+
+

पर्सामा ६ महिनामा ५ सय २८ क्षयरोगी भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १५:०६

१० चैत, वीरगञ्ज । पर्सामा ६ महिनामा ५ सय ८२ जना नयाँ क्षयरोगी पत्ता लागेका छन् । साउनदेखि पुस मसान्तसम्म खकार जाँच गराएकाहरु मध्ये ५ सय ८२ जनामा क्षयरोगको संक्रमण पुष्टी भएको हो ।

जसमध्ये सर्ने खालको (खकार जाँचबाट पत्ता लागेको ) ३ सय २८, कम सर्ने खालको ( एक्स रेबाट पत्ता लागेको ) ९३ र फोक्सो बाहेक अन्य भागमा क्षयरोग लागेका १६१ जना छन् ।

खोकी लागेर आफैं खकार जचाउन आएका ९८ जना, निजी स्वास्थ्य संस्थामा क्षयरोग पुष्टी भएका २ सय ६० जना, सामुदायिक अभियानबाट १ सय ६३ जना र कन्ट्याक्ट ट्रेसिङबाट ६१ जनामा क्षयरोग संक्रमण पुष्टी भएको थियो । ३४ जनाले चुरोट सेवन गर्ने गरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार उनीहरुले १ सय ५ वटा डट्स केन्द्रबाट नेपाल सरकारले प्रदान गर्ने औषधि निःशुल्क सेवन गरिरहेका छन् । टीबी एचआईभी सहसंक्रमणको जोखिम हुन्छ । पर्सामा ७७ जना महिला सहित २ सय १९ जना एचआईभी संक्रमितको खकार जाँच गर्दा १ जनामा क्षयरोग संक्रमण पुष्टी भएको थियो ।

स्वास्थ्य कार्यालय पर्साका क्षयकुष्ठ अधिकृत विनोद झाका अनुसार निको हुने दर ९१ प्रतिशत छ । गत वर्षको पछिल्लो छ महिनामा १ सय ९४ जना क्षयरोगी फेला परेकोमा १ सय ८७ जना निको, ९ जनाको मृत्यु, १ जनाको फेरि उपचार गर्नुपरेको र ५ जनाले नियमित औषधि नखाएकोले फेरि औषधि खुवाउनुपर्ने अवस्था आएको छ ।

१ लाख जनामा २ सय ३५ जना क्षयरोगी हुन सक्ने सरकारको तथ्याङ्क छ । पर्सामा अझैपनि समाजमा लुकेका क्षयरोगी छन् । उनीहरुको पहिचान गरी उपचारको दायरामा ल्याउनु चुनौतीपूर्ण काम भएको क्षयकुष्ठ अधिकृत झा बताउछन् ।
‘राष्ट्रिय क्षयरोग कार्यक्रमले क्षयरोग बिहिन नेपाल बनाउने परिकल्पना गरेको छ’, उनले भने ‘जिल्लामा जति केस पत्ता लगाउनुपर्ने हो लगाउन सकेका छैनौं । निजी क्षेत्रमा परीक्षण गरेका बीचबाटै हराउने गरेका छन् ।’

आफूलाई रोग लागेको छ कुरा अरुलाई थाहा नहोस भनेर कतिपयले गोप्य तरिकालेसमेत औषधि खाने गरेको उनको भनाइ छ ।

लुकेका क्षयरोगी पत्ता लगाउन द्रुत रणनीति अन्र्तगत बागमती सेवा समाजले ५० वटा औषधी पसलमा मान्छे राखेर खोकी लागेका मानिसलाई खकार जाँच गराउने गरेको जानकारी उनले दिए । बागमती सेवा समाजले खकार ढुवानीमा पनि सघाउँदै आएको छ ।

चिकित्सकको सल्लाह अनुसार ६ महिनादेखि एक वर्षसम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, जाँचदेखि औषधिसम्म निशुल्क छ भन्ने सन्देश जन जनमा पु¥याउनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । एक जनालाई क्षयरोग लाग्यो भने सहर बजारमा २०–२५ जनालाई र गाउँघरमा १५–२० जनालाई सर्ने जोखिम हुन्छ ।

वीरगञ्ज महानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा जनस्वास्थ्य निरीक्षक एवं फोकल पर्सन सुमनचन्द्र ठाकुर लगातार खोकी लाग्ने वित्तिकै खकार जाँच गराउन सर्वसाधरणसँग आग्रह गर्छन् ।

‘खकार आयो भने जाहाँ पायो त्यहि थुक्ने बानी छ । क्षयरोग रहेछ भने अरुलाई सर्न सक्छ’, उनले भने, ‘लगातार खोकी छ, औषधि खाँदा निको हुन्छ, सकिएपछि फेरि आउँछ भने खकार जाँच गर्नुपर्छ । टीबी देखियो भने औषधि खानुपर्छ हैन भने रहेनछ भनेर ढुक्क हुन पाइन्छ ।’

अहेब बन्दना चौधरीका अनुसार तराईमधेसमा जाडोमा एकै ठाउँमा बसेर घुर ताप्ने, एउटै घरमा धेरै मानिस बस्ने हुँदा क्षयरोग सर्ने संभावना बढी हुन्छ । आफ्नो र परिवारको स्वास्थ्यका लागि पनि खकार जाँच गराउनु लाभदायक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?