+
+

चारलेन सडकका मजदुरले पाएनन् ज्याला, ठेकेदार अनुपविरुद्ध उजुरी दिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १०:४६

८ चैत, दाङ । घोराही-तुलसीपुर चारलेन सडकका मजदुरले दुई वर्ष बितिसक्दा पनि काम गरेको ज्याला पाएका छैनन् ।

घोराही-तुलसीपुरको २८ किलोमिटर चार लेन सडकको कपेटी ठेक्का लिएको अष्ट भैरव निर्माण सेवा कम्पनीमा काम गरेका ३०० बढी मजदुरले दुई वर्षदेखि ज्याला नपाएको बताएका छन् ।

तुलसीपुर-१८ का एक मजदुर तकमान घर्तीले ठेकेदार सम्पर्कविहीन भएपछि आफूले कामवापत पाउनुपर्ने ज्याला अहिलेसम्म नपाएको बताए ।

दुई वर्षयता उनीहरू ठेकेदार खोज्दै प्रहरी-प्रशासन धाइरहेका छन् । ‘गर्मी, धुलो केही नभनेर काम गरियो’ उनले भने, ‘ठेकेदारले पैसा दिन्छु भन्दै झुलायो । दूई वर्ष भइसक्यो, एक पैसा पाएको होइन ।’ उनले ०७६ सालको पुसदेखि फागुनसम्म काम गरेवापत ४३ हजार ज्याला पाउन बाँकी रहेको बताए ।

अष्ट भैरव निर्माण सेवा कम्पनीमा चार लेन सडक निर्माणको काम गरेका ३०० बढी मजदुरले २४ हजारदेखि ४५ हजारसम्म ज्याला पाउन बाँकी रहेका बताएका छन् ।

दुई वर्षदेखि ठेकेदार सम्पर्कविहीन हुने र पटक-पटक झुलाउँदै आएको पीडित श्रमिकले बताए । ज्याला नपाएको गुनासो लिएर प्रहरी पुग्दा पनि सुनुवाई नभएको उनीहरूले बताए । ‘ज्याला नदिएपछि प्रहरी चौकी धायौं’ तुलसपुर-१८ का अर्का मजदुर आयुबहादुर घर्तीले भने, ‘तर केही भएन ।’

गुनासो सुनुवाई नभएपछि २८ बढी मजदुरले सामूहिक रुपमा ठेकेदार अनुप पाण्डेविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । ‘काम गरेको ज्याला माग्दा ठेकेदारले झुलाउने र दुःख दिने काम गरे’ उनले भने, ‘केही उपाय नचलेपछि उजुरी दिने तयारी गरेका छौं ।’ आफूले काम गरेवाफतको ज्याला पाउनुपर्ने मजदुहरू बताउँछन् ।

ठेकेदार अनुप ।

यसअघि, चार लेन सडक निर्माणको जिम्मा लिएको अष्ट भैरव निर्माण कम्पनीका पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी विभिन्न संघसंस्था र कम्पनी गरी १७ वटा ठगीको उजुरी परेको छ ।

घोराही उपमहानगरपालिका-१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पाण्डे ११ दिनअघि प्रक्राउ परी हाल प्रहरी हिरासतमा छन् ।

चार लेन सडक निर्माण गर्नक्रममा आफ्नो सवारी साधन प्रयोग गरी भाडावापतको रकम एक करोड ४४ लाख १७ हजार ७७६ रुपैयाँ नदिएपछि व्यवसायी बस्नेतले पाण्डेविरुद्ध उजुरी दिएका थिए ।

पक्राउ परेका पाण्डे तुलसीपुर मेयर एवम् नेकपा एमालेका नेता घनश्याम पाण्डेका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?