९ चैत, सप्तरी । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जिल्लाका नेताहरुको योग्यता र क्षमता प्रदर्शन गर्ने बेला आएको बताएका छन् । स्थानीय तहको निर्वाचनमा जिल्लाका नेताका योग्यता र क्षमता प्रष्टफुटित हुने उनले बताए ।
राजविराजमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले निर्वाचनमा टिकट दिने र जिताउने जिम्मेवारी जिल्लाकै नेताको रहेको बताए । उनले भने, ‘योग्य, सक्षम र इमान्दारको खोजी गरी टिकट दिएर जिताउनु पनि जिल्लाकै नेताको जिम्मेवारी हो ।’
उम्मेदवार छनौटमा गडबडी भए पुनः माथिबाटै हेर्नुपर्ने भन्दै उनले यस्तो अवस्था आउन दिन नहुने बताए । गाउँ गाउँ गएर जनतासँग कुरा गरी उम्मेदवार छनौट गर्न उनले सुझाव दिए ।
‘हरेकका जन्मकुण्डली जनतालाई थाहा छ’ उनले भने, ‘स्थानीय तहको विकास गर्न सक्ने क्षमतावान र लोकप्रिय व्यक्ति जोसुकै भए टिकट दिनुस् र जिताउनुस् ।’
आफूसँग धेरै मान्छे टिकट माग्न आइरहेको भन्दै यादवले आफूले त्यो अधिकार आफूलाई नभएको सुनाइरहेको बताए । ‘टिकट दिने अधिकार जिल्लालाई नै छ, जिताउने काम पनि जिल्लाले नै गर्नुपर्छ।’ उनले भने ।
संविधानकै कारण दुई तिहाईको सरकार सडकमा
अध्यक्ष यादवले विश्वको उत्कृष्ट संविधान भन्नेहरु नै संविधानकै कारण फँसिरहेको बताए । उनले आफैंले बनाएको संविधानमा निर्माणकर्ताहरु फँस्न थालेको बताए ।
‘संविधानको गलत अभ्यासमा फँसेर दुई तिहाईको सरकार सडकमा आएको छ’ उनले भने, ‘गलत संविधान बनिरहेको छ भन्दा गोली चलाइयो । तर, अहिले उनीहरु आफैं फँसिरहेका छन् ।’
अन्तरिम संविधानले प्रदान गरेको अधिकार पनि संविधानबाट कटौति गरिएको भन्दै उनले जनसंख्याका आधारमा समावेशी समानुपातिक, निर्वाचन प्रणाली, स्वायत्त मधेश प्रदेशका कुरा अहिलेको संविधानबाट हटाइको बताए ।
संविधानलाई परिमार्जन गर्दै आवश्यक परे पुनर्लेखन पनि गरेर सबैको संविधान बनाउनुपर्ने उनले बताए ।
प्रतिक्रिया 4