भएर कुनै पार्टीप्रति आस्था हुन्छ कि, कुनै पार्टीप्रति आस्था राखेर नागरिकको कर्तव्य र दायित्व बिर्सिन मिल्छ ? नागरिक पनि त आफैं एउटा शाश्वत हो नि ! जुनसुकै पार्टीको भए पनि अधिकार हुन्छ, एउटा चेतना हुन्छ । त्यसलाई हामीले थाती राखेपछिको अवस्था हो यो ।

यसमा पार्टीहरूले पनि जुन भूमिका निर्वाह गर्नुपथ्र्यो, स्वतन्त्रलाई स्वतन्त्र, पेशेवरलाई पेशेवरका रूपमा काम गर्न दिनुपथ्र्याे त्यो नगरेर परिचालनको माध्यम बनाए, त्यही भएर यता पनि उता पनि गञ्जागोल भइरहेको छ ।

महेन्द्रीय राष्ट्रवाद र पछिल्लो समयमा आएको राष्ट्रवाद जसलाई उनीहरू सांस्कृतिक, धार्मिक राष्ट्रवाद भन्छन् । यहाँसम्म आइपुग्दाखेरि त्यसको प्रकृति त उस्तै उस्तै देखिन्छ नि हैन ?

मैले अघि त्यही संकेत गरें । परिवर्तनबाट आफूलाई घाटा लाग्ने देखिन्छ नि अनि अग्रगामी शक्तिहरू बलियो भए भने हामी ओझेलमा पर्छाैं, हाम्रो राजनीति नै सकिन्छ भन्ने बुझाइको उपज हो यो ।

अझ महेन्द्रीय राष्ट्रवाद त पूरै प्रष्ट देखिन्थ्यो । किनभने एकप्रकारले गैरसंवैधानिक कदम चालेर उनले जुन व्यवस्था ल्याए- विकास गर्ने, यो गर्ने, त्यो गर्ने थिए नि एजेण्डा त ! त्यो बेला पनि साहित्य, संगीत, कविता र कविहरू उठे ।

त्यही प्रकारले अहिलेको नयाँ राष्ट्रवादीको मुख्य काम अग्रगमनमा बाधक बन्नु हो । जबकि अग्रगमन वास्तवमा राष्ट्रवादी भएर पछ्याउनुपर्ने त्यो हो नि ! आज तीन करोड नेपाली जनता प्रत्येकले यो मुलुकमा मेरो पनि अंश छ, मेरो पनि अधिकार छ, म पनि यसमा सम्मानित सदस्य हुँ । जति यो राष्ट्रको उन्नति भयो मेरो पनि उन्नति हुन्छ भनेर अठोट गर्न पाउने कि नपाउने ? त्यो अनुसार भूमिका निर्वाह गर्न पाउने कि नपाउने ? राष्ट्रवादीहरूले त त्यो अनुसार अठोट गर्नुपर्‍यो नि ! नारामा मात्रै राष्ट्रवादी हुने हो र ?

मैले सुरुमै भनें नि, राष्ट्रबाट चिन्तन सुरु गरेर प्रत्येक नागरिकको अधिकार, भूमिका सुनिश्चित गर्नेमा विचार-विमर्श गरेपछि मात्रै राष्ट्रप्रति दायित्व निर्वाह गरेको भन्ने हुन्छ । तर त्यो त छैन ।

बरु हामीकहाँ पछिल्लो समय यही राष्ट्रवादलाई जोडेर कांग्रेस र अझ कांग्रेसमा पनि युवा नेताहरूले माले, मसाले र मण्डले उस्तै हुन् भनिरहेका छन् । यो पनि कुनै वाद हो कि विचार मात्रै ?

माले, मसाले, मण्डले भनेको अर्कै सन्दर्भ हो । गिरिजाबाबुले २०४७ सालको एउटा परिस्थितिमा भन्नुभयो । त्यो ठिक बेठिक भन्ने कुरा आफ्नो ठाउँमा छ । त्यो त विचारको कुरा भयो । तर अहिले त विचारहीन स्थितिमा हामी छौं ।

कांग्रेस र कम्युनिस्टबीच अन्तरद्वन्द्व भइरहन्छ नि त ! कांग्रेसकै कुरा गर्ने हो भने छ्याप्पछ्याप्ती छ राष्ट्रवाद । त्यहाँ पनि हिन्दू राष्ट्रवाद छैन र ? भारतको उत्तरप्रदेशका योगीसँग आशीर्वाद लिन जाने छैनन् र ? त्यो पनि परिवर्तनविरोधी हैन र ?

संविधान हामीले चाहे झैं आएन, आएको पनि कार्यान्वयनमा गएन । यसले जनतालाई पीडा भएको छ । संघीयताको पनि गाँठो यही राष्ट्रमा जोडिएको छ । किनभने विभिन्न समुदाय भएको मुलुकमा अधिकार विकेन्दि्रत गरेर भूगोल बनाइन्छ, संविधानतः राज्यशक्तिमा पहुँच, साधनमा पहुँच, अधिकारको उपयोग जस्ता कुराहरूलाई स्थायित्वमा लैजाने हो भने बल्ल हुने हो । त्यो पनि चाहिएको छैन । कांग्रेसभित्रै पनि कतिलाई त्यो पनि चाहिएको छैन । माले, मसाले, मण्डले भन्नु र कांग्रेस बेग्लै भन्नु पुरानो द्वन्द्वको कुरा भए । परिवर्तन विरोधी कुरामा केही तत्व नेपाली कांग्रेसमा पनि छन्, ठूलो र शक्तिशाली तप्का एमालेमा पनि छन् ।

माओवादीमा पनि त्यस्तै होला..

माओवादीको त के कुरा गर्नु पूरै स्खलन भइसक्यो । आज एकथोक छ, भोलि एकथोक । एमाले कम्तीमा पार्टी जस्तो देखिन्छ, केपी ओलीजीकै एकाधिकारको नेतृत्वमा किन नहोस् ! माओवादी यी सब जे-जे मुद्दामा हामीले कुरा गरेका छौं नि कहाँ अडियो र ?

नागरिकताको कुरा आउँदा होस् या विदेशी दाताले गर्ने सहयोगको कुरा आउँदा! सडकमा ओर्लिन्छन्, युवा नेताहरूले टाउको पनि फुटाउँछन्, फेरि ठूला नेताहरूले सहमति गर्छन् । बरु टाउकाको घाउ निको भइसक्या हुन्न, फेरि मनको राष्ट्रवाद सेलाइसकेको हुन्छ । यस्तो कसरी हुन्छ ? तपाईं फेरि यिनै युवाहरू आशाको केन्द्र हुन् भन्नुहुन्छ, के देखेर ?

मैले टाउको फुटाउनेको कुुरा गरेको हैन । मैले त कला, साहित्य, संस्कृति र केही मात्रामा सञ्चारजगतबाट पनि केही आउला भन्ने हिसाबले यो कुरा गरेको । जो सडकमा उत्रिए ती बिचरा केही बुझेर त्यहाँ गएका होइनन् । उनीहरूलाई परिचालन गर्नेले आफ्नो हिसाबले गरे । उनीहरू प्रयोग भए, दुरुपयोग भए । मुख्य कुरा त्यति मात्रै हो ।

तर नेतृत्ववर्ग वा उनका कार्यकर्ता पंक्ति यसको तात्विक अर्थ बुझेर समर्थन या विरोधमा लागेका हुन् भन्ने मलाई लाग्दैन । उही परिवर्तन विरोधी कामका लागि राष्ट्रवाद प्रयोग भएको जस्तै हो । विदेशी सहायताको ६० वर्षे इतिहास भइसक्यो नि हामीकहाँ त ! हाम्रो त अनुभव छ नि ! केही लेनदेन त हुन्छ नि, दिनेले निस्वार्थ कहाँ दिन्छ ? उसको स्वार्थले मेरो मुलुकमाथि अहित गर्न भएन । मेरो मुलुकमा अहित नगरी उसको हित हुन्छ भने त होस् न !

अब अर्काे ल्याउँछन् हेर्नुस् । राजनीतिक एजेण्डाविहीन भए, परिवर्तनविरोधी भए, अनि त्यसपछि यस्ता यस्ता विषय समातेर हिंड्ने हो नि त ! अघि संघीयताको कुरा गरियो, हिन्दू राष्ट्रको कुरा गरियो । त्यस्तो कुरा गर्न मिल्दैन म भन्दिनँ तर त्यसको र आफूलाई परिर्वतनकामी भनेर आएका शक्ति भन्नेको रङ एउटै हुन्छ र ? तर देखियो । हुँदाहुँदा वैकल्पिक राजनीति गर्छु भनेर आएकाहरू पनि त्यही बाटोमा गएको देखियो ।

फेरि कुरा त यिनीहरू नै कस्तो ठूलो गर्छन् नि, साम्राज्यवादी, विस्तारवादीहरूले हाम्रो घाँटी निमोठ्नै लागिसके, हामी दुई ढुंगाबीचको तरुल, हामीलाई गाह्रो हुन्छ । हाम्रो भूमि प्रयोग गरे जस्ता अनेक कुरा त गर्छन् नि त ?

हेर्नुस् म त ८२ वर्षको मान्छे । चाँडै ८३ वर्षको हुन्छु । यी विस्तारवाद र साम्राज्यवाद भन्ने शब्द सुनेको ६० वर्ष भयो । त्यसैले उनीहरूको शब्दावलीमा भएका शब्दहरू झिकेर फलाक्छन् । मैले बुझेको के हो भने चाहे एमसीसी होला, चाहे बीआरआई होला जे जे होला नि त्यसको लिपि हेर्ने हो । यदि अमेरिकाले केही सामरिक स्वार्थ यसबाट लिन खोजेको छ भने केही संकेत त त्यहाँ हुनुपर्‍यो नि त ! मैले देख्दिनँ केही पनि । हामीले पनि हुन्छ भन्नुपर्‍यो । कसले कहाँ के बोलेका थिए भन्ने आधारमा हामीले व्याख्या गर्न भएन नि !

त्यसको मतलब खतरा छैन भन्न मैले खोजेको छैन । एकातिर उदीयमान चीन, अर्कातिर भारत, अमेरिकाले आफ्नै प्रकारले खेल खेलिरहेको छ, त्यसबाट हामी जोगिनुपर्ने, सतर्क हुनुपर्ने अवस्था छैन भन्न मैले खोजेको छैन । तर छौं भन्ने निपुणता देखाउने कि नाराबाजी गर्ने ? अझ नेपाल सरकारको अवस्था विखण्डित देख्छु, राज्य सञ्चालन देखिंदैन । विभिन्न तप्काले जहाँ जे मन लाग्यो गर्दै हिंडिरहेका छन्, त्यहाँ सेना प्रहरी पनि परेका छन् मेरा लागि । नक्साको कुरा नि यसैमा जोडिन्छ हेर्नुस् । नक्साको कुरा उठाएको त ठीक हो नि ! तर नक्सामा मात्रै लेखेर पुग्यो त ?

यस्तै कुरा गर्दा, यहाँहरूकै आन्दोलनको इतिहास निकै लामो भइसक्यो । मलाई एउटा के सम्झना छ भने, यहाँले संविधानसभाको चुनाव होस्, त्यसपछि म यस्ता विषयमा बोलेर हिंड्दिनँ, आराम गर्छु भन्नुभएको थियो । तर परिस्थिति यस्तो आइलागेको छ, आज पनि हामी तपाईंलाई नै खोज्दै आउनुपरेको छ !

के सन्दर्भ होला त्यो भने, जब संविधानसभाको निर्वाचन हुन्छ, संविधान बन्छ । अनि हामीले फेरि आन्दोलन गर्नुपर्दैन । तर नागरिक अधिकारका लागि हामी लडौं, नागरिक स्वार्थका लागि लडौं भन्ने हो । नागरिक समाज भन्छन् नि त्यो त हराउँदैन नि, हराउन पनि हुँदैन नि ! राज्यसत्ता परिवर्तनका लागि हामी लाग्न नपरोस् भन्ने अहिले पनि छ । तर नागरिकले जुन भूमिका निर्वाह गर्नुपर्ने हो त्यो अहिले पनि भइरहेको छैन ।

जस्तो कि जनजीविकाको प्रश्न छ, रोजगारीको प्रश्न छ, आर्थिक अवस्था झन्-झन् जोखिम हुँदैछ । उत्पीडित, जनजाति, मधेशी महिलाका समस्या जस्ताको त्यस्तै छ । त्यसमा हामी बोल्नै पाएनौं । किनभने यही राजनीतिक बहसबाट हामी उम्किनै पाएनौं । राजनीतिक बहस त सत्तामा बस्ने, प्रतिपक्षमा बस्नेले गरिराखुन्, हामी नागरिक त नागरिककै एजेण्डामा बोल्न पाऊँ न !

त्यही त एउटै कुरा बारम्बार भनेको भन्यै, सोधेको सोध्यै, कराएको करायै गर्नुपर्‍यो भने त्यसलाई लोकतन्त्र कसरी भन्ने ?

लोकतन्त्र त अब चुनाव भएपछि मानिहालिन्छ । विकल्प पनि देख्दिनँ । चुनाव मात्रै होइन, अरू कतिपय कोणबाट हेर्दा पनि यसको विकल्प छैन । लोकतन्त्र भनेको केन्द्रबिन्दुमा तपाईं हामी हौं । नागरिक हो, लोक हो । तर पाइएको छैन, परिएको छैन त्यसैले संघर्ष जारी छ ।

नयाँ राष्ट्रवाद त जन्मिन्न ! हेर्नु यो अलमल्याउने कुरा मात्रै हो । तत्कालको राजनीतिक सत्ता-सुख उन्मुख स्वार्थका लागि प्रयोग गरेका हुन् ।

तर, मुख्य कुरा चाहिं दलहरूले सारै अन्याय गरे । उनीहरूले लोकतन्त्रमाथि अन्याय गरे, आफ्नो इतिहासमाथि अन्याय गरे, आफ्ना बाचामाथि अन्याय गरे । तपाईं हामीले देखेको नेपालको जुन सपना हो त्यसमाथि अन्याय गरिरहेका छन् । यो बुझाउनका लागि उनीहरूलाई कसले शिक्षा दिने हो, कस्तो प्रकारको चिन्तनमा लगाउनुपर्ने हो ? अध्यात्ममै लगाउनुपर्ने हो कि भन्ने पनि भयो अब त ! नाकको डाडीभन्दा टाढा नदेख्ने पनि नेतृत्व हुन्छ र भन्थें मैले पहिले पनि ।

नागरिकको सम्बन्धमा कुरा गर्दा, अभावमा भएको नागरिक जहिले पनि आन्दोलित हुँदोरहेछ । हामीकहाँ राष्ट्रवादको कुरा आउँदा, सिमानाको कुरा गर्दा, एमसीसीका विरुद्ध उत्रिंदा, आमाको नामबाट नागरिकता दिंदा राष्ट्रवाद सेलाउँछ भन्ने तर्क गर्दा त तिनै नागरिकलाई सडकमा उतार्छन् । उनीहरूमाथि त दोहन भयो नि हैन ?

त्यही त भन्छु मैले पनि ।

तर उनीहरूले पनि हामीमाथि बारम्बार दोहन भइरहेको छ भनेर त बुझ्नुपर्ने हैन र ?

बुझेका छैनन् जस्तो मलाई लाग्दैन तर विकल्प भएन । तपाईंले आमाको नामबाट नागरिकता लिने कुरा गर्नुभयो । कुनै जिल्लामा कुनै सिडियोले दिए हुने, कतिपय ठाउँमा चाहिं नदिने भन्ने हुन्छ ? ऐन, कानुन, त्यही संविधान होइन ? जबसम्म यस्तो स्थिति रहन्छ नि राज्य राज्य नै होइन । राज्यमा त सबै पदाधिकारीहरूले एउटै संविधान एउटै कानुन मानेका हुन्छन् नि ! जो त्यसबाट टाढा जान्छन् आफ्नो स्वार्थ प्रयोग गर्छन् । अहिले राज्य राज्य जस्तो छैन । अनि नागरिक झन् अनाथ हुने भए नि त ! अनि यसले त हामीलाई शोषण गरेकै छ भन्ने थाहा पाउँदा पाउँदै होमिन्छन् ।

त्यो भनेको विभिन्न नामको राष्ट्रवाद भने जस्तै नयाँ राष्ट्रवाद जन्मिने सुरुवात हो कि भनेर बुझ्ने होला नि हैन ?

नयाँ राष्ट्रवाद त जन्मिन्न ! हेर्नु यो अलमल्याउने कुरा मात्रै हो । तत्कालको राजनीतिक सत्ता-सुख उन्मुख स्वार्थका लागि प्रयोग गरेका हुन् । अर्काथरीले हामी पनि जाने बाटो त्यही हो कि भनेका छन् । मैले भारत र अमेरिकाको कुरा गरें । त्यहाँ सोच्दै नसोचेको समुदाय पनि त्यहाँका दक्षिणपन्थीहरूलाई सघाइरहेका छन् । दिग्भ्रमित पनि हुने रै’छन् बेलाबेलामा ।

तस्वीर र भिडियो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?