९ चैत, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा खुला एमेच्योर गल्फ प्रतियोगिता आगामी शुक्रबार र शनिबार आयोजना हुने भएको छ ।
एयरपोर्टस्थित रोयल नेपाल गल्फ कोर्समा हुने दुई दिने प्रतियोगितामा १६ जना जुनियर र १० महिलासहित १ सय २० गल्फरको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
लुम्बिनी इन्स्योरेन्सले सन् २०१८ र २०१९ मा पनि खुला गल्फ प्रतियोगितालाई प्रायोजन गरेको थियो । कोरोना महामारीका कारण दुई वर्ष प्रतियोगिता आयोजना भएन ।
यसपल्ट त्यसकै निरन्तरतास्वरुप प्रतियोगिता गर्न लागिएको इन्स्योरेन्सका सीईओ नूरप्रकाश प्रधानले जानकारी दिए । उनले व्यवसायिक सम्बन्ध व्यवस्थापनका लागि गल्फमा प्रायोजन गरेको जानकारी दिए ।
प्रतियोगितामा पुरुष र महिला र सिनियरतर्फ विजेता तथा उपविजेता, ग्रस विजेता, मस्ट बर्डिज, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टू पिज, बेस्ट स्पोर्टसम्यानसिप, जुनियरतर्फ ब्वाइज र गल्र्सका विजेता र उपविजेतासमेत गरी १५ विधामा पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया 4